किस्ने अर्थात् एक भोट

sama shree copyबाँचुन्जेल मान्छेलाई परिचयको लागि
नाम मात्रै पर्याप्त हुन्छ
नामैले बोलाइन्छ नामैले चिनिन्छ
नामका अगाडि फूर्का हालिएका विशेषण
भए पनि के नभए पनि के ?
किस्ने
परिचय नभएको मान्छे होइन
बोलाउनको लागि नाम छ किस्नेसँग
चिनिनको लागि नाम छ किस्नेसँग
किस्ने अर्थात् कृष्ण ….
टोलछिमेकको आलु
जन्तीको लर्को मलामीको ताँती
किस्ने सँधै बाँडियो
किस्ने भएर
किस्ने सँधै भित्रियो
किस्ने भएर
किस्नेको पानी चोखो
किस्नेको दूध चोखो
किस्ने कहिल्यै कतै बारिएन
किस्ने कहिल्यै कहीँकतै लखेटिएन
युगौँपछि चौबाटोमा
आज किस्ने लाचार उभिएको छ
किस्नेको इतिहास खोतलिँदै छ
पुर्खाको थाँतथलो खोजिँदै छ
किस्नेसँग परिचय मागिँदै छ
परिचय दिनसके
बल्ल किस्ने गनिनेछ
एक भोट
किस्ने अर्थात् एक भोट …

प्रतिक्रिया