बर्दिवास । ‘यसरी यति छिटै परिवारसँग भेट्न पाइन्छ भनेर सोचेकै थिएनौँ । यति टाढा हामीलाई खोज्दै को आउला र ? सुरुङजस्तो हामी बसेको ठाउँ कसले पत्ता लगाउन सक्ला र ? बिरानो मान्छेको विश्वास गर्दा जीवन यसरी नै जाने भो भन्ने लागेको थियो ।’
बर्दिवास–१४ नमुना मुसहर बस्तीका रामचन्द्र सदाको भोगाइ हो यो । उनीसहित सो बस्तीका ९ जना युवाको बिहीबार बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीको रोहवरमा परिवारसँग पुनर्मिलन भएको थियो । मानव तस्करीविरुद्ध काम गर्ने ‘पिन इन्डिया’ नामक संस्था, भारतस्थित नेपाली राजदूतावास, काठमाडौँस्थित ‘शुभअवसर ग्राम नेपाल’ नामक गैरसरकारी संस्था र बर्दिवास नगरमै कृषिसम्बन्धी कार्यक्रम चलाइरहेको ‘रोयम नेपाल’ नामक संस्थाको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको हो ।
‘यहाँबाट लगेर भारतको कश्मिर पुर्याएर एउटा घरको पार्किङजस्तो देखिने भूमिगत तलामा राखियो । त्यहाँ पुर्याउँदा नेपालका ४५ जना भयौँ,’ उद्धार गरिएका सोही मुसहर बस्तीकै अर्का युवा मनोज सदाले भने, ‘यहाँबाट यताउति लागे हाम्रा मान्छे गौँडा–गौँडामा छन्, मारिन सक्छस् भनेर धम्की दिइएको थियो । हामीले केही बोल्यौँ भने कुटपिट गर्थे । हामीमध्येकै कति साथीले प्लास्टिकको पाइपले कति पिटाइ खाए । २–४ लात नखाने त हामी कोही बाँकी भएनौँ ।’
गत वर्षको माघ दोस्रो सातातिर सो मुसहर बस्तीमा भारतको अररियाका ४ जना ‘ठेकेदार’ आएका थिए । उनीहरूले आफूहरू ठेकेदार भएको र काम गर्ने श्रमिक नपाएर खोज्दै हिँडेको बताए । अर्का युवा सवर सदाले भने, ‘दिनको १५ सय रुपैयाँ ज्याला दिन्छु भने । तत्काल प्रतिव्यक्ति ७ हजार पनि दिएकाले विश्वास लाग्यो । अनि हामी यो बस्तीबाट ९ जना युवा तयार भयौँ ।’
रक्सौल पुग्दा नेपालका विभिन्न ठाउँबाट जम्मा गरेका ४५ कामदार पुगेको उनले बताए । कश्मिर श्रीनगरको ग्रामीण भेग करालपुरा वडग्राममा पुर्याएर सबैको साथमा घरबाट लगेको जेजति पैसा बाँकी थियो, सबै एक–एक गरेर खानतलासी गर्दै खोसियो ।
बन्ध बनाएकाहरूले दुई छाक खान त दिन्थे, तर आफैँले पकाएर खानुपथ्र्यो । ४५ जनामध्येकै एकजनालाई खाना पकाउन छाडिन्थ्यो । चामल, दात र तरकारीको व्यवस्था उनीहरूले गरिदिएका थिए ।
उनीहरू सबैलाई निर्माणको काममा नै लगाइएको थियो । ‘घर बनाउने काम नै थियो । सिमेन्ट, छड, इट्टा बोकेर ४–५ तलासम्म चढ्नुपथ्र्यो,’ छाला उप्किएका हत्केला देखाउँदै रामचन्द्र सदाले भने, ‘यी हेर्नुस् सिमेन्टले खाएको हात । सबैको हात यस्तै छ । पिटेको निलडाम भने अहिले निकै दिन भएकाले मेटियो । हामीले काम गरेको पैसा कति आउँथ्यो, हामीले देख्न पनि पाएनौँ ।’
कसरी भयो उद्धार सम्भव ?
नेपालबाट लगिएकामध्ये अलि बाठा भनिएका २ जना २÷४ दिनमै त्यहाँबाट भाग्न सफल भए । तिनै भागेर आएकाहरूलाई सबैको ठेगाना थाहा थियो । उनीहरूले परिवारसम्म खबर पुर्याए । परदेसिएकाहरूले धेरै कमाएर ल्याउलान्, घरपरिवारका लागि के–के गरौँला भनेर सपना देखेका मुसहर परिवारमा बज्रपात भयो । यही जुनीमा फर्कन्छन् भन्ने आसै हरायो ।
रामचन्द्र सदाकी पत्नीले भनिन्, ‘नामै नसुनेको ठाउँ, कहाँ हो कहाँ ! कसरी जाने, कहाँबाट जाने सोचेरै रिँगटा चल्थ्यो ।’
मुसहर बस्तीमा भएको रुवाबासी सुनेर सोही ठाउँमा कृषिसम्बन्धी कार्यक्रम चलाइरहेको रोयम नेपाल भन्ने गैरसरकारी संस्थाकी जिल्ला कार्यक्रम अधिकृत रञ्जु साहले चासो राखिन् । उनी भन्छिन्, ‘मलाई मानव तस्करीविरुद्ध काम गर्ने केही संस्थाका बारेमा थाहा थियो । अनि हामीले आफ्नो संस्थामा कुरा गरेर पहल थाल्यौँ ।’
उनले आफू मुसहर बस्तीका महिलाहरूलाई लिएर नगरपालिकादेखि यस क्षेत्रका निर्वाचित प्रदेश सांसद शारदा थापासम्म पुगेर गुहार मागेको बताइन् । त्यतिबेला कसैले वास्ता नगरेको उनको गुनासो छ ।
उनै रञ्जुले ‘पिन इन्डिया’ नामक भारतीय गैरकारी संस्थासँग आबद्ध सामाजिक अभियन्ता सरोज रायलाई सम्पर्क गरिन् । सरोजले उनलाई भरपर्दो आश्वासन दिए र उनीहरूको ठेगाना खुल्ने आवश्यक कागजात बनाउन भने ।
रोयम नेपालले मुसहर महिलाहरूलाई वडा कार्यालयबाट कागजात बनाउन सहयोग मात्र गरेन, उनीहरूलाई नेपालसम्म ल्याउन पैसाको व्यवस्थाका लागि काठमाडौँस्थित ‘शुभअवसर ग्राम नेपाल’ नामक संस्थासँग समन्वय पनि गर्यो ।
पिन इन्डियाले भारतस्थित नेपाली दूतावासमा सम्पर्क गरेर सहयोग माग्यो । नेपाली दूतावासले भारत सरकारमार्फत् श्रीनगर प्रहरीसँग सहयोग लियो । शुभअवसरले उनीहरू ४५ जनालाई नै आ–आफ्नो घरसम्म आउने र बाटोमा खानाका लागि आवश्यक रकमको व्यवस्थापन गर्यो । त्यतिबेलासम्म रोयम नेपालले मुसहर बस्तीमा पीडित परिवारलाई काउन्सिलिङको काम गरिरहेको रञ्जुले बताइन् ।
उद्धार गरिएका ४५ जनामध्ये ९ जना बर्दिवास–१४ नमुना मुसहर बस्तीका हुन् । उनीहरूलाई बिहीबार सम्बन्धित पालिकाको रोहबरमा परिवारको जिम्मा लगाइएको शुभअवसर ग्राम नेपालका विकास ढुंगानाले बताए । यसअघि महोत्तरी जिल्लाकै गौशाला नगरपालिका र सर्लाहीको ईश्वरपुर नगरपालिकाका व्यक्तिहरूलाई नगरपालिकाको रोहबरमा परिवारको जिम्मा लगाइसकिएको उनले बताए ।
‘यिनीहरूले काम गरेको सबै ज्याला दलालले लिने भएकाले उसले सित्तैँमा दैनिक ५० हजार भारु कमाइरहेको देखियो । लगभग ३ महिनामा दैनिक ५० हजारका दरले दलालले कमाउँदा उ मालामाल भइरहेको रहेछ,’ ढुंगानाले भने ।
कमाउन गएका मुसहर युवा फर्किंदा एक पैसा थिएन । घरमा पुगेकै दिनसमेत उनीहरूको घरमा खानका लागि कुनै व्यवस्था थिएन । बर्दिवास नगरपालिकाले तत्कालका लागि चामल, दाल र तरकारीको व्यवस्था गरिदिएको नगर प्रमुख प्रह्लाद क्षेत्रीले बताए ।
बर्दिवास नगरपालिकाले उनीहरूलाई सीपमूलक तालिम दिने योजना रहेको प्रमुख क्षेत्रीले सुनाए । उनले भने, ‘मलाई जानकारी नै थिएन । कसैले भनेनन् पनि । यस्तो अप्ठ्यारोमा परेकालाई सहयोग गर्न बर्दिवास नगरपालिका सधैँ तयार छ ।’
प्रतिक्रिया