पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु, उनकै बुबा र भाइ घाइते

लाहोर । पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली बालिकाको मृत्यु भएको छ । घटनामा उनका परिवारका अन्य दुई सदस्य घाइते भएका छन् । अस्ट्रेलिया सरकारले उक्त घटनाको पारदर्शी र निष्पक्ष अनुसन्धानको माग गरेको छ ।

पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्तको प्रहरीले दिएको जानकारी अनुसार बुधबार डकैतीको घटनामा प्रतिक्रिया जनाउँदै पुगेका प्रहरी अधिकारीहरूले संदिग्धहरूसँग गोली हानाहान गरेका थिए ।

पञ्जाब प्रहरीको अपराध नियन्त्रण विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनापछिको भागदौडमा एक प्रहरी अधिकारीले गल्तीवश संदिग्धहरू पीडितको गाडीमार्फत भाग्न खोजिरहेका छन् भन्ने अनुमान गरी गोली चलाएका थिए ।’

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले मृतक बालिका नौ वर्षकी रहेको जानकारी दिँदै घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन् । ‘एक सानी बालिकाले ज्यान गुमाएकी मात्र होइन, उनका परिवारका अन्य सदस्यहरू पनि घाइते भएका छन्, यो अत्यन्तै दुःखद र पीडादायी घटना हो’, उनले पत्रकारहरुसँग भने ।

अस्ट्रेलियाको विदेश मन्त्रालयले एक अस्ट्रेलियाली नागरिकको मृत्यु भएको पुष्टि गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको जनाएको छ । पञ्जाब प्रहरीले घटनाबारे पूर्ण, निष्पक्ष र पारदर्शी अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले विज्ञप्तिमा भनेको छ, ‘हामी यस दुःखद घटनाबाट गहिरो मर्माहत भएका छौँ, उच्च जोखिमयुक्त परिस्थितिमा काम गर्दा पनि निर्धारित कार्यविधिबाट विचलित हुने कुनै औचित्य हुँदैन ।’

प्रहरीका अनुसार गलत निर्णयका कारण १० वर्षीया हानियाको मृत्यु भएको हो भने उनका बुबा र भाइ घाइते भएका छन् ।
घटनासम्बन्धी पीडित बालिकाका बुबाको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको छ । गोली चलाउने प्रहरी अधिकारीलाई पक्राउ गरी अदालतमा पेश गरिएको र हाल हिरासतमा राखिएको प्रहरीले जनाएको छ । अस्ट्रेलियाली सञ्चारमाध्यमहरूका अनुसार उक्त परिवार पश्चिमी अस्ट्रेलियाको पर्थ सहरबाट पाकिस्तानमा आफन्त भेट्न गएको बेला घटना भएको थियो ।

प्रतिक्रिया