बुद्धवीरको एकल साँझ

काठमाडौं । नेपाली गीत संगीतमा लामो समयदेखि क्रियाशील अग्रज गीतकार बुद्धवीर लामाको आठौँ एकल साँझ सम्पन्न भएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार आयोजित साँझमा विभिन्न गायक गायिकाले लामाले लेखेका करिब एक दर्जन गीत प्रस्तुत गरेका थिए ।

ब्लुरेन एजुकेसन फाउन्डेसनले आयोजना गरेको साँझमा शम्भु राईले यो मन भन्छ कहाँ जाउ, चलेछ बतार सुस्तरी, कुन्ति मोक्तानले मत हिँड्छु मेरै बाटो, यम बरालले बादलुको घुम्टोले गीत प्रस्तुत गरे । त्यस्तै, सत्यकला राईले भेटौँला मायालु इन्टरनेटमा, तिमीलाई हङकङ पु¥यायो, अपेक्षा बन्यातले आमा तिम्रो माया, कहाँ छ त्यो बालअधिकार, नारायण लामाले च्छो रोल्पा ताल, पार्वती राईले खोटाङ हलेसी लगायतका बुद्धवीरले नै रचना गरेका गीत गाएका थिए ।

त्यस्तैै, गीतकार बुद्धवीरले रचना गरेको गीतहरूको संग्रह एल्बम ‘आमा तिम्रो माया’ समेत विमोचन गरिएको थियो । उक्त एकल साँझका लागि संकलित रकममध्येबाट खर्च कटाएर बढी भएको रकम जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्र फर्पिङ, पवित्र बाल उत्थान केन्द्र चावहिल र बैकुण्ठ मानन्धर स्र्पोटस् फाउन्डेसन काठमाडौंलाई प्रदान गरिएको थियो । यी संस्थालाई क्रमशः २५, २५ र ६० हजार प्रदान गरिएको थियो ।

उक्त कार्यक्रमको अवसर पारेर विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो । ‘स्रष्टा सम्मान २०७५’, बाट गीतकार ईश्वर श्रेष्ठ, डेउडा गायक नन्दकृष्ण जोशी, साहित्यकार प्रतीक ढकाल, भगवती दश श्रेष्ठलाई सम्मान गरियो । त्यसैगरी ‘उत्कृष्ट समाजसेवी तथा नागरिक सम्मान २०७५’ बाट मिस एसएलसी रोजिना लामा, तथा ‘उत्कृष्ट नागरिक तथा राष्ट्रिय सम्मान ०७५’ बाट सूर्योदय नगरपालिका इलामका प्रमुख रणबहादुर राई, आयुर्वेदिक चिकित्सक राकेशकुमार सिंह र शिक्षासेवी रामचन्द्र महतो कुशवाह सम्मानित भए ।

‘उत्कृष्ट निजामति सेवा सम्मान २०७५’ निमा तेन्जिङ शेर्पा, छविलाल सुवेदी, शिवप्रसाद चापागाईं, रेवतीरमण तिमल्सेना, मुक्तिप्रसाद आचार्यले दिइयो । श्रीमती मुना सिलवाल, इन्दिरा याक्थुम्बालाई ‘शैक्षिक सम्मान २०७५’ बाट सम्मान गरिएको आयोजकले जानकारी दिए ।

पूर्वब्याडमिन्टन खेलाडी तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष किशोरबहादुर सिंहलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०७५’ प्रदान गरिएको थियो । कार्यक्रममा ‘एथलेटिक्स तथा खेलकुद सम्मान २०७५’ द्वारा पुष्पलाल श्रेष्ठ, भैरवी शाही, कपिल भट्ट, जीतबहादुर केसी सम्मानित भए । सम्मानित सबैलाई पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले ताम्रपत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा भुवन लामाको हास्यव्यंग्य, साधना कला केन्द्र, ग्यालेक्सी पब्लिक स्कुलका र ब्लुरेन इनटरनेसनल बोडिङ स्कुलले नृत्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको सन्दर्भ पारेर गीतकार लामाको जन्मस्थान सूर्योदय नगरपालिकाको विषयमा निर्माण गरिएको वृत्तचित्रसमेत प्रदर्शन गरियो ।

प्रतिक्रिया