अमेरिका २० साउन । एउटा नयाँ अध्ययनले आगामी दशकभित्रै विश्वभर अन्धोपनबाट पीडित हुने देखाएको छ । ‘द ल्यान्सेट’ नामक जर्नलमा छापिएको उक्त लेखमा उपचार प्रणालीमा सुधार नआए अहिले ३ करोड ६० लाख रहेको अन्धोपन पीडितको संख्या सन् २०५० सम्ममा ११ करोड ५० लाख पुग्ने भविष्यवाणी गरिएको छ ।अनुसन्धानकर्ताहरूले हालैका दशकमा अन्धोपनसँग जुधिरहेका मानिसहरूको संख्या कम भइरहेको भए पनि औसत आयु र जनसंख्याको वृद्धिका कारण यो क्रम उल्टने बताएका छन् । विश्वभर वृद्ध मानिसको जनसंख्या बढ्दै गएकाले यस्तो अवस्था आउने वैज्ञानिकहरूले बताएका हुन् । सबैभन्दा खराब अवस्था दक्षिण तथा पूर्वी एसिया र अफ्रिकाको सबसहारा क्षेत्रमा देखिने उनीहरूको भनाइ छ ।
अनुसन्धानकर्ताहरूले मोतिविन्दु र अन्य दृष्टिसम्बन्धी समस्याहरूको उपचारमा थप लगानी गर्न र दृष्टिसम्बन्धी समस्या भएका मानिसलाई चस्मा उपलब्ध गराउन सुझाव दिएका छन् ।१ सय ८८ वटा देशमा गरिएका अध्ययनले २ करोड मानिसहरूलाई मध्यमदेखि गम्भीर किसिमको दृष्टिसम्बन्धी समस्या रहेको देखाएको थियो । सन् २०५० सम्ममा उक्त संख्या ५ करोड ५० लाख पुग्ने ठानिएको छ । एंगलिया रस्किन विश्व विद्यालयका प्राध्यापक तथा प्रमुख अनुसन्धानकर्ता रूपर्ट बोर्न भन्छन्, ‘मध्यमस्तरको अन्धोपनले पनि एउटा व्यक्तिको जीवनमा ठूलो प्रभाव पार्न सक्छ ।’‘उदाहरणका लागि त्यसले उनीहरूको स्वतन्त्रतामा अंकुश लगाउनसक्छ, सवारी साधन चलाउनबाट उनीहरूलाई वञ्चित गर्न सक्छ ।’ उनले अन्धोपनले शैक्षिक र आर्थिक अवसरसमेत गुम्ने उल्लेख गरे ।
उक्त अध्ययनका लेखकहरूले मोतिविन्दु शल्यक्रिया र उपयुक्त किसिमका चस्मासम्म पीडितहरूको पहुँच पु¥याउन बढी लगानी गर्न सुझाव दिएका छन् । प्राध्यापक रूपर्ट बोर्न भन्छन्, ‘त्यस्तो खालको हस्तक्षेपले लगानी अनुसारको राम्रो प्रतिफल दिनेछ । यस्ता खालका प्रयासहरू कतिपय विकासोन्मुख देशहरूमा भए पनि रहेका छन् ।’ उपचार गर्न सकिने अन्धोपन निवारणका लागि ३० वटा देशहरूमा काम गरिरहेको एउटा परोपकारी संस्था साइट सेभर्सले आँखाको नानीमा ढाकिने मोतीविन्दुको समस्या बढ्दै गएको जनाएको छ । उक्त संस्थाका इमरान खान भन्छन्, ‘वृद्ध मानिसहरूको बढ्दो जनसंख्या र गम्भीर किसिमका रोगमा भएका वृद्धिले विश्वका गरिब देशहरूमा अन्धोपनको समस्या अझै बढ्ने हामीले देखिरहेका छौँ । उनले विकासोन्मुख देशहरूमा स्वास्थ्य प्रणालीमा सुधार ल्याउनुपर्ने उल्लेख गर्दै आँखाको उपचार गर्न सक्षम चिकित्सक र नर्सहरूको उत्पादनमा जोड दिनुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया