कांग्रेसमा संस्थापनइतर नेताहरूमाथि कारबाहीको डन्डा !

महाधिवेशन नजिकिँदै जाँदा पेचिलो बन्दै गुटगत राजनीति

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका १८ जना नेता÷कार्यकर्तालाई कारबाहीको डन्डा चलाएसँगै पार्टीभित्रको गुटगत राजनीति थप पेचिलो बनेको छ । समितिले गत स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेताहरूलाई निष्कासन तथा निलम्बन गरेको छ ।

संस्थापन इतर पक्षलाई छानीछानी कारबाही गरिएको भन्दै डा. शेखर कोइराला पक्षधर नेताहरू विरोधमा उत्रिएका छन् । बिहीबार संस्थापनइतर पक्षका नेताहरूको बैठकले कारबाही पूर्वाग्रहप्रेरित रहेको भन्दै अस्वीकार गर्ने निष्कर्ष निकालेको छ । पार्टी विधानअनुसार ६ महिनाभित्र कारबाहीको प्रक्रिया टुंग्याउनुपर्ने व्यवस्थाविपरीत उजुरी परेको करिब ३ वर्षपछि कारबाही गरिनु विधानविपरित भएको उनीहरूको ठहर छ । कारबाहीको विरुद्धमा वैधानिक र राजनीतिक लडाइँ सुरु गर्ने उद्घोष गरेका कारण कांग्रेसको गुटगत राजनीति थप पेचिलो बन्ने संकेत देखिएको छ ।

अनुशासन समितिले ५ जना नेताहरूलाई १ वर्षका लागि पार्टी सदस्यबाट निष्कासन गरेको छ भने १ जनालाई ६ महिनाका लागि निष्कासन गरेको छ । त्यसैगरी ११ जनालाई ६ महिनाका लागि निलम्बन गरिएको छ भने १ जनालाई ३ महिनाका लागि निलम्बन गरिएको छ । डा. कोइरालाले समितिले आफ्नो समूहका नेताहरूलाई छानीछानी कारबाही गरिएको भन्दै निर्णयको प्रतिरोध गर्ने बताए । कारबाहीमा पर्नेहरूमाथि अन्याय भएको भन्दै उनीहरूको न्यायका निम्ति आफू लड्ने उनले बताए । ‘कारबाही वैधानिक छैन । हाम्रा साथीहरूलाई छानीछानी कारबाही गरिएको छ । अन्याय भएका साथीहरूको साथमा म छु । हामी राजनीतिक र वैधानिक रूपमा लडाइँ लड्छौँ,’ उनको भनाइ थियो ।


नेता अर्जुननरसिंह केसीले कुनै गिरोहको स्वार्थपूर्तिका लागि कारबाही गरिएको बताए । उनले पार्टीको अनुशासनको कारबाहीभन्दा पनि स्वार्थ समूहको कारबाहीका रूपमा देखापरेको टिप्पणी गरे । नेता गुरु घिमिरेले संस्थापतइतर पक्षलाई पाखा लगाउने उद्देश्यले अभिप्रेरित भएर कारबाही गरिएको उल्लेख गरे ।

महाधिवेशन केन्द्रित महासंग्रामको सुरुआत

यस कारबाही प्रकरणसँगै महाधिवेशन केन्द्रित महासंग्रामको सुरुआत भएको छ । कांग्रेसभित्र पार्टीबाटै निष्कासन गर्ने तहसम्मको कारबाही हत्तपत्त हुने गरेको छैन । तर, अहिले भएको कारबाही भने आगामी महाधिवेशन र आमनिर्वाचनलाई प्रभावित पार्ने गरी भएको बुझाइ इतर पक्षको छ । ३ वर्षअघि भएको निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्ने नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारलाई मतदान नगर्ने नेता, कार्यकर्ताहरूलाई पनि कारबाही गरिएको छ । यसरी आगामी निर्वाचनमा पनि पार्टी गठबन्धन गरेर जान सक्ने र पार्टी निर्णय नमान्ने कार्यकर्तामाथि कारबाहीको डन्डा बर्सिन्छ भनेर तर्साउन खोजेको देखिएको छ ।

कांग्रेसमा परेका करिब २ हजार १०० भन्दा बढी उजुरीमध्ये १८ जनाविरुद्ध कडा कारबाही चालिनु, त्यो पनि संस्थापनइतर पक्षमात्रै पर्नु संयोगमात्रै नभई इतर पक्षलाई कमजोर पार्ने रणनीति रहेको बुझाइ कतिपय नेताहरूको छ । कांग्रेस केन्द्रीय सदस्य राजेन्द्र बजगाईँले आगामी २०८४ को निर्वाचनमा गठबन्धन गर्ने आधारका रूपमा अहिले कारबाही गरिएको दाबी गरे ।

२ सदस्यको नोट अफ डिसेन्ट, कारबाहीमा परेकाहरू पुनरवलोकनमा जाने


५ सदस्यीय अनुशासन समितिका २ सदस्य सञ्जय गौतम र राजीव कोइरालाले कारबाही गर्ने निर्णयमा नोट अफ डिसेन्ट लेखेका छन् । उनीहरूले निष्कासन नै गर्ने तहको कारबाही गर्नुपर्ने अवस्था नरहेको भन्दै सचेत गराउने अवस्था रहँदारहँदै निष्कासन र निलम्बन गर्नुले पार्टीमा झन् ठुलो समस्या आउने उल्लेख गरेका छन् ।

गौतमले कारबाहीमा परेकाहरूले केन्द्रीय समितिमा पुनरावेदन गर्ने बताए । उनले केन्द्रीय समितिले अनुमोदन नगरेसम्म कारबाही मान्य नहुने भन्दै आफूहरू राजनीतिक रूपमा अघि बढ्ने उल्लेख गरे । कारबाहीमा परेका खोटाङ जिल्लाका निवर्तमान कांग्रेस सभापति विष्णुकुमार राईले आफूहरूमाथिको कारबाही पूर्वाग्रह र आग्रहबाट निर्देशित भएको बताए । संस्थापन इतर पक्षले पुनः अर्को भेला बोलाएर आन्दोलनको मोडालिटी बनाउने तयारी गरेको छ । यता, अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले तथ्य र प्रमाणका आधारमा वैधानिक रूपमा कारबाही गरिएको बताए । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि संस्थापन र संस्थापनइतर भनेर विभेद नगरी कारबाही भएको विश्वास व्यक्त गरे ।

०००००

हाम्रो पक्षका नेताहरूलाई छानीछानी कारबाही गरिएको छ । महाधिवेशन प्रभावित पार्ने उद्देश्य देखिन्छ । साथीहरूलाई अन्याय हुन दिइन्न । राजनीतिक, वैधानिक रूपमा हामी लड्छौँ । – डा. शेखर कोइराला, नेता

ममाथिको कारबाही पूर्वाग्रहबाट निर्देशित छ । निर्वाचनमा स्थानीय भावनाको सम्बोधन गरेका थियौँ । कारबाहीको डन्डाले हामीलाई निष्कासन गर्दा हामी अझ आफ्नो विचारमा सुदृढ भएका छौँ । अब हामी अनुशासनको सम्बन्धमा वैचारिक बहस चलाउँछौ । – विष्णु कुमार राई, निवर्तमान सभापति, खोटाङ

सबै प्रमाण हेरेर बदमासी गर्नेहरूलाई विधानअनुसार नै कारबाही गरेका हौँ । अवैधानिक लाग्नेहरूले निवेदन लिएर जहाँ जानुपर्ने हो, गए हुन्छ । धेरै ठुलो अपराध गर्नेलाई मात्र पार्टीबाट निष्कासन गरिएको हो । – आनन्द प्रसाद ढुंगाना, संयोजक, केन्द्रीय अनुशासन समिति

अनुशासन समितिमा सबै खालका साथीहरू हुनुहुन्छ । कारबाही यो पक्ष, त्यो पक्ष भनेर गर्ने होइन, तथ्य र प्रमाणका आधारमा गर्ने हो । कारबाही पूर्वाग्रहप्रेरित छ जस्तो लाग्दैन । चित्त नबुझ्ने साथीहरूलाई पुनरावेदन गर्ने अधिकार छ । – डा. प्रकाशशरण महत, प्रवक्ता

प्रतिक्रिया