विज्ञले शासन चलाऊन्

संविधानसभा संसद्मा परिणत भएपछि संसद्को पहिलो बैठक शुक्रबार बस्दै छ । अनपेक्षित घटनाक्रम भएन भने सुशील कोइरालाले प्रधानमन्त्री पदबाट केही दिनपछि नै राजीनामा दिनेछन् । सबै मन्त्री स्वतः पदमुक्त हुनेछन् । तर, संसद् बस्ने १ दिन अघि नै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले राजीनामा दिएका छन् । सामान्य रूपमा हेर्दा पदावधि सकिन केही दिनअघिको मात्र राजीनामा भए पनि यो राजीनामाको अर्थ नेपाली खेलकुदमा लामो समय रहनेछ । पदमा आसीन रहेदेखि विभिन्न विषयमा विवादित पौडेल नीतिका कुरा गर्ने तर, नीतिगत सवालमा चुक्दै जाने मन्त्रीको रूपमा परिचित रहे । अन्ततः खेलकुदमन्त्री अख्तियारको आँखामा पनि परे । १ वर्षअघि इन्चोन एसियाडको सन्दर्भमा गरिएको निर्णय र त्यसको ९ महिनापछि सदस्यसचिव नियुक्तीको समयमा गरिएको निर्णय बाझिएपछि उनी अन्तिमपटक विवादमा परेका हुन् ।

नेपाली खेलकुदमा एउटा ठूलो समस्या छ । खेल, कला, संस्कृति, विज्ञान र प्रविधिको अध्ययन गर्ने र बुझ्ने समयमा पार्टीको झन्डामै जीवन बिताउने र आफ्नो त्यो कमजोरीलाई स्वीकार गर्न नसक्नेहरू मुलुकका शासक छन् । तीनै शासकका कारण यत्रतत्र समस्या देखिएका हुन् । यति मात्र होइन, विधागत क्षेत्रमा जानकारभन्दा पनि झन्डा मुनि बिताएको समयको मात्र गणना गर्ने अर्को कुपरम्परा नेपाली समाजमा देखिँदै आएको हो । आफ्नो कमजोरीको जानकारी नराख्ने, सम्बन्धित विषयका विज्ञहरूको अवमूल्यन गर्ने र पदीय दम्भको आडमा शासक मात्र बन्ने मनोवृत्ति नेपालका राजनीतिकर्मीमा बढ्दै गएको छ । त्यसको पटाक्षेपमा नेपाली खेलकुद वर्षौदेखि रहँदै आएको छ । सामान्य नेपालीले खेलिदिएर खेल चल्ने । निर्णय गर्न अभिजात वर्ग नै चाहिने अर्को समस्या वर्षौदेखि देखिँदै आएको हो । वर्गीय मुद्दा उठाउँदै जीवन बिताउनेहरूले खेलकुदको नेतृत्व गर्दा पनि यो समस्या ज्यूँको त्यूँ रह्यो । जुन, सबैभन्दा विडम्बनाको विषय पनि होे । नेपाली खेलकुदमा यो वर्षौदेखिको समस्या थियो ।

फरक यत्ति हो, पौडेल कार्यकालमा यो प्रवृत्ति अझ बढ्दै गएको थियो । उनको राजनीतिक दलमै आएको गुटबन्दीका कारण पनि यसले अली चर्चा बटुल्यो । अब केही दिनपछि नै नयाँ खेलकुदमन्त्रीले जिम्मेवारी सम्हालने छन् । दल या व्यक्ति जो सुकै होस्, त्यो सरोकारको विषय होइन । सरोकार प्रवृत्तीको हो । नयाँ आउने मन्त्रीका सामु पनि थुप्रै विवादास्पद विषय रहनेछन् । तिनैको समाधान गर्न चालिने कदमले नै ती मन्त्रीको सफलता निर्भर रहनेछ । सबैलाई सम्मान गर्न सक्ने, विज्ञताको कदर गर्ने र निर्णय गर्दा विषयको गाम्भीर्यतालाई बुझ्न खोज्ने प्रवृत्तीको विकास होस्, आम खेलकर्मीको चाहना यही नै हो । प्रकृतिको नियम नै हो, व्यक्ति पूर्ण हँुदैन । तर, माथिल्लो ओहदामा रहेकै कारण म पूर्ण छु भन्ने भ्रम सबैभन्दा ठूलो गल्ती हो । शासकमा देखिएको यो भ्रमका कारण एउटा ठूलो समूह बारम्बार समस्यामा पर्ने गरेको तीतो यथार्थ हाम्रो सामु छिपेको छैन । आशा गरौँ, अब त्यो प्रवृत्तिको अन्त्य होस् ।

प्रतिक्रिया