आफ्नो वायु रक्षा प्रणालीमा सत्रु घुस्न सम्भव नभएको भारतीय सेनाको दाबी

वायु सञ्चालक महानिर्देशक एयर मार्शल एके भारती

काठमाडौं । भारतीय सेनाले आफ्नो वायु रक्षा प्रणालीमा सत्रु घुस्न सम्भव नभएको दाबी गरेको छ । केही दिनदेखि भारत र पाकिस्तानबीचको द्वन्द्वपछि शनिबार दुवै देशबीच युद्धविराम भएको छ । तर, उक्त युद्धविरामपछि सोमबार भारतीय सेनाले आफ्नो वायु रक्षा प्रणालीमा सत्रु घुस्न सम्भव नभएको दाबी गरेको हो ।

आज सोमबार मे १२ मा ‘अपरेशन सिन्दूर’ बारे भारतीय सैन्य महानिर्देशकहरूको पत्रकार सम्मेलनमा भारतको बलियो वायु रक्षा प्रणालीले पाकिस्तानका धेरै ड्रोन र मिसाइल आक्रमणहरूलाई विफल पारेको दाबी गरिएको हो ।

वायु सञ्चालन महानिर्देशक एयर मार्शल एके भारतीले भने, ‘हाम्रोतर्फ वायु रक्षा प्रणाली देशको लागि पर्खाल जस्तै उभिएको थियो र सत्रुलाई यसमा प्रवेश गर्न सम्भव थिएन ।’

यस क्रममा एयर मार्शल एके भारतीले चिनियाँ निर्मित मिसाइल पीएल–१५ को पनि उल्लेख गरे । केही तस्विरहरू देखाउँदै उनले भने, ‘यी भागहरू चिनियाँ मिसाइल पीएल– १५ का हुन सक्छन् ।’

उनले भने कि पाकिस्तानले भारतमाथि गरेको आक्रमणमा प्रयोग गरिएको चीनको पीएल– १५ मिसाइलले आफ्नो लक्ष्य छुटाएको थियो । एयर मार्शल एके भारतीले भने, ‘हाम्रो लडाई आतंकवाद र आतंककारीहरुरू विरुद्ध थियो, त्यसैले मे ७ मा हामीले आतंकवादी लुक्ने ठाउँहरूमा मात्र आक्रमण गर्यौँ ।’

उनले भने, ‘तर दुर्भाग्यवश पाकिस्तानी सेनाले आतंककारीहरूलाई समर्थन गर्नु उचित ठाने र यो लडाईलाई आफ्नै लडाई बनाए, यस अवस्थामा हाम्रो बदला लिने कारबाही अत्यन्त आवश्यक थियो र यसमा उनीहरूले जे पनि क्षति बेहोरेको छ ,त्यसको जिम्मेवार उनीहरू आफैँ हुन् ।’

भारतीले यो पनि जानकारी दिँदै भने, ‘देशका सबै सैन्य अड्डाहरू, सबै प्रणालीहरू पूर्ण रूपमा सञ्चालनमा छन् र भविष्यमा आवश्यक परेमा कुनै पनि मिसन पूरा गर्न तयार छन् ।’

प्रतिक्रिया