निरीह बनेको नेपालको पोस्टमा गोलवर्षा

काठमाडौं । म्यानमारले एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिपमा नेपालको पोस्टमा गोलको वर्षा गरेको छ । शुक्रबार भएको समूह ‘ई’ को दोस्रो खेलमा निरीह बनेको नेपालको पोस्टमा म्यानमारले ११–१ को गोलको वर्षा गरेको छ । हारसँगै आगामी वर्ष थाइल्यान्डमा एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिपमा छनोट हुने नेपालको आशा समाप्त भएको छ ।

नेपाल यसअघि पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले पराजित भएको थियो । यता, शुक्रबार नै सोही समूहको अर्को खेलमा फिलिपिन्सले मलेसियामाथि १–० को संघर्षपूर्ण जित निकाल्दै म्यानमारलाई चुनौती प्रस्तुत गरेको छ । शुक्रबार हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको मैदानमा भएको खेलमा म्यानमारले पहिलो हाफको सुरुदेखि नै गोलको वर्षा गरेको थियो।

म्यानमारले खेलको ३ मिनेटमै खाता खोल्दा सुरुआती १० मिनेटभित्र ४ गोल गरेको थियो । एकपछि अर्को आक्रमण गरेको म्यानमारसामू नेपालको डिफेन्स निरीह बन्न बाध्य भयो । तर, दोस्रो हाफमा भने नेपालले म्यानमारलाई रोक्न सफल भयो । यद्यपि, पहिलो हाफमै ११ गोल बेहोर्दा नेपालले लज्जास्पद नतिजाको सामना गर्यो।

म्यानमारका लागि झिन मार थीले खेलको तेस्रो मिनेटमै अग्रता दिलाइन् । त्यसपछि म्यानमारका लागि स्वीओर माङले खेलको ३८ मिनेटभित्र नै ५ गोल गरिन् । उनले खेलको ४, ६, १७, २० र ३८औँ मिनेटमा गोल गरिन् । मायाट खिनले ९, २९ र ३३औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

त्यसअघि फू रेनले ३०औँ मिनेटमा गोल गरेकी थिइन् । दोस्रो हाफमा भने नेपालले सुधारिएको प्रदर्शन गर्यो । यद्यपि, दुवैतर्फ बाट गोल भएको थियो ।  खेलको ६३औँ मिनेटमा पोन्ट पोन्टले अर्को थप्दै म्यानमारलाई ११–० ले अगाडि बढाइन् । त्यससँगै नेपाली समर्थकले खेल सकिने पर्खाइ गर्न थालिकसकेका थिए ।

यद्यपि, खेलको ७४औँ मिनेटमा सावित्री थोकरले गोल गर्दै केही सान्त्वना दिलाइन् । खेलको अन्तिम २७ मिनेट भने नेपालले म्यानमारलाई रोक्न सफल भयो । लगातार दुई हारसँगै नेपाल र मलेसियाको छनोट सम्भावना सकिएको छ । यी दुईले सान्त्वाना जितका लागि आइतबार खेल्नेछ ।

म्यानमार र फिलिपिन्सले पनि आइतबार नै समूह विजेताका लागि खेल्नेछन् । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् ।

आयोजक थाइल्यान्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि यसअघि नै छनोट भइसकेका छन् ।

प्रतिक्रिया