जतिसुकै उच्छृंखल व्यक्ति पनि मलामी गएको बेला अलिकति भए पनि संवेदनशील हुन्छ र जतिसुकै संवेदनशील व्यक्ति पनि जन्ती गएको बेलामा अलिकति भए पनि उच्छृंखल हुन्छ । यो मानवीय प्रवृत्ति हो । यसपटकको भूकम्पले सबैलाई आफू अरूको मलामी हो कि आफ्नो मलामी अरू जानुपर्ने हो भनेर आ–आफ्नै तहमा संवेदनशील बनायो, त्रसित पार्यो ।
भूकम्पले सम्झन कर लाग्यो इग्नाजो सिलोनको भनाइ, ‘भूकम्पले त्यो दिन ल्याउँछ जुन कानुनले भन्छ तर व्यवहारमा कहिल्यै प्रयोग गर्दैन : अर्थात् सबै मान्छे समान हुन् । लाखौँको पलङमा सुत्नेहरू सडकपेटीकाहरूसँग एकैपटक सडकमै आएर सुत्नुपर्यो ।’ उनी इटाली कम्युनिस्ट पार्टीका सदस्य थिए । स्टालिनविरोधी उनलाई जेलमा राखेर त्यहीँ सडाएर मारियो । उनको लेखनी पनि त्यहाँका युवाहरूका लागि प्रिय थियो । उनका धेरै लेखनीलाई उनको मृत्युपछि मात्र मान्छेले चिने । राज्यले भूकम्प आओस् कि बाढी पहिरो त्यो संवेदनशिलतालाई बुझ्दैन । इग्नाजोले त्यतिबेलाको भूकम्पपछि दिएको अभिव्यक्तिले राज्यप्रतिको उनको दृष्टिकोण प्रस्ट भएको थियो र उनी तारो बनेका थिए । हो, यस्तो बेला पनि राज्य र विश्व शक्ति केन्द्रहरूले आफ्नो विजनेस कसरी फस्टाउँछ त्यो हेरिरहन्छन् ।
जसरी भूकम्प आएको बेला खुला ठाउँतर्फ घरका सबै व्यक्ति हतारिएर ज्यान जोगाउन भागिरहेका बेला केही दिनदेखि खान नपाएको भोको चोर केही चोरेर खान अनि ज्यान जोगाउनलाई अरूका घरभित्र पस्ने उपयुक्त मौका भेटिरहेका थिए, कतिपय देश लुट्नेहरू चाहिँ सडकपेटीतर्फ आउँदैथिए, सबैका लागि समान कानुनले भनेको दिन सामान्य अवस्थामा आउन नसकेपछि भूकम्प आयो । हो, कहिलेकाहीँ नेताहरूमा भूकम्पले पनि चेत खुलाउँछ जसरी माओ त्सेतुङ्गको चेत खुलेको थियो । चीनमा गएको १९७६ को महाभूकम्पपछि संसारका महान् अनिश्वरवादी कम्युनिस्ट नेता माओत्सेतुङ्गले पनि चेत खुलेर ईश्वर पुकारेको सायदै धेरैले याद गरेका होलान् । सन् १९५६ मा आठ लाख ३० हजारको भूकम्पकै कारण ज्यान गएपछि फेरि त्यसको एक सय २० वर्षपछि सन् १९७६ जुलाई २८ को बिहानै चीनमा १५ मिनेटको अघिपछि भएको महाभूकम्पले सात लाख ५० हजार मान्छे खाइदियो । धेरै त अस्पतालसमेत भत्किएकाले उपचार नपाएरै मरे ।
यता ८२ वर्षको उमेरमा भूकम्पपछि हार्ट एट्याक र अति धूमपानसमेतका कारण धेरै समय अस्पतालमै बिताएका माओले भूकम्पले त्राहीमाम बनाएपछि अब ईश्वरबाहेक कसैको भर पर्न सकिन्न भनेर रोएका थिए । धेरैले त्यसलाई बुद्धको कृपाका कारणले कम क्षति भएको बताएका थिए भने केहीले त्यो दिनको तिथिमिति नमिलेको भनेर टिप्पणी गरेका थिए । जे होस्, चीनको महाभूकम्पपछि प्रख्यात टिप्पणीकार रोबर्ट भ्यान्सले आफूमा बढी भरपर्ने र अरूबाट पनि सहयोगको खासै अपेक्षा नगर्ने चिनियाँ जनताले एकअर्कालाई यति ठूलो सहयोग गरेको मैले कहिल्यै देखेको थिइनँ भनेर आफ्नो संस्मरणमा लेखेका छन् । चीन सरकार पनि त्यतिबेला इतिहासकै सबैभन्दा बढी पारदर्शी बन्यो । विदेशी सहयोगको बारेमा जनताले जानकारी पाए । अन्तर्राष्ट्रिय अनुगमकहरूबारे पनि उनीहरूले प्रसस्त कुरा थाहा पाए । चिनियाँहरू बढी आपसमा अन्तक्र्रिया गरिरहेका भेटिन्थे । त्यो एउटा ऐतिहासिक उपलब्धि थियो । डेली विजनेसले चीनमा खुला बजारको राम्रो समयको सुरुवात भएको टिप्पणी गरेको थियो । त्यसले एउटा सकारात्मक परिवर्तन ल्याउँथ्यो । तर, त्यो पीडाको जन्म थियो । तैपनि विश्वमा भूकम्पपछि केही अकल्पनीय अवसरहरूलाई राज्यले पक्डन सक्छ ।
सन् १९२३ को जपानमा एक लाख ५० जना, सन् १९७० मा जमीन धसिएर बस्ती बस्तीकै सतह घटेको प्रकोप, सन् १९७६ मा चीनमा एक लाखभन्दा बढी मानिस मारिने गरी गएको महाभूकम्प, सन् १९०६ मा सान फ्रान्सिस्कोमा आगलागीसहित आएको भूकम्प सन् १८११ र १८१२ मा न्यू म्याड्रिडको मिजोरी अर्थ क्वेक र सन् १७५५ को समुद्रका पानी जहाज डुबाउने गरी ज्वालामुखीसमेत आएका भूकम्पले हामीलाई केही न केही पाठ सिकाएका छन् ।
सान् फ्रान्सिस्कोको सन् १९०६ को भूकम्पका कारण त्यहाँको पूरै भू–भागको स्वरूप नै परिवर्तन हुने गरी जमीनको आन्तरिक तहमा परेका धाजाहरूको अध्ययनले त्यहाँ थप सुनको खानी पत्ता लागेपछि सान फ्रान्सिस्को वास्तवमा अझ समृद्ध बन्यो । तीन हजार मान्छे मरे पनि त्यो कम्पले सान फ्रान्सिस्कोलाई शानको फ्रान्सिस्को बनाइदियो । जपानको महाभूकम्पपछि लेखक स्टिफन रोबर्ट नागीले गरेको टिप्पणी एकदम आलोच्य बन्यो । उनले भने, ‘जापानमा महाभूकम्प गएपछि जापान र चीनको आपसी लगानी सम्बन्ध र बाह्य सुरक्षामा ठूलो र राम्रो अवसर प्राप्त हुने छ ।’ उनी चाइनिज युनिभर्सिटी अफ हङकङमा जापानिज स्टडिजका सहप्राध्यापक र वाजेदा युनिभर्सिटीको ग्लोबल इन्स्टिच्यूट फर एसिएन रिजनल इन्टिग्रेसन (जीआईएआरआई) का वरिष्ठ अनुसन्धाता पनि हुन् ।
त्यसपछि जापानमा गएको भूकम्पपछि चीनको त्वरित प्रतिक्रिया (¥यापिड रेस्पोन्स) ले त्यो भनाइलाई पुस्टि पनि गर्यो । त्यसैका कारण जापानमा ‘सेकेइ बुन्री’ भन्ने पदावली नै प्रयोगमा आयो जसले आर्थिक सम्बन्ध र राजनीतिक सम्बन्ध फरक हो भन्ने अर्थ दिन्छ । त्यो सम्बन्ध चीन–जापानबीचमा विकसित भयो ।
जसले बढी सोच्नुपर्नेहरू बिर्सनबाहेक केही जान्दैनन्, समस्या केवल त्यहाँ छ । आशा गरौँ, एक दिन सबैले मर्नुपर्ने तत्वबोध भूकम्पले गराएर सबैको चेत खोल्ने छ । मुलुकप्रतिको संवदेनशीलता बढ्ने छ ।
हाइटीको भूकम्पपछि भारतीयमूलका आभाष झाले आफ्नो विश्लेषणमा ‘आउट अफ ग्रेट डिजास्टर कम्स ग्रेट अपरच्युनिटी’ भनेर भूकम्पपछि हाइटीमा ठूलो र सकारात्मक परिवर्तन आउँछ भन्ने ठोकुवा गरे । उनको आशय सायद नेपालको आशयसँग मिल्दो हो । जनविरोधीहरू मर्नुपर्ने ठाउँमा किन पर्खालले थिचिएर सामान्य मान्छे मर्नु परेको ? किन अरू ज्यान जोगाउन बाहिर निस्कँदै गर्दा खुला घरबाहिरै भएकाहरू मर्नुपरेको ? हुन त आभाषले लन्डनको सन् १९६६ को महाआगलागीपछि भएको पुननिर्माणसँग त्यसलाई पनि जोडेका थिए । चीनमा महाभूकम्पपछि युनिसेफ र अरू अन्तर्राष्ट्रिय समुदायका लागि लक्जरियस स्कुल भवनहरू बनाइदिए । त्यसअघि कहिल्यै त्यस्तो स्कुल पढ्न नपाएका ग्रामीण चिनियाँ बालबालिकाका लागि त बालमैत्री विद्यालयहरू पाएपछि स्वर्गसमान आनन्दका दिन भूकम्पको परिणामले ल्याइदिएको थियो । तर, जापानको महाभूकम्पलाई चीनले आफ्नो कृषि उत्पादनको निकासीको अवसर भनेर उल्लेख गरको थियो । छिलोङ फुड कम्पनीका अध्यक्ष छि लोङले अनौपचारिक रूपमा प्रतिटन कृषि उत्पादन ३० हजार अमेरिकी डलरसम्ममा बिक्री गरेकोमा उनले व्यवस्थित नभएको भनेर आलोचना गरेका थिए । सँगसँगै त्यो भूकम्पले चीन–जापान संयुक्त सैनिक अभ्यासलाई पनि अघि बढायो । तर, त्यतिबेला केही जापानी सैनिक अधिकारीहरूले औपचारिक रूपमै नभए पनि प्रेससँग विश्वकै सबैभन्दा ठूलो नील नेभी सामुद्रिक सेनाले चीनको सहयोग सैनिक क्षेत्रमा राम्रो नहुने र आफ्नै क्षमताले भ्याउने बताएका समाचार पनि आएका थिए । त्यसै पनि चीन–जापान सामुद्रिक सेनाको क्षमतालाई लिएर बेला–बेलामा विवाद भइरहेका हुन्छन् । नेपालमा पनि ठूलो भूकम्प गएर नेपालले नै नाइँसमेत भन्न नसक्ने गरी सामरिक तथा सुरक्षा संवेदनशील क्षेत्रमा वैदेशिक सेनाको सहयोगको प्रस्ताव आयो भने के गर्ने भन्ने प्रश्नमा कहिल्यै ध्यान दिइएन । र, यतिबेला आमन्त्रित हस्तक्षेपजस्तो नेपालमा विदेशी सेना देखिँदैछ । यस्ता प्रश्नमा जापान, चीनलगायतका मुलुक पनि असमञ्जसमा पर्ने गरेका उदाहरण छन् । आउने देशभित्रै र बाहिर पनि दीर्घकालीन विवाद आउन सक्छ । पाकिस्तानको महाभूकम्पपछि उसले आपत्कालीन सहयोगका क्षेत्रमा अपनाएको सचेतताबाट हामीले पनि सिक्नुपर्छ । यस्तै बेलामा औषधि कम्पनीहरूले आफ्ना नयाँ औषधिको परीक्षण तत्काल भएका बिरामीहरूमा गर्न सक्ने खतराको रिपोर्ट यसअघि माथि उल्लेख गरिएका भूकम्पपछि देखिएका थिए । यो अर्को संवेदनहीनता मान्छेभित्रै रहेको पक्ष हो ।
भूकम्प भन्नेबित्तिकै मरिने डर सबैमा नहुने कुरै भएन । तर, मर्ने डर पालिरहेर कति दिन बाँच्नु ? केही मान्छे मर्ने कुराले एकदमै डराउँछन् र कहिल्यै पनि बाँच्न नथालिकन मर्छन् । म कसरी बाँच्ने भन्ने कुरा सिकिरहेको बेलामा कसरी मर्ने भन्ने प्रश्नको जवाफ पनि आइरहेको हुन्छ । तर, मर्न नडराउने भनेर आत्महत्याको बाटो रोज्नेहरूलाई कदापि ठीक भन्न सकिन्न । हुन त आत्महत्या तिमीले मलाई फायर गर्न सक्दैनौ म आफैँ क्विट गर्छु भनेर ईश्वरलाई भन्नु हो । कसैले भन्लान् तर त्यो कुरा ठीक हो भने यो पनि ठीक हो कि त्यसैले उनी रिसाउँछन् । सन् १७५५ नोभेम्बर १ मा एटलान्टिक सागरको सतहदेखि सुरु भएको महाभूकम्पले पोर्चुगल हुँदै धेरै ठाउँमा धक्का दियो र ठूलो जनधनको क्षसित भयो । त्यसैको पीडामा भोल्तेयरले कविता लेखे ‘कम, ए फिलोसफर, हु क्राइ, अल इज वेल’ भन्दै । उनको २ सय ८८ हरफको त्यो कवितालाई जोसेफ म्याक्याब र बाट्सले सरलीकृत गरेर बजारमा सम्पादित स्वरूपमा सार्वजनिक गरेका थिए ।
भोल्तेयरले पनि भूकम्पबाट रुँदै–रुँदै ‘अल इज वेल’ भनेका थिए । उनले त्यसैबीचमा पनि रक्षा, सुरक्षा र इच्छा अर्थात् संवेदनालाई समन्वय गर्नुपर्छ भनेका थिए । त्यसैले भूकम्पको त्राहिमामबीच पनि देशको जनताको रक्षा, सुरक्षा र संवेदनालाई हाम्रो सामरिक भू–राजनीतिसँग समेत जोडेर सोच्न जरुरी छ । जसले बढी सोच्नुपर्नेहरू बिर्सनबाहेक केही जान्दैनन्, समस्या केवल त्यहाँ छ । आशा गरौँ, एक दिन सबैले मर्नुपर्ने तत्वबोध भूकम्पले गराएर सबैको चेत खोल्ने छ । मुलुकप्रतिको संवदेनशीलता बढ्ने छ । भूकम्पले हामीलाई यसअघि चर्चा हुने गरेजत्तिकै क्षति पुर्याएको छैन भनेर जन्ती हिँडेजस्तै उच्छृंखल पनि नबनौँ किनकि हाम्रै नेपाली परिवारका केही सदस्यको ज्यान गएको छ । तर, मलामी हिँडेजत्तिकै गम्भीर दुःखी पनि नबनौँ किनकि तपाईँ हामी अर्को भूकम्प नआउञ्जेलसम्मलाई मात्र जोगिएका छौँ । विवेक विज्ञानको प्रयोग गरेर अघि बढौँ । व्यक्तिगत होइन पूरै राज्यको जीवनलाई दरिलो बनाऔँ ।
(लेखक अधिवक्ता हुन्)
प्रतिक्रिया