कोरोनासँगै बढेको प्रविधि विस्तार

सुवास गोतामे

काठमाडौं । कोरोना महामारीसँगै प्रविधिको प्रयोग बढेको छ । विशेषगरी व्यापार तथा वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग अत्यधिक बढेको छ । वित्तीय प्रविधिको विकाससँगै बैंकिङ तथा वित्तीय क्षेत्रमा नयाँ आयाम थपिएको छ । पुरातन वित्तीय साधनहरू विस्तारै विस्थापित हुँदै गएका छन् । विद्यालय तथा क्याम्पस, ठूला व्यापारिक महलदेखि साना खुद्रा व्यापारमासमेत मोबाइल एपमा इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (ईपे), खल्ती, ई–सेवा, आइएमइ–पे लगातका एप्लिकेसन डाउनलोड गरेर सेवाग्राहीले सुविधा लिइरहेका छन् । विशेषगरी कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा त झन् यी एपको धेरै प्रयोग भए ।

नेपाल टेलिकमले मात्रै विगत ६ महिनायता झन्डै चार अर्ब खुद नाफा आर्जन ग¥यो । गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधि (पुस मसान्त) सम्मको खुद मुनाफा भन्दा १८ दशमलव४९ प्रतिशत अर्थात ६० करोड ८४ लाख ८१ हजार बढी हो । अनलाइन व्यवसाय, अनलाइन कक्षा, सामाजिक सञ्जाल, इन्टनेटमा आधारित मनोरञ्जन आदिमा भएको वृद्धिले गत वर्षको तुलनामा भ्वाइस सेवा, डेटा सेवा, एसएमएस सेवा र अन्य भ्यालु एडेड सर्भिसका कारण वित्तीय अवस्थामा सुधार भएको टेलिकमले जनाएको छ ।

प्रविधिको विकासले बचत, लगानी, भुक्तानी वा अत्यावश्यक परेको बखत प्रयोग गर्न नयाँ वित्तीय प्रविधिहरूले सहजता प्रदान गर्ने गरेका छन् । त्यस्तै भुक्तानी र एक ठाउँबाट अर्को ठाउँमा प्रवाह गर्दा लाग्ने शुल्कलाई घटाइरहेको छ ।
नेपालमा पनि कोरोना कहरसँगै संक्रमणको डरले बैंकका नोटहरू चलाउने प्रचलन घटेको छ । सामान किनबेच, पैसा ओसारपसार, एक व्यक्तिबाट अर्कोमा सार्ने काम गर्नका लागि मोबाइल एप, मोबाइल कम्पनीहरू प्रयोगमा आए । विद्युत्, पानीको महसुल तिर्नेदेखि लिएर सेयर कारोबारसम्म मोबाइलबाटै हुन थाले । यतिसम्मकी अनलाइन व्यापारसमेत फस्टायो । कोरोना कहरका बखत गरिखाने वर्ग र वित्तीय पहुँचबाट टाढा रहेका वर्गले ठूलो सास्ती खेपे । ट्राफिक जरिवाना, राहदानी, पुलिस रिर्पोट, नापी नक्सा लगायतमा व्यक्ति स्वयं उपस्थित भएर राजस्व तिर्नुपर्ने भए पनि मोबाइल एपमार्फत सम्भव भएकाले अनलाइनमार्फत नै काम गरे । यसले नगदनमा कारोबार हुने संस्थाहरू अनलाइन पेमेन्टबाटै पनि सञ्चालन भए ।

नेपालमा प्रथम चरणको लकडाउनका ताका ठूला व्यापारीलाई लक्षित कार्यक्रम ल्याइए पनि निम्न वर्ग र मजदुरहरूको वित्तीय समस्याको समाधान खोजिएन । यसरी आवश्यक परेको बखत सम्बन्धित निकायले उचित समाधान दिन नसक्नु वा पहल नगर्ने प्रवृत्तिका कारण अप्रत्यक्ष रूपमा अनौपचारिक कारोबारलाई मलजल गरिरहेको देखिन्छ । सूचना प्रविधिको पहुँच राजधानी केन्द्रित हुँदा उपत्यकाका शैक्षिक संस्थामा अनलाइन कक्षा प्रभावकारी बन्यो । तर, मोफसलमा इन्टरनेटको पहुँच नहुँदा अनलाइन कक्षबाट धेरै विद्यार्थी पढनपाठनको पहुँचबाहिर हुन पुगे । सरकारले कोरोना संक्रमणको विस्तारलाई गे्रडिङ नगर्दा भौतिक रूपमा विद्यालयमा विद्यार्थी उपस्थित भएर पढ्न सक्ने जिल्लाका विद्यार्थीहरू पठनपाठनबाट वञ्चित हुन पुगेका हुन् ।

बलियो नियमनको खाँचो
सूचना प्रविधिले व्यक्तिगत जीवनदेखि देशको सुरक्षाका विषयहरू समेतमा प्रभाव र असर पार्ने भएकाले बलियो नियमन हुन सकेन भने ठूला दुर्घटना नहोला भन्न सकिन्न । डाटा सुरक्षादेखि नेपाल भित्रिने वा प्रयोगमा आउने हार्डवेयरदेखि सफ्टवेयरसम्मको गुणस्तरमा समेत ध्यान दिनु जरुरी छ । सरकारले भन्दा निजी क्षेत्रले बढी सेवा प्रवाह गर्ने हुँदा मूल्य तथा गुणस्तरमा बलियो नियमन हुनुपर्छ । त्यसमा पनि उपभोक्ता बलियो हुनेगरी नियमनको जरुरी छ । यसका लागि सशक्त कानुनी व्यवस्था आवश्यक छ ।

मोबाइल र ल्यापटप बिक्री बढ्यो
कोरोना संक्रमण बढिरहेका बेला सरकारले लकडाउन घोषणा गरेसँगै विद्यालय, कलेज, बैंकिङ क्षेत्रलगायत वित्तीय क्षेत्र र व्यापारिक केन्द्रका काम अनलाइनमार्फत नै हुन पुगे । विद्यार्थीलाई अनलाइन कक्षा अनिवार्य गर्न थालियो । बैंक तथा वित्तीय क्षेत्रको काम पनि आलोपालो सिस्टममा घरबाटै सञ्चालन गर्न हुन थाले । यसकारणले धेरै मात्रामा मोबाइल र ल्यापटपको बिक्री भएको हो । त्यससँगै इन्टरनेटको व्यापार पनि उकालो ग्राफ चढ्यो । घरघरमा विद्यार्थीलाई विद्यालय एवं कलेजले अनिवार्य अनलाइन कक्षा पढ्नुपर्ने बाध्य गराएपछि अभिभावकले पनि ऋण गरेर भए पनि आफ्ना बालबालिकालाई मोबाइल खरिद गरे । एकातर्फ विद्यार्थीको पठनपाठन रोकिएन तर अर्कोतर्फ गरिब अभिभावकका लागि यो व्यवस्था गलपासो बन्यो ।

पितृकार्यसमेत इन्टरनेटबाटै
पुरोहितलाई घरमा बोलाएर गरिने कर्मकाण्ड कोरोना भाइरसको महामारीमा भर्चुअल माध्यमबाट धेरै कर्मकाण्ड गरेका उदाहरण छन् । मोबाइल र इन्टरनेटको माध्यमबाट घरमै बसेर पितृकार्य गराउने मध्येका एक हुन्, रुपन्देहीका पण्डित कृष्णप्रसाद पोखरेल । उनले घरमै बसेर इन्टरनेटमार्फत फेसबुक म्यासेन्जरबाट कल गरेर श्राद्ध गराए । धर्मसंस्कृति बचाउने र पितृको उद्दारको नाममा पोखरेलले गराएको पितृकार्यको चर्चा अन्तर्राष्ट्रिय स्तरमासमेत प्रख्यात बन्यो । दुई घण्टामा सिद्धिने श्राद्ध इन्टरनेटमार्फत गराउँदा चार घण्टा लागेको पोखरेलको भनाइ छ । पोखरेलले यो कर्मलाई बिबिसी नेपालले समेत कभर गरेको थियो ।

मोबाइलसँगै भित्रिएको विकृति
एकातिर सर्वसाधारण प्रविधिसँग रमाए । अभ्यस्त भए । यी सकारात्मक पाटो हुन् । यो सँगै लामो समय मोबाइल र ल्यापटप हातमा पर्दा विद्यार्थीहरूले गुमाएका नैतिक चेतनाका विषय पनि प्रहरीमा उजुरी पुगेका उदाहरण छन् । नेपाल प्रहरीको साइबर ब्युरोमा सामाजिक सञ्जालको दुरुपयोगबारे थुप्रै उजुरी पुगेका छन् । खासगरी लामो समयमा मोबाइल र ल्यापटपमा बस्दा केही विद्यार्थीहरूबीच हुने गरेका यौन संवाद र त्यसले ल्याएका नकारात्मक पाटोका सम्बन्धमा प्रहरी अहिलेसम्म पनि अनुसन्धानमा छन् ।

ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालका अनुसार बाल यौन दुव्र्यवहार र युवायुवतीबीच हुने यौन दुव्र्यवहारका घटना प्रहरीमा दर्ता भएका छन् । उनका अनुसार कतिपयले कानुन जानकार नभएर त्यस्ता हतकण्डा अपनाएको देखिन्छ । ब्युरोले संभव भएसम्म सम्झाइबुझाइ गरेर छाडे पनि केहीलाई भने मुद्दासम्म चलाएको एसएसपी अर्याल बताउँछन् ।

साइबर सुरक्षा
सूचना पविधिमा आधारित सेवा तथा क्रियाकलापहरू बढ्नुको अर्थ सुरक्षा चुनौती पनि थपिएको बुझ्नुपर्छ । साइबर हमला, डाटा चोरी, संवेदनशील तथ्यांकमा पहुँच बनाई गरिने कार्यका कारण सूचना प्रविधिमा आधारित हाम्रा संरचनाहरू, प्रभावित हुनसक्ने सम्भावना प्रसस्त छन् । यसका लागि सरकारले बलियो राष्ट्रिय सुरक्षा नीति तथा संरचना बनाउनु आवश्यक देखिन्छ । सरकारले साइबर सुरक्षा र रिसर्च ल्याबहरू स्थापना गर्नुपर्ने हुन्छ । हालै सरकराले सुरु गरेको राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रलाई बलियो बनाउनुपर्ने आवश्यक देखिन्छ ।
….

दीपक मल्होत्रा
अध्यक्ष, आइएमएस ग्रुप

एक वर्षको व्यापार घाटा कोरोनाले उठायो : दीपक मल्होत्रा
कोरोनाको पहिलो लहर अघिको एक वर्ष हामी धेरै व्यापार घाटामा थियौँ । तर, जब कोरोना लहर सुरु भयो व्यापार एकाएक बढ्यो । विगत वर्षको घाटा त्यसले कभर गर्यो । सामसुङका मोबाइल, ल्यापटप लगायतका हाम्रा उत्पादन राम्रै बिक्री भयो । त्यसताका हामीले पाँचदेखि सात अर्ब रुपैयाँको कारोबार ग¥यौँ । त्यो हाम्रालागि धेरै ठूलो उपलब्धि भयो । कतिपय अवस्थामा बजार नै थेग्न नसक्ने गरी मोबाइलको माग हुन थाल्यो । अहिले मोबाइलमा लाग्ने चिप्सका कारण फेरी व्यापार ओरालो लाग्दै छ । कतिपय चिप्स बनाउने कम्पनीहरू बन्द भए । तैपनि हामीले बजारको माग र आपूर्तिलाई थेगिरहेका छौँ । समग्रमा भन्दा कोरोनाकालमा हामीले राम्रै आम्दानी गरेको बुझ्दा हुन्छ ।

प्रतिक्रिया