काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएको छ । शुक्रबार केन्द्रीय बैंकका गर्भनर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाले व्यक्तिलाई दिने सेयर धितो कर्जा वृद्धि गरी २५ करोड रुपैयाँ पुराइएको घोषणा गरेका हुन् ।
लगानीकर्ताले सेयर धितो कर्जाको सीमा बढाउन दबाब दिँदै आएका थिए । यस अघि सेयर धितो कर्जा १५ करोडको सीमा रहेकोमा नयाँ व्यवस्थाले १० करोड रुपैयाँ थपेको हो ।
यसअनुसार अब सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा एक व्यक्तिले अधिकतम २५ करोड रुपैयाँसम्म पाउने भएका छन् । यससँगै, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ रहेकोमा यस वर्षको मौद्रिक नीतिमा भने केहि पनि खुलाइएको छैन ।
धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, त्यहीं रकमको ७० प्रतिशत बैंकहरुले सेयर धितोमा कर्जा दिँदै आएका छन् । यस्तो कर्जा जेठ मसान्तसम्म १ खर्ब २८ अर्ब प्रवाह भएको छ ।
प्रतिक्रिया