अमूर्त बुद्धिजीवी

दुुई वर्ष अघिसम्म नेपालमा उग्र जातीय राजनीति गर्नेहरू उम्लेर उर्लिरहेका थिए । नेपाली आकाशमा क्षितिजको पर–परसम्म उनीहरूकै कोकोहोलो मात्र गुञ्जिरहेको हुन्थ्यो । जातीय–साम्प्रदायिक राजनीतिको पक्षमा नउभिनेहरू अपमानित हुन्थे, लखेटिन्थे र उनीहरूको हुर्मत काढिन्थ्यो । आफ्नो स्वच्छ ब्रह्मबाट निसृत र विवेकका निष्कर्षहरू अभिव्यक्त गर्न निकै कठीन अवस्था थियो । त्यस्तो बेलामा पनि कोही–कोही आँटिला विद्वान् निस्कन्थे जो आफ्नै ब्रह्मबाट बोल्थे । २०६९ असार २ गते पुलचोक इञ्जिनियरिङ कलेजमा आयोजित ‘समृद्धिका लागि लोकतन्त्र’ विषयक गोष्ठीमा त्यसबेला विवि अनुदान आयोगका अध्यक्ष रहेका प्रा. गणेशमान गुरुङले कार्यपत्र पेस गरेका थिए र प्रा. चैतन्य मिश्रले टिप्पणि गरेका थिए । उनको कार्यपत्र जातीय राजनीतिको विपक्षमा रहेकोले उग्र जातिवादीहरूले घेराबन्दी गरेर प्रश्नको बौछार गरिरहेका थिए ।
सौम्य मुद्दामा, सन्तुलित तवरले गणेशमानले सम्झाउँदै भनेका थिए, ‘जनताको बसोबास, जनजीवन, सामाजिक प्रक्रिया र जीवनशैली हेर्नुभएको छ ? म समाजशास्त्रको विद्यार्थी भएकाले नेपाली जनजीवनको अध्ययन गरेको छु । वल्लो घर गुरुङको छ, पल्लो घर नेवारको र सँगैको अर्को घर बाहुनको छ । बाहुनको छोरो गुरुङको ज्वाइँ छ भने नेवारको छोरो बाहुनको ज्वाइँ छ । कुवा, पधेँरो एउटै छ, वनपाखो, जंगल र चरिचरण एउटै छ । ऐँचोपैँचो, भारोपर्म र लेनदेन चलिरहेछ । चितवनको टाँडीमा चेपाङ र गुरुङहरू पाँडे बाजेकोमा गएर तिथिमिति, साइत, घडीपला र ग्रहदशा हेराइरहेका भेटिन्छन् । बाहुनीहरू तामाङको घरमा गएर झारफुक गराइरहेको मकवानपुरका गाउँमा भेटिन्छन् । कोटहरूमा र मनकामनामा मगर पुजारी छ, मुक्तिनाथमा एकातिर झुमा बसेकी गुरुङनी पुजारी छ भने अर्काेतिर बाहुन पुजारी छ । यसभित्र कस्सिएको सद्भाव लोभलाग्दो पाएँ । यी सामाजिक तन्तु कति महत्वपूर्ण छन् भन्ने मर्म तिनीहरूले बुझ्दैनन् । त्यसैले, एउटा जातीविरुद्ध अर्को जातिलाई सडकमा आउन आह्वान गर्छन् । तमुवान प्रदेश बनाउने भनिएको गण्डकी अञ्चलमा हामी गुरूङहरू १६ प्रतिशत रहेछौँ । ल भन्नुहोस् त, वस्तुनिष्ठ हुनुपर्दैन ? तथ्यहरू केलाउनुपर्दैन ?’
उग्रवादीहरूले आगो सल्काएर चारैतिर मुस्लो दन्किरहेको बेलामा समेत अडिग रहेर आफूले बुझेको ज्ञान र अनुभवको निष्कर्ष सर्लक्क राख्नसक्ने विद्वान्हरूको नेपाललाई खाँचो छ । भय र आशक्तिरहित हुनुपर्ने प्राज्ञहरूले हो । यहाँ त बुद्धिजीवी मात्र होइन, प्राज्ञहरूसमेत कि लाइनअनुसार बोल्ने, नत्र भयले नबोल्ने रहेछन् । कोही आइएनजिओ बुद्धिजीवि, कोही लैनचौर बुद्धिजीवि त कोही पार्टीबुद्धिजीवि रहेछन् । राष्ट्रका बुद्धिजीवि त अत्यन्तै न्यून रहेछन् । कमसेकम प्राज्ञहरूले आफ्नो ब्रह्मले देखेका कुरालाई मरमोलाहिजा नगरी सर्लक्क राखिदिने गरेका भए देशको यो दुर्दशा हुने थिएन । २०४७ सालमा एकेडेमीका कुलपति र सदस्यहरू घरबाट निस्केनन् । एकजना नयनराज पन्तमात्र दिन नबिराई एकेडेमी गइरहे । ती हुन् प्राज्ञ । चार वर्षअघि सरकारले राज्य पुनर्संरचना आयोग गठन गरेको थियो । त्यसको पदाधिकारीमा पार्टी–पार्टीलाई भागबण्डा लगाइएको थियो । आ–आफ्ना भाग– दरबन्दीमुताविक पार्टीहरूले पठाएका प्राज्ञ भनिएका महानुभावको विवेक, विचार र उनीहरूको निष्कर्ष हेरिसकेपछि सबैले बौद्धिक वेश्याको नमुना भनेका थिए । त्यसबेला आयोगका पदाधिकारीहरूले राष्ट्रको आवश्यकता बुझेर संघीय संरचनाको खाका कोरिदिएको भए आज यो हैरानी पर्ने थिएन ।
सन् २०१४ सेप्टेम्बरमा चीनका राष्ट्रपति भारत भ्रमणमा गएका थिए । भ्रमणको अन्त्यमा चीन र भारतले लिपुलेक भञ्ज्याङलाई मानसरोवर जाने धार्मिक यात्रामार्गको रूपमा विकास गर्ने सम्झौता गरेका थिए । यस विषयमा नेपाली कसैले बोलेन । मई दोस्रो हप्तामा नरेन्द्र मोदी चीन गए र त्यही लिपुलेक भञ्ज्याङलाई व्यापारिक नाकाको रूपमा विकास गर्ने सम्झौता गरे । सम्पूर्ण ऐतिहासिक प्रमाणहरूले कालापानी, लिपुलेक मात्र होइन, लिम्पियाधुरासम्म नै नेपालको भूमि हो भनेर प्रमाणित गर्छ । यस विषयमा पनि ४÷५ दिनसम्म नेपाली कसैले बोलेको थिएनन्, सौर्य दैनिकले चर्चा सुरु गरेपछि अरूले बोल्न थाले र बल्ल राष्ट्रिय बहसको विषय बन्यो । तर, विडम्बना के छ भने यत्रो राष्ट्रिय बहस चलिरहँदासमेत कुटनीतिक क्षेत्रका अनुभवी भनिएका महानुभाव अझै प्रस्टसँग भन्न हिच्किचाउँछन् । जिब्रो चपाएर अस्पष्ट, अमूर्त र दोधारे कुरा गर्छन् । यी प्रतिनिधि उदाहरणमात्र हुन् । राष्ट्रले दुःख पाउनुमा नेताहरू जति दोषी छन्, यी अमूर्त बुद्धिजीविहरू पनि त्यतिकै दोषी छन् ।

प्रतिक्रिया