रुकुम पश्चिम । गत वर्ष १७ कात्तिकमा जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पले रुकुम पश्चिमका विभिन्न ठाउँमा वितण्डा मच्चायो । बस्तीहरू खण्डहरमा परिणत भए । भूकम्पले यस क्षेत्रलाई कुरूप बनाइदियो ।
रुकुम पश्चिमका ३१ हजार घरमा भूकम्पले क्षति गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । मध्यरातमा आएको भूकम्पले बास गुमाएको रुकुमले अहिले पुर्नबास पर्खिरहेको छ । भूकम्प गएको ७ महिना बितिसक्दा पनि पुनर्निर्माणको विषय अझै अन्योलमै छ । सयौँको ज्यान लिएको र हजारौँको उठिबास हुने गरी भूकम्प गएको ७ महिना बितिसक्दा पनि पुनर्निर्माणको टुंगो भने छैन ।
हिउँदको चिसो याममा त्रिपालमुनि दिन कटाएका भूकम्प पीडित अहिले चर्को गर्मीमा टिनको टहरामुनि दिन कटाइरहेका छन् । ‘दिउँसो घाम हुन्छ । साँझ परेपछि हावाहुरी चल्छ, टिनको टहरा हावाले उडाउला कि ! भन्ने पिर छ,’ आठबिसकोट नगरपालिका–११ की सविता चन्दले भनिन्, ‘एउटा टहरामा सबै परिवार बस्छौँ ।’
भूकम्पपछि बस्तीमा पुगेका दाताहरूले खाद्यान्न त बाँडे । तर, उनीहरूले दिएको राहत सामग्री कहाँ राख्ने भन्ने चिन्ता भएको चन्दले बताइन् । उनले भनिन्, ‘राहत दिने बेलामा धेरै आए । तर, अहिले घर बनाइदिन्छु भन्दै कोही पनि आउनुभएको छैन ।’
भूकम्पबाट जिल्लामा सबैभन्दा बढी क्षति भएको स्थानीय तह आठबिसकोट नगरपालिका हो । यहाँ ४४ जनाले ज्यान गुमाएका थिए भने सयौँ घाइते भएका थिए । नगरपालिकाभर करिब १० हजार घरमा क्षति पुगेको छ ।
सरकारले ठोस योजना अघि नसार्दा पुनर्निर्माणले आकार लिन सकेको छैन । राज्यले दिएको राहत प्याकेजको पहिलो किस्ताबाट अधिकांश पीडितले अस्थायी आवास निर्माण गरिसकेका छन् । तर, स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकार पुनर्निर्माणमा जुट्नुपर्नेमा हालसम्म पुनर्निर्माणको खाकासमेत नबनेकामा अर्को जाडो र गर्मी पनि यसरी नै पीडामै बिताउनुपर्ने चिन्ता उनीहरूमा छ ।
‘हावाहुरीले असाध्यै सताएको छ । दिनभरको गर्मी जसोतासो छले पनि साँझपख टिन नै उडाउलाझैँ गरी हावा चल्छ । कतिपयको त टहरा नै उडाइदिएको छ,’ अर्का भूकम्प पीडित तुले पुन भन्छन्, ‘बासको टुंगो छैन । घरका सदस्यहरू बिरामी पर्न थाले, अझै कति समय टहराको बास हुने हो ! अब बर्खा लाग्दै छ । सर्प, बिच्छीले टोक्लान् कि भन्ने त्रास उस्तै छ । त्रासैत्रासले रातभर सुत्नै सकिन्न ।’ सरकारले चाँडै पुनर्निर्माणको काम अघि बढाए केही राहत पाइन्छ कि ! भन्ने आसमा रहेको उनी बताउँछन् ।
यता, आठबिसकोट नगरपालिकाले भूकम्प पीडितहरूको अस्थायी आवास निर्माण सकिएको र पुनर्निर्माणका लागि पहल गरिरहेको बताएको छ । नगर प्रमुख रवि केसी भन्छन्, ‘पहिलो चरणमा हामीले १० हजार अस्थायी आवास निर्माण गरेका छौँ । दोस्रो चरणमा पुनर्निर्माणमा लागेका छौँ ।’
पुनर्निर्माण तत्कालै गर्न सकिने विषय नभएको भन्दै उनले सरकारले बनाएको कार्यविधिअनुसार प्रक्रिया पूरा गर्न समय लाग्ने बताए । दुवै तहका सरकारहरूसँग पुनर्निर्माणका लागि पहल भइरहेको र जतिसक्दो चाँडै पुनर्निर्माणले तीव्रता पाउने उनले बताए ।
गाउँमा उत्पादन र पुनर्निर्माणको काम नहुदा यहाँका स्थानीय मजदुरीका लागि भारतका विभिन्न ठाउँमा भौँतारिइरहेका छन् । भूकम्पले विक्षिप्त बनाएर कष्टकर जीवन बिताइरहेको ७ महिना भइसके पनि पीडितले राज्य भएको महसुस गर्न सकेका छैनन् ।
टिनको छाप्रो र भत्किएका घरआसपासमा टहराकोे ओतभित्र सकस काटिरहेका भूकम्प पीडितलाई घरमा कहिले बस्न पाइएला भन्ने पिरलो छ । चाँडै पुनर्निर्माण भएन भने झनै समस्या हुन सक्ने खतरा बढेको छ । यहाँका बस्तीमा सबै घर ढलेका छन् । बर्खामा भूकम्पले भासिएको जमिनमा पहिरो जाने खतरा पनि उत्तिकै छ ।
रुकुम पश्चिम
प्रतिक्रिया