रचनात्मक कदम

नेपालको राज्यसञ्चालनका सबैजसो अगुवामा एउटा गजबको विशेषता पाइन्छ । उनीहरू खास स्वार्थपूर्तिका लागि, भ्रष्टाचार गर्नका लागि र सात पुस्तालाई पुग्नेगरी बन्दोबस्त गर्नकै लागि मरिहत्ते गरेर पद प्राप्त गर्छन् । पद पाउनासाथ त्यही उद्देश्य प्राप्तिमा लिप्त हुन्छन् । उनीहरूका कुकर्म यदि कसैको नजरमा परिहाल्यो र उसले कोट्याइदियो भने आगो हुन्छन् । यसअघिका प्रधानन्यायाधीश रामकुमारप्रसाद साह सबै काम छाडेर उपरोक्त लक्ष्य प्राप्तिमा तल्लीन थिए । दशकौँदेखिका एक्काईस हजार मुद्दा फस्र्याैट हुन बाँकी थियो । धेरै मुद्दामा ५-६ वर्षदेखि पेसी चढ्दै सर्दै गरेर वादी र प्रतिवादीहरूले हैरानी र सास्ती खेपिरहेका थिए । वर्षौंदेखि जनताले व्यहोरेको हैरानी, दुःख र सास्तीलाई निर्ममतापूर्वक पन्छाएर रामकुमारप्रसाद साह त पूर्वराजकुमारीका लागि तत्काल केही गर्न हतार गर्न थाले । र, दायर भएको चार महिनामै आफैँ बसी हेर्दाहेर्दै पूर्वराजकुमारीलाई काठमाडौंको १५ रोपनी महँगो जग्गा दिलाइदिए ।
हुम्लामा अस्पताल निर्माण गर्नका लागि त्यहाँका जनताले विदेशीको सहयोग लिएर जम्मा गरेको आठ करोड रुपैयाँ एउटा कर्मचारीले अनेक जालझेल, छलप्रपञ्च रचेर आफ्नो खातामा ट्रान्सफर गरेछ । देशै छाडेर भाग्न लागेको ठगलाई जनताले फेला पारेर प्रहरीमा बुझाएका थिए । जिल्ला र पुनरावेदन अदालतबाट समेत दोषी प्रमाणित भएको थियो । आठ करोड बिगो, बिगोबराबरकै जरिवाना र थप कैदसमेत सजाय हुने उक्त केसमाथि रामकुमारको नजर पर्न गयो । उनले आकाशै खस्नलागेझैँ हतार–हतारमा त्यो ठगलाई १० लाख रुपैयाँ धरौटी राख्न लगाएर कारागारमुक्त गरिदिए । भूकम्पले सर्वोच्च अदालत भवन भत्काएकाले आँगनमा त्रिपाल टाँगेर चलाइराखिएको थियो । कार्यकक्षमा नछिरेको दुई महिना भइसकेको थियो । भूकम्पले थिचिएका सामान निकाल्न सकिएको थिएन । तर, रिटायर्ड हुन तीन हप्ता पनि बाँकी नहुँदा रामकुमार सर्वोच्च अदालतको बजेटतिर आकर्षित भए । आठ करोड रुपैयँँको कम्प्युटरसहित सूचनाप्रविधिका सामान किने । राख्ने ठाउँ नभएर पुलिस हेडक्वार्टरसँग गुहार मागिरहेको घीनलाग्दो दृश्य सबैले टिठलाग्दो नजरले हेरिरहेका थिए । टर्मिनेट हुन एक÷डेढ हप्तामात्र बाँकी थियो । न्यायाधीशहरूको सरुवा गर्नेतिर उनको ध्यान केन्द्रित भयो । न्यायपरिषद्को बैठक राखेर सरुवा गर्दा योजनामुताविक सरुवा मिलाउन कठीन हुने भएकाले ‘काज सरुवा’ भनेर व्यापक न्यायाधीशहरूको सरुवा एक्लैले ठोकिदिए ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश आफैँ हुँदो नहुँदो गर्न तल्लीन रहेकै अवस्थामा नेपाल बार एसोसिएसनको २२ औँ कार्यकारिणीको बैठकले न्यायपालिकामा भएका भ्रष्टाचारको विषयमा छलफल चलाइयो । न्यायपालिकामा भ्रष्टाचार भएको विषयलाई कोट्याए भनेर प्रधानन्यायाधीश रामकुमारप्रसाद साह आगो भए । बारका उपाध्यक्ष टीकाराम भट्टराई र पूर्वमहासचिव रमणकुमार श्रेष्ठले ‘अदालतमा भ्रष्टाचार हुने गरेको प्रमाण आफूसँग रहेको र आवश्यक परे पेस गर्न सक्छु’ भनेर सार्वजनिक वक्तव्य दिए । त्यो सार्वजनिक वक्तव्य उनका लागि भारीमात्र होइन, खपिनसक्नु नै भएछ । दुवैजनालाई लिखित प्रष्टीकरण नै सोधे ।
सार्वजनिक पदमा जाने सबैजना यही रामकुमारप्रसाद साह प्रवृत्तिकै छन्, तापनि कहिलेकाहीँ अपवाद पनि फेला पर्दारहेछन् । वर्तमान प्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायपालिकामा भइरहेको भ्रष्टाचारलाई सहजै स्वीकारेनन् । उनले ‘न्यायपालिकामा विकृति र विसंगतिजन्य कामकारबाही नियन्त्रण र रोकथामका लागि उपाय पहिचान गरी सुझाव दिन’ भनेर न्यायाधीश गिरिशचन्द्रलालको अध्यक्षतामा समितिसमेत गठन गरे ।
राष्ट्रका अगुवाहरूले कमजोरी स्वीकार गर्नु र अपराध कबुल गर्नु भनेको नेपालको सन्दर्भमा निकै ठूलो, पाइनसक्नु र सकारात्मक उपलब्धि हो । कल्याण श्रेष्ठ योग्य व्यक्ति हुन् । उनले न्यायिक क्षेत्रमा सबैको सम्मान प्राप्त गरेका छन् । उनीजस्तो व्यक्तिले न्यायपालिका सुधारका लागि चाल्न लागेको कदमलाई साथ र सहयोग दिनु हामी सबैको परमकर्तव्य हुनेछ ।

प्रतिक्रिया