गच्छदार फकाउँदै पौडेल समूह

काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट पक्षहरू पार्टीभित्र पुनः एकजुट हुन सुरु भएका छन् । उपसभापति मनोनयन गर्दा विधान मिचेको भन्दै कोइराला खेमासहित वरिष्ठ नेता रामचन्द्र पौडेल समूह एकजुट भई छलफलमा जुटेका हुन् ।

देउवाको स्वेच्छाचारी निर्णयले पार्टीभित्र जे गरे पनि हुने भन्ने अवस्था सृजना भएको भन्दै उनिहरूले त्यसको सशक्त विरोध गर्ने सहमति भने गरेका छन् । नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटारमा भएको छलफलमा पौडेलसहित महामन्त्री संशाक कोइराला, केन्द्रीय सदस्यहरू शेखर कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र रामशरण महत सहभागी भएका थिए ।

गच्छदारको विरोध नगर्ने तर प्रक्रियाको मात्र विरोध गर्ने नीति पौडेल समूहले लिएको छ । जसका कारण अब हुने महाधिवेशनमा देउवाविरुद्ध गच्छदारको समूहलाई समेत आफुतिर तान्ने प्रयासमा रहेको छ ।

भेलामा आसन्न महासमिति बैठकमा एकजुट भएर आवाज उठाउने र सभापतिको स्वेच्छाचारी निर्णय विरुद्ध सशक्त रूपमा जुनसुकै ठाउँबाट पनि प्रतिवाद गर्ने विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।

विशेष गरी केन्द्रीय समिति बैठकबाट सभापति देउवाले विधान मिच्दै विजयकुमार गच्छदारलाई उपसभापति बनाएपछि कांग्रेसमा विवाद झनै चुलिएको छ ।

पौडेल खेमाले गच्छदारलाई समेत आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेको नेताहरूले बताएका छन् । गच्छदारको विरोध नगर्ने तर प्रक्रियाको मात्र विरोध गर्ने नीति पौडेल समूहले लिएको छ । जसका कारण अब हुने महाधिवेशनमा देउवाविरुद्ध गच्छदारको समूहलाई समेत आफुतिर तान्ने प्रयासमा रहेको छ ।

‘गच्छदारलाई उपसभापति बनाउने विषयमा कुनै विवाद थिएन । हामी पनि चाँडै गर्नुपर्छ भन्ने पक्षमा थियौँ’ बैठकपछि नेता केसीले भने,‘एउटा कार्यदल बनाएर त्यसको प्रतिवेदनको आधारमा विधानको प्रक्रियासमेत मिलाएर गर्न सकिन्थ्यो । तर, सभापतिजीले बलजफ्ती विधि र प्रक्रिया विपरीत निर्णय लिनुभयो, जुन गलत छ ।’

उनका अनुसार यस्तो निर्णय सभापति देउवाबाट जानीबुझीकन गरिएको थियो । ‘पहिलो त मैले गरेपछि जे पनि हुन्छ भन्ने सन्देश हो, यसरी निर्णय लिदा गच्छदारको विरोध हुन्छ । त्यसको जस लिएर १४औँ महाधिवेशनमा आफूले फाइदा लिन सकिन्छ भन्ने हो ।’

कांग्रेसभित्रका यावत समस्याका विषयमा छलफल गर्न विहानीको खानासहितको छलफल आयोजना गरिएको थियो । छलफलमा नेपाल विद्यार्थी संघका विषयमा समेत कुरा उठेको छ । मंसिर २ गते कार्यकाल सकिँदै गरेको नेविसंघमा अब के गर्ने भन्नेबारे पनि छलफल भएको नेताहरूले बताएका छन् ।

नेविसंघमा अब समानान्तर समिति बनाउने चेतावनीसमेत दिएका छन् । संस्थापन समूहले पेलेर आफू निकटका विद्यार्थी नेताको नाम टाँसे समानान्तर समिति बनाउने छलफल गरेका थिए । नेतृत्वले पेलेर आफ्ना मान्छेको नाम टाँसेर नेविसंघ बनायो भने त्यसको प्रतिवाद गर्ने सहमति भएको छ ।

‘लन्च’ छलफलसँगै सुजाता कोइराला पनि देउवासँग असन्तुष्ट खेमासँग नजिक भएकी छन् । यसअघि उक्त समूहमा कोइराला परिवारमध्ये डा. शेखर कोइराला मात्र सहभागी हुँदै आएका थिए । सुजता र शशांकले पनि देउवाको विरोध गर्दै आए पनि देउवाविरुद्ध बनेको समूहमा भने सहभागी हुने गरेका थिएनन् ।

प्रतिक्रिया