कृत्रिम बौद्धिकताले पार्ने प्रभाव र उपयोग

मानिसले बुद्धि पुर्याएर छल्न सक्ने क्षेत्रमा एआइको उपयोग यसकारण राम्रो मानिएको छ कि यसको विश्लेषण तथा सूचना पूर्ण तथ्यमा आधारित हुन्छ । यसले दिने तथ्य पनि एकैनाशको हुन सक्छ । तर, मानिसले तोडमरोड गर्न सक्ने र विभिन्न प्रभावबाट प्रभावित हुन सक्ने डर रहन्छ । जहाँ राज्यलाई मानिसको परिचालनभन्दा एआइको उपयोग गर्दा धेरै सावधानी अपनाउनुपर्ने हुँदैन, त्यहाँ यसको प्रयोग बढ्ने नै देखिन्छ । यसैगरी जहाँ मानिसबाट सूचना चुहावटको डर हुन्छ, त्यस क्षेत्रमा पनि एआइको उपयोग वाञ्छनीय हुन्छ ।

सञ्जय साह मित्र

आजभोलि बौद्धिक क्षेत्रमा कृत्रिम बौद्धिकता (आटिफिसियल इन्टेलिजेन्स–एआइ) को प्रयोग बढ्दै गएको छ । विकसित देशमा केही बढी भइरहेको एआइको प्रयोग बिस्तारै हाम्रोजस्तो विकासशील देशका बुद्धिजीवीहरूले पनि गर्न थालेका छन् ।

सोधेको प्रश्नको जवाफ सजिलै दिन सक्ने र लेखेर मागेको उत्तर प्रश्नकै शैलीमा आउने भएकोले एआइलाई सहजतापूर्वक प्रयोग गरिन थालिएको छ । यद्यपि यसको उपयोग ज्यादै सीमित छ तर विभिन्न सामाजिक सञ्जालमा मानिस अभ्यस्त भए जस्तै एआइको उपयोग पनि सामान्य समस्यामा गर्न थाल्ने प्रवृत्तिको विकास हुने खतरा रहेको छ । पहिले मुखेन्जी हुने जोड, घटाउ, गुणा र भागजस्ता दैनिक व्यवहारका हिसाब मोबाइलको प्रयोग बढेपछि सर्वसाधारणले स्मरण शक्ति उपयोग गर्न कम गरे झैँ सामान्य बौद्धिक काममा पनि एआइको प्रयोग यदि बढ्ने हो भने मानसिक तथा बौद्धिक क्षेत्रमा प्रभाव पार्ने सम्भावना रहेको छ ।

कृत्रिम मानव (रोबोट)को प्रयोग मानिसले नसक्ने वा गर्न नहुने क्षेत्र तथा काममा बढे जस्तै एआइको पनि बौद्धिक उपयोग गर्नु उचित हुने सुझाव दिन थालिएको छ । जहाँ मानिसलाई काम गर्न सजिलो छ र मानिसले सक्षमतापूर्वक सफल नतिजा दिन सकिरहेको छ त्यहाँ एआइको उपयोग बढ्दा रोजगारीमा असर पर्छ । रोबोटको प्रयोगले सामान्य कामदारको रोजगारीमा बढी असर परेको विश्लेषण गरिएको थियो भने एआइको प्रयोग बढ्दा बौद्धिक तथा मानसिक क्षेत्रको रोजगारीमा बढी प्रभाव पर्ने ठानिएको छ ।

बौद्धिक जनशक्तिको अभाव भएको क्षेत्रमा यसको उपयोग अझ बढ्ने तथा प्रयोगमा सजिलोपन र सस्तो पर्ने हुनाले यसको विस्तार पनि बढी हुने मानिएको छ । मोबाइलको खेल, गीत तथा कार्टुन र अन्य मनोरञ्जन आदिमा अभ्यस्त हुनु बालबालिकाका लागि हानिकारक मानिए पनि आजभोलि यसको कुलत अत्यधिक बढेजस्तै एआइ बौद्धिक जगतका लागि हानिकारक छ भन्ने बुझेर पनि यसको प्रयोग बढ्न सक्ने आँकलन गरिन थालिएको छ । एआइको उपयोग गर्ने मानिसको संख्या तथा प्रयोगको क्षेत्र बढ्दै गएको अवस्थाले अहिलेदेखि नै सावधानी अपनाउनुपर्ने आवश्यकताबोध भएको छ ।
यद्यपि मानिसले बुद्धि पु¥याएर छल्न सक्ने क्षेत्रमा एआइको उपयोग यसकारण राम्रो मानिएको छ कि यसको विश्लेषण तथा सूचना पूर्ण तथ्यमा आधारित हुन्छ । यसले दिने तथ्य पनि एकैनाशको हुन सक्छ । तर मानिसले तोडमरोड गर्न सक्ने र विभिन्न प्रभावबाट प्रभावित हुन सक्ने डर रहन्छ । जहाँ राज्यलाई मानिसको परिचालनभन्दा एआइको उपयोग गर्दा धेरै सावधानी अपनाउनु पर्ने हुँदैन, त्यहाँ यसको प्रयोग बढ्ने नै देखिन्छ । यसै गरी जहाँ मानिसबाट सूचना चुहावटको डर हुन्छ, त्यस क्षेत्रमा पनि एआइको उपयोग वाञ्छनीय हुन्छ । सूचनाको भण्डारणमा पनि यो युगान्तकारी सावित हुन सक्ला । प्रत्युत्पन्न बौद्धिक क्षमता भएको एआइले आवाजको दुरुस्त नक्कल गर्ने तथा शैलीसमेतलाई समातेर तुरुन्त भाषान्तर गर्न सक्ने भएकोले यसको उपयोग हाम्रोजस्तो बहुभाषिक तथा बहुसांस्कृतिक देशको सार्वजनिक कार्यक्रमहरूमा समेत बढ्ने सम्भावना रहेको छ ।

वक्ताले आफू सक्षम भएको भाषामा बोल्दा जुन ठाउँको स्रोता छ, सोही ठाउँको भाषामा हुबहु आवाजमा एआइले उनैको बोलीलाई रूपान्तर गर्न सक्ने भएकोले यसको प्रयोग राजनीति, कूटनीति, शिक्षा, साहित्य, सिनेमा, टेलिभिजन आदि क्षेत्रमा पनि बढ्ने सम्भावना रहेको छ । राजनीति र कूटनीति क्षेत्रमा यसको उपयोगमा वृद्धि हुँदा दोभाषे तथा अनुवादकको कार्यक्षेत्र निकै साँघुरिने देखिएको छ । एआइ निर्माण गर्ने र अन्य किसिमका अनलाइन बौद्धिकताको क्षेत्रमा काम गर्नुलाई आजभोलि ई–श्रम भनिन थालिएको छ । काम गर्ने बौद्धिक व्यक्तित्वलाई ई–श्रमिक मान्न थालिएको छ । यसले व्यवसायको स्वरूप धारण गरिसकेको छ र ई–बौद्धिकताले व्यावसायिक रूप ग्रहण गरिरहँदा यस क्षेत्रमा राम्रो आम्दानी हुने सम्भावनालाई पनि विस्तार गरेको छ ।

इन्टरनेटको माध्यमबाट बौद्धिकताको उपयोग गर्ने वा इन्टरनेटमा बिक्रीका लागि रहेका बौद्धिक श्रमलाई मूल्य तिरेर लिनेहरूमध्ये अधिकांश बौद्धिक क्षेत्रका मानिसहरू नै हुन् । अनि बौद्धिक क्षेत्रमा मानिसहरूले एआइ र यस्ता अन्य सामग्रीको उपयोग कामको सिलसिलामा गर्न थाल्छन् तब विस्तारै अन्य क्षेत्रका मानिसहरूमा पनि यसको प्रयोग बढ्न जाने हुन्छ । एआइको प्रयोग विस्तारै विभिन्न क्षेत्रमा बढ्दै जाँदा अब बहुसांस्कृतिक तथा बहुभाषिक समाजमा शिक्षाको क्षेत्रमा यसको उपयोगिता खोज्न थालिएको छ । शिक्षा प्रणाली महँगो बन्दै जाँदा, एक शिक्षालय र अर्को शिक्षालयमा एउटै विषयवस्तु हुँदाहुँदै पनि सहजीकरण गर्ने व्यक्तिको क्षमताको आधारमा फरक गुणस्तर कायम हुन गइरहेको वर्तमान अवस्थामा बौद्धिकतापूर्ण भाषिक रूपान्तरले धेरै हदसम्म समस्याको समाधान हुने सम्भावनालाई बढाएको छ ।

स्थानीय भाषा राम्ररी बोल्न नजान्ने, भाषा बुझे पनि भाव अभिव्यक्त गर्ने सामथ्र्य कम भएका तथा भावलाई हार्दिक बनाएर प्रस्तुत गर्न नसक्ने अवस्थामा कक्षाकोठाभित्र एआइको प्रयोग प्रभावकारी हुन्छ । शिक्षकले आफूले बुझाउन सकेको तथा विद्यार्थीले पनि आफूले बुझ्न सकेको अवस्था ल्याउन केवल कर्मकाण्डीय औपचारिकताले पुगेको हुँदैन । हरेक प्रौढ व्यक्तित्वले साना बालमस्तिष्कलाई रुचिकर हुने गरी बालमनोविज्ञानअनुरूप शिक्षण सिकाइ क्रियाकलापलाई सार्थक बनाउन सजिलो हुँदैन । यस्तो अवस्थामा एआइको सहायताले चल्ने साउन्ड सिस्टमबाट निस्कने आवाजलाई बालबालिकाका लागि रुचिकर आवाज र शैलीमा रूपान्तर गरी प्रस्तुत गर्न सकिन्छ ।

कक्षाकोठाभित्र शिक्षक नभएको अवस्थामा डिजिटल बोर्डमा बालबालिकाले एआइको प्रयोग गरेर आफ्नो शिक्षकले कक्षामा पढाउनुभएको विषयवस्तुलाई अन्यत्र कसरी पढाइनेरहेछ भनी हेर्न र पढ्न सक्छन् । कठिन पाठलाई बारम्बार पढ्न सक्ने र अभ्यास गर्न सकिने वा पढाउन तथा अभ्यास गराउन सक्ने सुविधा एआइले उपलब्ध गराउन सक्छ । यो साना बालबालिकाका लागि पनि निकै उपयोगी हुने देखिन्छ । अहिले मोबाइल गेममा अल्झिरहेका बालबालिकालाई मोबाइलकै माध्यमले बौद्धिक कुरा सिकाउन तथा विद्यालयको पाठ्यपुस्तकसँग सम्बन्धित क्रियाकलापहरूमा केन्द्रित गराउन पनि एआई सहयोगी हुने देखिन्छ ।

बालमनोरञ्जन र शिक्षण सिकाइ क्रियाकलापमा सामञ्जस्य ल्याई शिक्षणको गुणस्तर तथा सिकाइको गुणस्तरलाई प्रभावकारी बनाउन तथा सिकाइ मापनमा पनि एकरूपता ल्याई बालबालिकामा प्रतिस्पर्धी भावना जगाउन एआइको उपयोग सार्थक हुने सम्भावना रहेको देखिन्छ । हरेक दिन मानव जीवन कृत्रिमता उन्मुख रहेको छ । जीवनको जटिलतालाई कृत्रिमताले केही सहजता प्रदान गर्दै गएको छ । एआइले पनि बौद्धिक श्रमदेखि भौतिक श्रमसम्म पनि मानिसलाई सहजता प्रदान गर्ने देखिएको छ तर यसबाट धेरै हदसम्म सावधान पनि हुनुपर्ने देखिन्छ ।

मानिसले यसको आवश्यकता भएको ठाउँमा मात्र प्रयोग गर्नु उचित हुन्छ । यसलाई गम्भीर दुष्परिणाम (साइड इफेक्ट) हरू दिने ज्यान बचाउने अत्यावश्क औषधिसरह मान्न सकिन्छ । अत्यावश्यक क्षेत्रमा मात्र उपयोग गरिनु उचित हुन्छ । धेरै क्षेत्रमा विभिन्न रूपमा यसको उपयोग गरिरहेको वर्तमानले भविष्यमा अझ बढी निर्भर हुने निश्चित हुँदाहुँदै पनि अझ बढी सावधान नहुने हो भने यसको दुरुपयोग पनि विभिन्न क्षेत्रमा हुने सम्भावना रहन्छ । कृत्रिम बौद्धिकताको दुरुपयोगले अपराध निम्त्याउने तथा जटिलता थप्ने पनि देखिन्छ अपराध अनुसन्धानमा पनि सहयोगगर्ने चुनौती अनि सम्भावना रहेका छन् ।

मानिसले गर्ने काम एआइबाट हुन सम्भव भएपछि मानव सभ्यताको विभिन्न पक्षमाथि गम्भीर भएर यसको उपयोग गर्नुपर्ने देखिन्छ । सम्भव भएसम्म एआइलाई मानिसकै नियन्त्रण र निर्देशनमा चल्न चलाउन दिनुपर्छ । एआइ मानिसको निर्देशनमा चलुञ्जेल नियन्त्रणमा रहन्छ तर मानिसलाई नै यसले निर्देशन दिन थाल्यो भने ? एआइको निर्माण तथा उपयोगमा लागेकाहरूले गम्भीरतापूर्वक सचेत हुनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया