सुएलेन बनिन् चाइल्ड आइकन

काठमाडौं । युरो स्कुलमा अध्ययनरत् सुएलेन फगामी पुनले ‘नवौँ चाइल्ड आइकन’ को उपाधि हात पारेकी छन् । राजधानीको जमलस्थित नाचघरमा मंगलबार बेलुका आयोजित कार्यक्रम सुएलेनले १ लाख रूपैयाँ र ५ दिनका लागि सिक्किम, दार्जिलिङ भ्रमणको अवसर पनि जितेकी छन् ।

राष्ट्रिय मिडिया ल्यान्डले आयोजना गरेको नवौँ चाइल्ड आइकनमा सिनियरतर्फ राजश्री गुरुकुलका साइन अम्गाई फस्र्ट रनरअप भए । सिनियरतर्फ सेकेन्ड रनरअपको उपाधि युरो स्कुलकी आयुषा खनालले हात पारिन् ।

प्रतियोगितामा जुनियरतर्फ युरो स्कुलका अर्का विद्यार्थी आर्जन गेलाल फस्र्ट रनरअप भए । यस्तै, सेकेन्ड रनरअपको उपाधि युरो स्कुलकै आयुशी श्री घिमिरेले जितेकी छन् । फस्ट रनरअप र सेकेन्ड रनरअपका विजेताले विभिन्न उपहारसहित लुम्बिनी र पोखरा भ्रमणको अवसर पाएका छन् ।

विगत १० वर्षदेखि आयोजना हुँदै आएको उक्त प्रतियोगितामा सिनियर र जुनियरसहित ८२ जना प्रतियोगीले भाग लिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको निर्णायकमा ओलम्पियन तथा तेक्वान्दो खेलाडी दिपक विष्ट, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक सुरेश गैरे, कलाकार गजित विष्ट, संयोग कोइराला, जयन सुब्बा मानन्धर, रोजिन शाक्य, मोडल रजनी थापा, ब्युटिसिएन सिता पाठक, शोभा महर्जन रहेका थिए ।

बालबालिकाको प्रतिभा प्रस्तुतिका लागि आफूहरूले चाइल्ड आइकन प्रतियोगिता आयोजना गर्दै आएको मिडिया ल्यान्डकी प्रबन्ध निर्देशक प्रतिमा श्रेष्ठले बताइन् ।

प्रतिक्रिया