प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा राख्ने सर्तमा बालेनले बोलाए कार्यपालिका बैठक

आजै नीति तथा कार्यक्रम र बजेट टुंग्याएर आइतबारका लागि नगरसभा डाक्ने तयारी

काठमाडौँ । लामो समयदेखि बजेट प्रक्रियामा देखिएको गतिरोध अन्त्य गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कार्यपालिका बैठक बोलाएका छन् । कार्यपालिका बैठक आज (शुक्रबार) दिउँसो २ बजेका लागि बोलाइएको छ । गत पुसदेखि कार्यपालिका बैठक राख्न नसकेका बालेनले यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबिनै ४ असारमा अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाएका थिए । तर, मेयरले बोलाएको बैठक कार्यपालिका सदस्यहरूले नै अस्वीकार गरेपछि बालेन आफैँ पछि हटेका थिए ।


यस पटक पनि गुरागाईंबिनै कार्यपालिका बैठक बस्ने तयारी गरिएको छ । स्रोतका अनुसार वडाध्यक्षहरूले प्रमुख प्रशाकीय अधिकृत गुरागाईंलाई शुक्रबारका लागि बिदा बसिदिन आग्रह गरेका छन् । तर, गुरागाईं भने बिदामा बस्छन् वा कार्यपालिकामा सहभागी हुन्छन् भन्नेबारे खुलिसकेको छैन । बजेट ल्याउने प्रक्रियामा सघाउन गुरागाईं स्वयं बैठकमा अनुपस्थित भएर सहयोग गर्ने पक्षमा छन् ।

‘अहिले माहोल बनिरहेको समयमा मेरो उपस्थिति हुन्छ/हुँदैन भनेर बहस नगरौँ । बैठकमा उपस्थित हुने/नहुने शुक्रबार नै तय हुन्छ,’ गुरागाईंले भने । कार्यपालिका सदस्यहरूलाई पनि गुरागाईंको उपस्थितिबारे जानकारी गराइएको छैन ।

‘शुक्रबार ११ बजे कार्यपालिका बैठक छ, आउनु भनेर सचिवालयबाट फोन आएको थियो । बैठकमा हाकिम सा’बको उपस्थिति हुन्छ/हुँदैन, जानकारीमा छैन,’ कार्यपालिका सदस्य मैयालक्ष्मी महर्जनले भनिन् । तर, मेयर बालेनले गुरागाईंबिना मात्र कार्यपालिका बोलाउने अड्को थाप्दै आएपछि निकै रस्साकस्सीपछि कांग्रेस र एमालेका वडाध्यक्षहरू बजेटका लागि भए पनि बालेनको ढिपी स्वीकार्न बाध्य भएको महानगर स्रोत बताउँछ । वडाध्यहरूले पनि बजेट ल्याउनकै लागि भए पनि गुरागाईंलाई बिदा लिइदिन आग्रह गरेका हुन् ।

बिहीबार दिउँसो उपमेयर सुनिता डंगोलको संयोजकत्वमा राजस्व परामर्श समितिको बैठक बसेको थियो । उक्त बैठकमा भने प्रमुख प्रशासकीय अधिकृत गुरागाईं उपस्थित थिए । तर, उनी पारिवारिक कार्यक्रममा सहभागी हुन भन्दै बैठकलगत्तै हिँडेका थिए । गुरागाईं चाँडै घरतिर लागेपछि उनी बिदा बस्ने/नबस्नेबारे महानगरका अन्य कर्मचारीहरू पनि अन्योलमै छन् ।

‘बजेटका लागि हाकिम सा’ब सहयोग गर्न तयार हुनुहुन्छ । ४ गते पनि तयार नै हुनुहुन्थ्यो, तर जनप्रतिनिधिबीच कुरा नमिल्दा बैठक बस्न सकेन । सायद भोलि बिदा बसेर सहयोग गरिदिनुहुन्छ होला,’ महानगरका एक कर्मचारीले भने ।

कार्यपालिका बैठक आजका लागि आह्वान भए पनि उपमेयर डंगोलको संयोजकत्वमा बिहीबार नै राजस्व परामर्श समितिको बैठक बसेकाले बजेट निर्माणको प्रक्रिया सुरु भइसकेको छ । राजस्व परामर्श समितिको बैठक बसेपछि मात्र बालेन संयोजक रहेको बजेट अनुमान तथा स्रोत समितिको बैठक बस्न बाटो खुल्छ । सोहीअनुसार आज कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ भने त्यसपछि उपमेयर नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

यी दुवै प्रक्रिया पूरा भएपछि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटलाई नगरसभामा पेस गर्ने निर्णय गर्न कार्यपालिका बैठक बस्नेछ । स्रोतका अनुसार आजै अइतबारका लागि नगरसभाको मिति पनि तोकिनेछ । काठमाडौँ महानगरले यस पटक करिब २८ अर्ब बराबर बजेट ल्याउने तयारी गरेको छ ।

देशका ६ महानगरमध्ये ५ वटा महानगरले १० असारभित्रै आगामी आर्थिक वर्षका लागि बजेट ल्याइसके पनि सबैभन्दा बढी बजेट भएको काठमाडौँ महानगरले भने बल्ल बजेट निर्माणको प्रक्रिया सुरु गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ मा १० असारभित्र स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने र असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया