गाउँमै खानेपानी आएपछि स्थानीय दंग

khane paniमोरङ, २९ मंसिर । मोरङको विकट पहाडी रमितेखोला गाविसस्थित टाँडी माध्यमिक विद्यालयका विद्यार्थी तथा स्थानीयवासी गाउँमै खानेपानीको धारा जोडिएपछि दंग परेका छन् । धारा जोडिएसँगै उनीहरूले आधाघन्टा टाढाबाट पानी बोक्नुपर्ने बाध्यता हटेको छ ।

शुद्ध पिउनेपानीको अभावमा काकाकुल बन्नुपर्ने अवस्थामा रहेका उनीहरूलाई पानीको हाहाकारबाट मुक्ति मिलेको छ । त्यहाँस्थित टाँडी माध्यमिक विद्यालयमा अध्ययनरत ४ सय भन्दा बढी विद्यार्थी मात्र होइन नजिकै रहेको दलित बस्ती र आसपासका १ सय घरधुरीका बासिन्दासमेत गाउँमा शुद्ध खानेपानीका धाराहरू जडान भएपछि हर्षले विभोर छन् । विद्यालय र आसपासका बस्तीमा वर्षौंदेखि खानेपानीको समस्या थियो । विद्यार्थीहरू एकघन्टी पढाइ छुटाएर आधा घन्टाको दुरीमा रहेको वैकुण्ठे बजारमा गएर पानी पिउने गर्दथे । विद्यालयमा पनि सोही बजारबाट पानी बोकेर प्यास मेटाउने गरिन्थ्यो । सबै कुराको अभाव भएको सो दुर्गम गाउँमा करिब १ महिना अघि ४ वटा पानीका धारा जडान गरिएपछि स्थानीयहरू निक्कै दंग परेका हुन् ।

प्लान इन्टरनेसनल र फरवार्ड नामक संस्थाको सहयोगमा सञ्चालित बाल केन्द्रित जलवायु परिवर्तन अनुकूलन परियोजनाअन्तर्गत ६ लाख ४६ हजार ३ सय ५७ रुपैयाँ र विद्यालय र स्थानीयको १ लाख ६१ हजार ४ सय ५६ रुपैयाँ गरी जम्मा ८ लाख ७ हजार ८ सय ५३ रुपैयाँको लागतमा सो ग्रामीण भेगमा वातावरणलाई समेत सन्तुलन गर्दै खानेपानी आयोजना निर्माण भएको हो । जहाँ २४ सै घन्टा पानी उपलब्ध हुने खानेपानी आयोजनाले जनाएको छ ।

विद्यालय र आसपासमा पानी नहुँदा निकै ठूलो समस्या भएको र विद्यार्थीले पानी पिउनकै लागि आधाघन्टा टाढाको बजारमा पढाइ छोडेर पुग्नुपर्ने र प्यास मेटाउनुपर्ने बाध्यता रहेको तर १ महिनादेखि त्यो समस्याको समाधान भएकोमा आपूm निकै खुसी भएको टाँडी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी राईले बताए ।

विद्यार्थीहरू पानी पिउन गाउँतिर हिँडेपछि कतिपटक त पढाइ नै बन्द गर्नुपर्ने बाध्यता भएको र घन्टी नै छुटाउनुपरेको शिक्षक विश्व राई बताउँछन् । ‘अब गाउँमा पानी उपलब्ध भएपछि त यो समस्या पूर्णरूपमा समाधान भएको छ’ उनले भने । विद्यार्थी र शिक्षकलाई मात्र होइन आसपासका बस्तीमा समेत खानेपानीको अभाव उत्तिकै थियो । दैनिक कामकाज छोडेर पानी लिन गाग्रो बोकेर जानुपर्ने बाध्यता अब भने हट्ने विद्यार्थी तथा रमिते बाल क्लबकी अध्यक्ष शसिता राईले बताईन । उनले भनिन्, ‘अब समयको पनि बचत हुन्छ, गाउँमा पानी भएपछि जतिबेला भन्यो त्यतिबेला प्रयोग गर्न सकिनेभो ।’

यसरी विद्यालय र गाउँमा खानेपानीको सुविधा भएपछि गाउँमा एकखालको खुसियाली नै छाएको स्थानीयहरू बताउँछन् । खानेपानीको अभावमा काकाकुल बन्न बाध्य त्यस क्षेत्रका बासिन्दाका लागि सो योजना अहिले वरदान नै सावित भएको उनीहरूको भनाइ छ । ‘कति धेरै काम छाडेर पानीका लागि २ घन्टासम्म समय खर्च गर्नुपर्ने बाध्यता अब हट्यो । हामी ढुक्क छौँ,’ विव्यस अध्यक्ष भवानी राईले बताए ।

प्रतिक्रिया