क्रिकेटमा मलेसियालाई हराउँदै नेपाल फाइनल नजिक

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट टी–२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि नेपाल फाइनल नजिक पुगेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आशिफ शेखको अर्धशतक प्रेरित नेपाल लगातार दुई खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल नजिक रहेको हो ।

मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३ ओभर चार बलमा चार विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्र सिंह ऐरीले २१ रन बनाए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११४ रनको योगफल खडा गर्‍यो । मलेसियाका जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाए । यसबाहेक, कप्तान अहमेद फैजले २४, मुहम्मद अमिर १६, सेद अजिजले १४ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए । यस्तै, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई १५ रनले हराएको थियो । यस्तै, मलेसियाले पनि पिएनजीमाथि आठ रनको जित दर्ता गराएको थियो । अब नेपालले भोलि पीएनजीसँग तेस्रो खेल खेल्नेछ ।

प्रतिक्रिया