‘जानु’ र ‘नउघ्रेको जून’ विमोचित

काठमाडौं । साहित्यकार जानु काम्बाङ लिम्बूको गीति एल्बम ‘जानु’ र कथासंग्रह ‘नउघ्रेको जून’ बजारमा आएका छन् । नेपाली वाङ्मय प्रतिष्ठानले राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार बैरागी काइँलाले कृतिको विमोचन गर्दै आफूभित्र भएको सिर्जनात्मक क्षमतालाई मार्न नहुने बताए । उनले भने, ‘आफ्नो सिर्जनामार्फत भावी पुस्तालाई समाजबारे जानकारी गराउनैपर्छ ।’

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार बिना थिङले कृतिमा लिम्बू समुदायको कथालाई बढी प्राथमिकता दिइनु सकारात्मक पक्ष रहेको बताइन् । प्रतिष्ठानका अध्यक्ष शशि लुमुम्बूले साहित्यका क्षेत्रमा लेखिकाको भविष्य उज्ज्वल रहेको बताए ।

उनले भने, ‘कृतिकारले राम्रा सिर्जनामार्फत आफूलाई सार्वजनिक गर्नुभएको छ । यो नेपाली वाङ्मयका लागि सकारात्मक पहल हो ।’ सार्वजनिक एल्बममा ‘गर्नुछ एउटा कुरा’ र ‘कैयौँ प्यासी रातहरू’ गरी दुई गीत तथा कथा संग्रहमा २० कथा समावेश छन् ।

प्रतिक्रिया