भारतको नाकाबन्दी र सीमा क्षेत्रमा मधेसी मोर्चाको धर्नाका कारण यतिबेला मुलुक निस्सासिएको छ । नेपालीहरूको चाडबाडका बेला बजारमा दैनिक उपभोग्य वस्तु मात्र नभएर औषधिको पनि अभाव देखिएको छ । देशभर यातायात छिटफुट मात्र चलेका छन् । सबैभन्दा टड्कारो आवश्यकता इन्धनको भएको छ । सामान्य अवस्थामा कुरै ननिस्कने ‘आत्मनिर्भर’ यतिखेर नेताका भाषणदेखि राजधानीका तारे होटल र पार्टी प्यालेसहरूमा जोडतोडका साथ सुनिन थालिएको छ । घरमा खाना पकाउने ग्यास छैन, बजारमा सबै वस्तुका भाउ अकासिएको छ । मैथिलीमा एउटा उखान छ, ‘भोज के बेर में कुम्हर रोपाई’ अर्थात भोज खाने बेला तरकारी रोपाँईको के काम ? आत्म निर्भरताका कुरा कर्णप्रिय भए पनि जतिबेला अभाव हुन्छ त्यतिबेला उठ्नु र उठाइनुको पनि सोही उखानजस्तो भएको छ । ‘जति डोरी बाटे पनि गाँठो एउटै’ भने झैं जति आन्दोलन चर्काए र जति आत्म निर्भरताको कुरा गरेर भारतलाई गाली गरे पनि वार्ताबाटै समस्याको समाधान हुने हो । तत्कालीन माओवादीले १० वर्ष सशस्त्र विद्रोह ग¥यो हजारौं नागरिक मारिए आखिरमा वार्ताद्वारा नै निकास निस्क्यो । मधेसी मोर्चाले जति आन्दोलन गरे पनि आखिरमा वार्ता र संवादबाटै निकास निस्कने हो । भारत सँगको हकमा पनि हुने त्यही हो । अहिलेसम्मको गतिविधिलाई हेर्दा सरकार र आन्दोलनरत् मधेसी मोर्चा तथा नेपाल–भारतकाबीच वार्ताको कुरा भाषणमै सिमित देखिएका छन् ।
हुन त भारतको साथ र सहयोगले आन्दोलनकारी हौसिएका छन् । आन्दोलनकारीले हठ नछाड्दा भारत गलेको छैन । सरकार पर्ख र हेरको स्थितिमा छ । सरकारलाई लागेको हुनसक्छ–भारत र मधेसी मोर्चाको यो तालमेल धेरै टिक्दैन । मधेसी मोर्चा र भारतलाई लागेको हुनसक्छ – सरकारले यो अभाव र कष्ट धेरै दिन टिकाउन सक्दैन । यी एकअर्कालाई गलाउने र आफ्नो स्वार्थ सिद्ध गर्ने खेलले जनतालाई खानाको त कुरै छाडौं औषधि पनि नपाएर मर्नु पर्ने अवस्थामा पु¥याई नै सकेको छ । यी तीनै थरीले हठको तीनै थरीलाई घाटा भएको अनदेखा गरिरहेका छन् । आन्दोलन जति लामो समयसम्म चल्छ त्यसको गति उस्तै हुँदैन । यो मधेसी मोर्चाको आन्दोलन पनि त्यस्तो हुँदै गएको छ । आन्दोलनकारीबाटै नेताहरूमाथि हातपात भएका समाचार आउन थालेका छन् । मधेसकै जनता आन्दोलनबाट आजित भएका छन् र छिटो निकास निकाल्न नेतालाई दवाव बढाइरहेका छन् । तर, त्यसका नेताहरू भारतको इशाराबिना वार्ता गरेर निकास निकाल्ने साहस गरिरहेका छैनन् । सरकार र प्रमुख दल पनि भारत सकारात्मक नभई मोर्चासँगको वार्ताको अर्थ नदेखेर होला उनीहरूसँग वारपारको वार्ता गर्न ढिला गरिरहेका छन् । तर, समय र परिस्थितिले विस्तारै कोल्टे फेर्दै गएको आभास हुन थालेको छ ।
लामो भारतीय इशारामा तन्काइएको आन्दोलनका कारण अधिकांश नेपालीबाट मोर्चाका नेता घृणाका पात्र बन्दै गएका छन् । आन्दोलन सकिएर जनजीवन सामान्य अवस्थामा फर्किए पनि नेपाली जनतामा मधेसी मोर्चाका नेताप्रतिको यो नकारात्मक भावना लामो समय रहिरहने निश्चित छ । भोली पनि नेपालमै रहेर नेपालीकै भोटको आकांक्षी हुनु पर्दा मात्र उनीहरूले यसको मापन गर्नेछन् । संसारमा मानव सभ्यताको बिकासले धेरै फड्को मारिसकेको कुरा भारतले नजरअन्दाज ग¥यो । नेपाललाई हेर्ने उसको पुरानो चस्माको म्याद गुज्रेको चेत नआँउँदा भारतले त अहिले नै धेरै घाटा व्यहारिसकेको छ । नेपालले उत्तरतर्फ हेर्नु पर्ने बाध्येतामा पु¥याउँदा उसको एकलौटी वजार अब नरहने निश्चित भइ नै सकेको छ । भारतमै विपक्षीले नेपालकै विषय उठाएर तारो बनाइरहेका छन् भने आफ्नै पार्टीबाट पनि मोदीको नेपाल नीतिको खुलेर विरोध सुरु भइसकेको छ । नेपालमा सरकारका विपक्षी पनि यही विषय उठाएर प्रहार गर्ने तयारी गरिरहेको बुझिएको छ । विस्तारै राजधानीका सडकमा पनि सरकारलाई दवावस्वरुप शान्तिपूर्ण नै रही प्लेकार्डहरू देखिन थालेका छन् । त्यसैले तीनै पक्षले आ–आफैंले टेकेको धरातललाई समयमै मनन् गरेर समयमै मुलुकलाई निकास दिनु बुद्धिमानी ठहर्नेछ । ‘मेरो गोरुको बाह्रै टक्का’ गर्दा कसैको भलो नहुने निश्चित छ ।
प्रतिक्रिया