जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै संवेदनशील राष्ट्रहरूलाई वित्त, प्रविधि र क्षमता अभिवृद्धिमा सहयोग गर्नुपर्छ । – केपी शर्मा ओली, प्रधानमन्त्री
काठमाडौँ । जलवायु परिवर्तन र यसले निम्त्याएका संकट तथा जलवायु न्यायको विषयमा केन्द्रित रहेर नेपालले पहिलोपटक आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको सम्मेलन ‘सगरमाथा संवाद’ शुक्रबारदेखि काठमाडौँमा सुरु भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’को ब्यानर अनावरण गरी प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात् गरेर विश्वव्यापी संवादका रूपमा ‘सगरमाथा संवाद’को आयोजना गरिएको उल्लेख गर्दै आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न विश्वको सर्वाेच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको बताए ।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले भने, ‘जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ, उनीहरूले संवेदनशील राष्ट्रहरूलाई वित्त, प्रविधि र क्षमता अभिवृद्धिमार्फत सहयोग गर्नुपर्छ ।’
उद्घाटन सत्रमा सम्बोधन गर्दै ओलीले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका रहेको ‘हिमाल’ बचाउनका लागि विश्वसमुदाय एकजुट हुन आवश्यक भएको र जलभण्डारणका रूपमा रहेको हाम्रा हिमाल अहिले अत्यन्त संकटमा रहेको उल्लेख गर्दै चिसो प्रदान गरी विश्वलाई जलवायु अनुकूलित बनाउन सहयोग पु¥याउने हिमाल बचाउनका लागि विश्व समुदायसँग अनुरोध पनि गरे ।
सम्बोधनअघि, प्रधानमन्त्री ओलीले आधिकारिक रूपमा सरकारको राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडिसी) अनावरण गर्नाका साथै कोप–२९ का अध्यक्ष मुख्तार बेबायेभलाई हस्तान्तरण गरेका थिए । त्यस्तै, सगरमाथा संवादको उद्घाटन सत्रमा बोल्दै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हिमाल करोडौँ मानिसको ताजा पानीको स्रोत बनेको उल्लेख गर्दै जलवायु परिवर्तनले हिमाली समुदायको दैनिक जीवनमा नकारात्मक प्रभाव परेको बताइन् । ‘जलवायु प्रेरित प्रकोपहरूले मानव अस्तित्व र जीविकोपार्जनको जगलाई नै हल्लाइरहेको छ’, उनले भनिन्, ‘जलवायु परिवर्तनका कारण बाढी र हिमताल विस्फोटले ठूलो विनाश भएको छ । खडेरी डढेलोले मानवलाई अथाह पीडा दिएको छ ।’
नेपालजस्ता देशहरूको जोखिमलाई विश्वले स्वीकार गर्नुपर्ने र जलवायु वित्त, अनुकूलन सहयोग र प्रविधि हस्तान्तरणको प्रावधानमार्फत लक्षित न्यूनीकरण र अनुकूलन रणनीतिहरूलाई समर्थन गर्नुपर्ने उनको भनाइ थियो । परराष्ट्रमन्त्री राणाले भनिन्, ‘हामी संकटमा परेका देशहरूले सजिलै पहुँच गर्न सक्ने पर्याप्त र प्रभावकारी क्षति र नोक्सानी कोषको लागि आह्वान गर्दछौँ ।’ कोप–२९ का अध्यक्ष तथा जलवायु मुद्दाहरूमा अजरबैजान गणतन्त्रका राष्ट्रपतिका प्रतिनिधि मुख्तार बाबायेभले आफ्नो मुख्य भाषण दिँदै जलवायु परिवर्तनका धेरै आयामहरू र पहाडहरूमा पर्ने प्रभावलाई सम्बोधन गर्न आवश्यक विकल्प र समाधानबारे प्रकाश पारेका थिए ।
भारत सरकारका वातावरण, वन र जलवायु परिवर्तनसम्बन्धी मन्त्री भुपेन्द्र यादवले सत्रलाई सम्बोधन गर्दै पहाड र त्यसभन्दा बाहिर जलवायु परिवर्तनका धेरै प्रभावबारे आफ्नो भनाइ राखेका थिए । त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै चीनको स्थायी समितिका उपाध्यक्ष जिओ जीले जलवायु परिवर्तनका गम्भीर प्रभावबारे जोड दिएका थिए भने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि भिडियो सन्देशमार्फत सत्रलाई सम्बोधन गरेका थिए । विभिन्न देशबाट आएका विशिष्ट नेता, नीति निर्माता, विशेषज्ञ र अन्य सरोकारवालाले पनि जलवायु परिवर्तनका सम्बन्धमा आफ्ना भनाइ राखेका थिए ।
१३ राष्ट्रिय र ६ क्षेत्रीय र अन्तर्राष्ट्रिय संगठनहरूको तर्फबाट जलवायु परिवर्तन, पहाड र मानव जातिको भविष्यका विविध पक्षहरूका विषयमा आ–आफ्नो धारणा सार्वजनिक गरेका थिए । यसमा राष्ट्रिय प्रतिनिधिमण्डलहरूमा बंगलादेश, भुटान, नेपाल, बेलायत, संयुक्त अरब इमिरेट्स, जापान, भारत, कतार, किर्गिस्तान, ब्राजिल, इजिप्ट, ओमान र पाकिस्तानका प्रतिनिधि थिए । अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनहरूमा संयुक्त राष्ट्रसंघ, विश्व बैंक, एसियाली विकास बैंक, सार्क, बिम्स्टेक, इसिमोड रहेका छन् ।
प्रतिनिधिमण्डलहरूले पहाड र त्यसभन्दा बाहिर जलवायु परिवर्तनका कारण परिरहेका प्रभाव तथा मानवताको भविष्य रक्षा गर्न एकता र ऐक्यबद्धताका लागि आह्वान पनि गरेका थिए । शुक्रबारदेखि सुरु सगरमाथा संवादमा स्वदेशी र विदेशी गरी ३५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ । कार्यक्रम संवाद आइतबारसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया