ओझेलमा परे नाटककार मल्ल

खड्कबहादुर मल्ल

‘दसैं हो कि दशा’ शीर्षकमा नाटक रचना र अभिनय गरेर कुनै समयमा निकै ख्याति कमाएका नाटककार खड्कबहादुर मल्ल अहिले ओझेलमा परेका छन् ।

डोटेली भाषामा नाटक रचना गरी मुख्य अभिनयकर्ताको भूमिकामा रहेर गाउँठाउँमा मञ्चन गर्दै आएका कला सिर्जनाका धनी मल्लका सिर्जनाले उचित स्थान नपाउँदा ओझेलमा परेका हुन् ।

विद्यालय अध्ययनकै क्रममा चार दशकअघि रचना गरी गाउँठाउँमा अभिनय गरिएको मल्लको ‘दसैं हो कि दशा’ नाटक नै डोटेली भाषाको सम्भवतः पहिलो नाटक हो । बडादसैंमा फजुल खर्च गर्ने प्रवृत्तिबाट समाजमा परेको प्रभावप्रति तिखो व्यंग्य गर्दै दसैंको मौलिकता जोगाउने सन्देश दिइएको यो नाटकले तत्कालीन समयमा एकाएक चर्चा बटुलेपछि नाटक रचेर अभिनय गर्ने हौसला उनमा बढाइदिएको थियो ।

समाजका विकृति, विसंगति, अशिक्षाविरोधी सन्देशमूलक नाटक लेखेर समाजको चेतना अभिवृद्धिमा ठूलो गुन लगाएका मल्लले ‘छोरीले पनि पढे छोराले झैैँ ठूलो काम गर्न सक्छन्’ भन्ने नामको अर्को नाटक रचना गरेका छन् । आफ्नो सिर्जनालाई निरन्तरता दिँदै गर्दा कैलालीको चौमालामा रहेको विद्यालयमा स्वास्थ्य शिक्षा अध्यापन गर्ने अवसर उनलाई मिल्यो । त्यस क्रममा पनि एचआइभी एड्ससम्बन्धी चेतनामूलक सन्देश दिइएको ‘लाहुरेको सम्पत्ति’ नामको उनले अर्को नाटक रचना र अभिनयले ‘लाहुर’ जानेहरूलाई सचेत बनाएको थियो ।

सशस्त्र युद्धको त्रास जताततै बढ्दै जाँदा देशले भोगिरहेको पीडा दर्शाउने र शान्ति बहाली गर्ने सन्देश दिएर मल्लद्वारा रचिएको ‘शान्तिकी आमा’ शीर्षकको अर्को नाटक प्रदर्शनले तत्कालीन समयमा त्रासमा बाँचेकाहरूलाई कुनै न कुनै रूपमा शान्तिको अनुभूति मिलेको थियो । ‘यो नाटक प्रदर्शन हुँदा अहिले पनि शान्ति र आपसी सद्भाव, एकताको भावना फैलाएको अनुभूति गर्ने गरेको छ,’ नाटकको कथावस्तुको अध्ययन गरेका स्थानीय हर्कबहादुर बोहराले बताए ।

भाषा, लोक-संस्कृतिको संरक्षण संवद्र्धनमा अनुकरणीय योगदान पु¥याए पनि उनी समाज र राष्ट्रबाट पाउनुुपर्ने उचित सम्मानबाट भने अझैँ टाढा छन् । आफैँ लगानी गरेर नाटकको सिर्जना र अभिनय गरेका ५३ वर्षीय मल्ललाई यतिवेला आर्थिक अवस्था कमजोर हुँदा जीवन निर्वाह गर्नसमेत धौधौ भएको छ ।

नेपाली समाजको मौलिकता प्रस्तुत गर्ने नाटक लेखन र प्रस्तुति सुरु गरेर सुदूरपश्चिममा कुनै समयमा अब्बल नाटककारको ख्याति कमाएका मल्लको सिर्जना ओझेलमा पर्दा साहित्यकर्मी निराश छन् । ‘सुदूरपश्चिमेली समाजमा हुने घटनालाई टपक्क टिपेर बेजोड प्रतिभाको नाटक रचना गरी अभिनय गर्ने कला मल्लसँग छ । साहित्यकार टोपेन्द्र शाहले भने । तर, उनको प्रतिभाको कदर, उचित सम्मान र प्रचारप्रसार हुनसकेको छैन ।’

उसो त पश्चिमी संस्कृतिको प्रभाव बढ्दै जाँदा नेपाली समाजको मौलिकता दर्शाउने नाटकहरूको महत्व र आवश्यकता अहिलेका पिँढीमाझ घट्दै गएकाले पनि सर्जकहरूको सिर्जनाले उचित स्थान नपाएको भन्नेहरूको पनि कमी छैन । मल्ल सुदूरपश्चिम प्रदेशको मौलिक पहिचान बोकेको लोकप्रिय ‘गौरी चलचित्र’ का समेत निर्माता हुन् । सुदूरपश्चिमको सामाजिक परिवेशमा एउटा महिलाले भोग्नुपरेको पीडाका साथै सामाजिक विकृति, विसंगतिका विरुद्ध सन्देश दिइएको यो चलचित्र निकै चर्चित पनि छ ।

सुदूरपश्चिममा विद्यमान पुरानो दमन नीति, छाउपडी, जातीय विभेद, हली प्रथा र चेलीबेटी बेचबिखनजस्ता कुरीतिविरुद्ध चेतना अभिवृद्धि गराउन यो चलचित्र सफल भएको चलचित्रको अवलोकन गरेकाहरू बताउँछन् । ‘मल्ल स्कुले जीवनदेखि नै नाटकको रचना गर्ने, साथीभाइलाई भेला गराएर आफैँमुख्य अभिनयकर्ता भएर नाटक मञ्चन गर्नेजस्ता क्रियाकलापमा लागिरहन्छन्, साहित्यकार यज्ञराज यात्रीले भने, ‘डोटेली भाषाको नाटक र चलचित्र क्षेत्रलाई उचाइमा पु¥याएर भाषा, साहित्य, कलामा योगदान पु¥याउँदा पनि समाज र राष्ट्रले सम्झिन सकेको छैन ।’

सामाजिक क्षेत्रका विकृति विसंगतिलाई हटाउन आफ्ना रचनामार्फत खरो उत्रिएका कलाकार मल्ल पछिल्लोपटक आर्थिक अभावकै कारण आफ्नो नाट्यकलामा पूर्णविराम लाग्ने हो कि भन्ने चिन्ता पनि व्यक्त गर्छन् । ‘समाजको उन्नति, प्रगतिका लागि भनेर घरको अचल सम्पत्ति बैंकमा धितो राखेर जोहो गरिएको रकमबाट चलचित्र निर्माण गरियो, मल्लले गुनासो गरे । नाटक र चलचित्रको रचना र अभिनय गर्दागर्दै घरको सम्पत्ति सकिँदासम्म पनि कसैले सम्झिएन ।’ पछिल्लोपटक उनी सुदूरपश्चिम प्रदेशमा व्याप्त जातीय छुवाछूत विरोधी चलचित्र निर्माणको तयारीमा छन् ।

प्रतिक्रिया