लचिलो मौद्रीक नीति : नीतिगतदर घट्यो, कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२–८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार बिहान सञ्चालक समिति (बोर्ड) बैठकले पारित गरेको मौद्रिक नीति गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेका हुन ।

अघिल्ला वर्षहरूमा प्रायः साउन पहिलो सातादेखि मौद्रिक नीति आउने गरेकोमा यस वर्ष नयाँ गभर्नर पौडेलले आफ्नो पहिलो नीति असारभित्रै ल्याएका हुन् । गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन्। गत जेठ ७ गते उनले १८औँ गभर्नरको रुपमा कार्यकाल थालेका थिए।

वित्त नीति (बजेट) साउन १ देखि कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीतिलाई पनि सोही मितिदेखि कार्यान्वयनमा ल्याउन खोजिएको हो । गभर्नर पौडलले आफ्नो पहिलो मौद्रिक नीति मार्फत स्थायी तरलता दर अर्थात् बैंकदर ०.५ प्रतिशत बिन्दुले घटाइ ६ प्रतिशतमा झारेको छ । त्यसैगरी नीतिगत दर ५ प्रतिशतबाट घटाइ ४.५ प्रतिशत बनाइएको छ । साथै, केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन दर पनि ३ प्रतिशतबाट घटाइ २.७५ प्रतिशत बनाइएको छ ।

त्यसैगरी आगामी आवको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि १२ प्रतिशत प्रक्षेपण गरेको छ । सरकारले आगामी आवको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ भने मूल्यवृद्धि ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया