कविताहरू

एक आदि अन्तरा – ४

ashutosh copy

– रामगोपाल आशुतोष

डायटिङ गर्न छोडेपछि
उसले
केके केके भोगिरहेछ !!

तौलले अलि
माया बृद्धिको माग राखेको छ
बोसोले
अलि माया गर्न थालेको छ
उमेरले उसलाई
अब नढाँट भनिरहेको छ
जाडोले
जिउ एक्लो छस् र ?
भन्न थालेको छ !!

ऐनामा हेर्दै
सेल्फी हानिरहेको यो मान्छे
कति खुशी छ यद्यपि
कति अबिचलित !!

हुन त ऊसित
वेदनाका छालहरू छन्
दुस्खका अन्टार्क्िटका छन्
पीडाका अरब सागर छन्

जातीय प्रतिबन्ध छ –युगीन
सांस्कृतिक थिचोमिचो छ – यथावत
छुवाछुत र अमानवीयता छ– चुलिँदै
विभेदको सगरमाथा छ – अग्लिँदै
परतन्त्रको सप्तकोशी बोकेर
राष्ट्रियता बग्दैबग्दै बग्दै छ

कति बरखी बार्नु – संविधानको !?
कति बन्दी बन्नु – एकतन्त्रको !?

यो अभावमा
ऊ वेदना पकाउँदै छ
यो महङ्गीमा
दुःख पगाल्दै छ
पीडाको अरब सागरमा पौडिँदै
एक ब्लाकमेलरसित
एक्लै युद्ध लडिरहेछ ।

ऊजस्तै ऊसङ्गै
करोडौँ छन् चुपचाप
अभाव, दुःख, पीडाको चिसोमा
भूकम्पले ढलाएको भग्नासामा
आहतको रोटी बेल्दै
यो चिसो परिदृष्यमा
न राहतको नाना, न स्नेहको छाना

न्यानो समयको विश्वास
ताप्दै रित्तो चूल्हो
सहँदै इमोश्नल ब्लाकमेलिङ !!!

यतिखेर ऊ
नयाँ भनिएको संविधानको बर्खिलाप नचाहेर
कामना गरिरहेछ
मुस्कानको लालीले जलाओस्
– सेल्फी संविधान
कामना गरिरहेछ
समता र समावेशी इन्द्रेणीले जलाओस्
ब्लाकमेलरको कालो संविधान ।

 

 

 

असरफ खक साउदी

uddim copy

– उदिम किराती

जस्तो तिम्रो देशको माटो
तेस्तै छ तिम्रो मन मुटु
जहाँ सधै खडेरी
पलाउदैन १२ औं महिना केहि पनि
अल्लाहले हरियो रङ भर्न भुलेको
खैरो रङ
खैरो माटो
खैरो मन
खैरो मुटु

मरुभुमी
जहाँ एक अजनबि
गर्दै थियो हजारौ दुस्खको साथ
बिचारको कुटो कोदालो
हलो जुवाले
शब्दको खेती पाति
एक गास रोटी
आत्मा स्वतन्त्रताको निम्ति
प्यालेस्टयनी नागरिक

आवाज कबिको
कबिता भयो तिम्रो निम्ति
परमाणु बम

भय,,,तिम्रो देशमा
बिथोलिने भयो अल्लाह बिरोधी
भात्किने भए
हजारौं नमाजको मस्जितहरू
जो थुनिएर बसेकाछन
जबर जस्तीको तिम्रो
हजारौं बर्षे कुराने कानुनमा
नयाँ युगका
नयाँ बिचारहरू
जस्तो कि असरफ फयादहरू

बिडमबना,,,,!
तिम्रो देशमा
सुनाइन्छ राता–रात
मृत्युदण्दको सजाय
स्रीफ कबिता लेखेको निहुमा
दबाउन असरफहरू

नसोच तिमी यो
दिदैमा फाँसी असरफहरूलाई
मर्ने छन कबिताहरू
र हुने छ
तिम्रो देशमा मुस्लिमबादको शुरुवात

तर….
तिमीले दिएको हर फाँसीले
मर्न सक्लान असरफहरू
मर्ने छैन कदापी
कबिताहरू
बरु जन्मिने छन
तिम्रो हर फाँसीबाट
हजारौं असरफहरू
बोकेर धारिलो कलम
उठाएर तिमी बिरुद्धको नाराहरू
होसीयार ! होसीयार ! होसीयार !
कतै कबिताको बिस्फोटले
तिम्रो देश ध्वस्त नहोस् ।

प्रतिक्रिया