निश्चलले ल्याए ‘पद्मिनी’

काठमाडौं । गजलकार निश्चल पिएसको गजल एल्बम ‘पद्मिनी’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी गजलकार डा। कृष्णहरि बराल, गीतकार रमेश पौडेल, गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, संगीतकार शक्ति बल्लभ लगायतका स्रष्टाले उक्त एल्बमको संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा प्रमुख अतिथि डा। बरालले पछिल्लो समय नेपाली गीतसंगीत क्षेत्रमा निकै परिवर्तन आएको बताए । उनले भने, ‘गजलकार निश्चलले लेखेका गीतमा पृथकता पस्कने कोशिस गरिएको छ ।’ गजलमार्फत निश्चलले समज, समय र सामाजिक परिवेशलाई केलाएको डा बरालले बताए ।

लामो समयदेखि दुबईमा बस्दै आएका निश्चलको ‘पद्मिनी’ मा अञ्जु पन्तको स्वर र हरि लम्सालको संगीतमा ‘कहाँ कहाँ खोजे तिमीलाई।।।’, स्वरुपराज आचार्यको स्वर र महेश खड्काको संगीतमा ‘टुटनु नाता टुटेपछि।।।’, दीपक लिम्बूको स्वर र गैरे सुरेशको संगीतमा ‘जब तिम्रो साथ हुन्छ।।।’, ताराप्रकाश लिम्बूको स्वर र संगीतमा ‘तिम्रो मनको बगैंचामा।।।’, निरा रानाभाटको स्वर र गैरे सुरेशको संगीतमा ‘म रुँदिन भन्छु।।।’, सुनिता थेगेमको स्वर र ताराप्रकाशको संगीतमा ‘हिजोआज किन।।।’ जस्ता ६ वटा गजल संग्रहित छन् । गजलमा महराजा थापा, विष्णु अधिकारी, आमोश तामाङ, फणिन्द्र राई र शाहस शाक्यको एरेञ्ज रहेको छ ।

उक्त कार्यक्रमको सन्दर्भ पारेर एल्बममा रहेको गीत ‘कहाँ कहाँ खोजे तिमीलाई नखोजेको सहर छैन, हरपल सम्झे तिमीलाई नसम्झेको प्रहर छैन’ को भिडियो समेत सार्वजनिक गरियो । निकेश खड्काको निर्देशन रहेको भिडियोमा रिमा विश्वकर्मा, जीवन भट्टराई र जोर्डन राजभण्डारीको अभिनय छ । उत्तम हुँमागाईंले छायांकन गरेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् ।

प्रतिक्रिया