नगरलाई अस्तव्यस्त बनाउँदै प्रमुख र हाकिम

Oplus_131072

मधेस ब्युरो । नीति, थिति र निर्णय सबैलाई लत्याउँदै रौतहटको कटहरिया नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नगरलाई अस्तव्यस्त बनाएका छन् । नगरप्रमुख र हाकिम दुवै जना कार्यालय छोडेर बेपत्ता भएपछि नगरपालिकाको सबै काम अस्तव्यस्त बनेको वडाध्यक्षहरूको आरोप छ ।

आइतबार कटहरिया नगरपालिकाको कार्यपालिकाको बैठक बोलाएर नगरप्रमुख र हाकिम दुवै जना अनुपस्थित भएपछि कार्यपालिका सदस्यहरू आक्रोशित बनेका छन् । पूर्वसूचना गरी बोलाइएको कार्यपालिका बैठकमा नगरप्रमुख अजय प्रकाश र कार्यालय प्रमुख सुरेन्द्रमान प्रधान दुवै जना अनुपस्थित भएपछि उपस्थित कार्यपालका सदस्यहरू आक्रोशित बनेका हुन् ।

कटहरिया–५ का वडाध्यक्ष सर्फलाल गुप्ताले बैठकमा उपस्थित नभई कार्यालय प्रमुख प्रधानले मोबाइलको स्वीचसमेत अफ गरेर उपसचिवजस्तो गरिमामय पदको मर्यादा गिराएको आरोप लगाएका छन् । नीति, नियम र नैतिकताको कुनै ख्याल नै नगरी कार्यालय प्रमुख प्रधान नगर प्रमुखको इसारामा मात्र चल्ने गरेको आरोप वडाध्यक्ष गुप्ताको रहेको छ । नगरप्रमुख र कार्यालय प्रमुख दुवै जना मिलेर नगरपालिकालाई बन्धक बनाएको आरोप लगाउँदै वडाध्यक्ष गुप्ताले जनताले सबैको हिसाबकिताब लिने चेतावनी दिए ।

नगरपालिकामा कति जना ज्यालादारीका कर्मचारी छन्, महिनाको कति खर्च ज्यालादारीमा हुन्छ भन्ने यकिन जानकारी नगरप्रमुख र कार्यालय प्रमुखले दिएका छैनन् । ज्याला तथा करारका कर्मचारीको नियुक्ति तथा कामको विवरण महिनौँदेखि कार्यपालिका सदस्यहरूले माग्दै आएका छन् ।

नगरपालिकाको तलब खुवाएर नगरप्रमुख र कार्यालय प्रमुखले दर्जनौँ मानिसलाई चिनीमिलमा काम गराएको आशंका जनप्रतिनिधिको छ । कटहरिया नगरपालिका–९ मा रहेको चिनी मिलका सञ्चालक नगरप्रमुख अजय प्रकाशले नगरपालिकाबाट भुक्तानी दिने गरेको तर निजी उद्योगमा दर्जनौँ कर्मचारी खटाएको आशंका रहेको छ ।

करार तथा ज्यालादारीको कामदारको विवरण, तिनीहरूमा भइरहेको खर्च, हरेक महिना इन्धनमा नगरपालिकाको खर्चको विवरण माग गर्दै केही महिना पहिले नगर उपप्रमुखसहित अन्य जनप्रतिनिधिहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्षमाथि पार्टीको दबाब परेपछि रातारात ताला खोलिएको थियो ।

कटहरिया–४ का वडाध्यक्ष चन्दनकुमार कुशवाहाले नगरप्रमुख र कार्यालय प्रमुखले नगरपालिकामा लुटको साम्राज्य खडा गरेको र जनताप्रति अलिकति पनि उत्तरदायी नदेखिएको आरोप लगाएका छन् । वडाध्यक्ष कुशवाहाले भने, ‘जनताको अदालतले एकदिन हरेक कुकर्मको हिसाब गर्नेछ ।’

कार्यालय प्रमुख प्रधान नगरपालिकालाई अस्तव्यस्त बनाउनमा माहिर छन् । यसअघि रौतहटकै फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधिबीच फाटो ल्याएर एकपक्षीय विवादास्पद निर्णयहरू गराएका थिए । प्रधान कार्यालय प्रमुख रहुन्जेल फतुवा विजयपुरमा पटकपटक विवाद र कार्यालयमा तालबन्दी भएको थियो । प्रधानको विवादास्पद चरित्रकै कारण रौतहटको वृन्दावन नगरपालिका कार्यालयमा स्थानीयले हाजिर हुन दिएका थिएनन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया