अमेरिकी मध्यस्थतामा भारत र पाकिस्तानबीच युद्धविराम

पूर्ण शान्ति स्थापनाका लागि सैन्य अपरेसन प्रमुखबीच भोलि वार्ता हुँदै

युद्धविराम सहमतिपछि खुसी मनाउँदै पाकिस्तानी नागरिक । तस्बिर : एएफपी

काठमाडौँ । भारत प्रशासित जम्मु–कश्मीरको पहलगममा भएको आतंकवादी हमलाले निम्त्याएको भारत–पाकिस्तान युद्ध तत्कालका लागि अन्त्य भएको छ । विगत ४ दिनदेखि जारी सैन्य युद्ध अन्त्य गर्न भारत र पाकिस्तान सहमत भएसँगै २ देशबीच युद्धविराम भएको छ । युद्धविराम सहमतिसँगै सीमा क्षेत्रमा खुसियाली छाएको छ ।

अपरेसन सिन्दूर नाम दिएर भारतले सुरु गरेको आक्रमणको प्रत्याक्रमण गर्ने पाकिस्तानले घोषणा गरेकै दिन शनिबार अमेरिकी मध्यस्थतामा दुवै देशबीच तत्काल लागू हुने गरी युद्धविराम भएको हो । तथापि पूर्ण शान्ति स्थापनाका लागि भोलि सोमबार (१२ मे) २ देशका सैन्य अपरेसन प्रमुखबीच थप वार्ता हुने बताइएको छ । ‘तत्काल युद्धविराम’ अन्तर्गत दुवै देशले शनिबार स्थानीय समयअनुसार बेलुका ५ बजेबाट गोलाबारी वा आक्रमण नगर्ने सहमति जनाएको भारतीय विदेश सचिव विक्रम मिसरीले बताए । मिसरीका अनुसार शनिबार दिउँसो ३.३५ बजे दुवै देशका सैन्य अपरेसन प्रमुखबीच गोलाबारी रोक्नेबारे टेलिफोन संवाद भएको थियो । यसैबीच, भारतको रक्षा मन्त्रालयले पनि प्रेस ब्रिफिङ गर्दै २ देशबीच युद्धविराम सहमति भएको जनाएको छ ।

अर्को चरणको युद्ध त्रासबाट मुक्ति

सेल्फ डिफेन्समा केन्द्रित रहेको बताउँदै आएको पाकिस्तानी सेनाले शनिबार बिहानै प्रत्याक्रमण घोषणा गरेको थियो । यो घोषणासँगै सीमामा जारी भारत र पाकिस्तानबीचको तनाव अझ भड्किएको थियो । पछिल्लो घटनाक्रमले युद्धको अर्को चरणको जोखिम बढाएको थियो । पाकिस्तानी सेनाको पब्लिक रिलेसन विभागले प्रत्याक्रमण गर्ने घोषणा गरेसँगै प्रधानमन्त्री शहबाज शरीफले सेनाले भारतीय गतिविधिको सही प्रतिक्रिया दिएको बताएका थिए ।

घोषणालगत्तै पाकिस्तानको राष्ट्रिय कमान्ड अथोरिटीको बैठक बस्दै माथिल्लो तहको ब्रिफिङ अघि बढाइएको थियो । पाकिस्तानको आणविक हतियार सञ्चालनको अख्तियारी पनि सोही निकायसँग छ । पाकिस्तानले प्रत्याक्रमणको नाम ‘अपरेसन बानयन मर्सस’ राखेको थियो ।

दुवै देशका आ–आफ्नै दाबी

भारतले पाकिस्तानमा रहेका आतकंवादी केन्द्रमा मात्र लक्षित गरेको दाबी गरेको थियो भने पाकिस्तानले धार्मिक र नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको थियो । पाकिस्तानी सेनाले भारतको एस–४०० डिफेन्स सिस्टम ध्वस्त पारेको दाबी गरे पनि भारतले त्यसको खण्डन गरेको छ ।

यता, सैन्य कारबाहीका क्रममा ५ जना आतंककारी नाइके मारिएको भारतको दाबी छ । लस्कर–ए–तोयबा नामक संगठनको मुरिदके क्षेत्रमा मरकज तैबाका इन्चार्ज अबु जुन्दाल भनिने मुदस्सर खैदान र अबु अक्सा भनिने खालिद मारिएको भारतको दाबी छ । यस्तै, जैश–ए–मोहम्मदमा आबद्ध हफिज मुहम्मद जमिल, मसुद अजहरका साला उस्तादजी भनिने मोहम्मद युसुफ अजहर र मोहम्मद हसन खान मारिएको भारतीय दाबी छ ।

यस्तै, पाकिस्तानले पन्जाबस्थित सैन्य अड्डामा हाइस्पिड मिसाइल प्रहार गरेको भारतीय सेनाको दाबी छ । भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले शनिबार बिहान १ः ४० मा पाकिस्तानले आफ्ना सैन्य अखडामा यस्ता मिसाइल दागेको जानकारी दिएकी हुन् । यद्यपि सो मिसाइल भारतले निष्क्रिय पारिदिएको उनको दाबी छ ।

प्रत्याक्रमण घोषणाको केही समयअघि मात्र पाकिस्तानले आफ्ना ३ वटा सैन्य एयर बेसमा भारतले मिसाइल प्रहार गरेको आरोप लगाएको थियो । ती एयर बेसमध्ये एउटा रावलपिण्डीमा रहेको नूर खान सेना मुख्यालयमा लक्षित थियो । सो स्थान राजधानी इस्लामावादबाट १० किलोमिटर टाढा छ । पाकिस्तानले रातभरि भारतले गरेको आक्रमणमा ११ जना सर्वसाधारणको ज्यान गएको आरोप लगाएको थियो ।

०००

पाकिस्तानले खोल्यो हवाई क्षेत्र

भारत र पाकिस्तानबीच युद्धविराम भएपछि पाकिस्तानले सबै उडानका लागि हवाई क्षेत्र खोलेको छ । युद्धविरामसँगै पाकिस्तान एअरपोर्ट प्राधिकरणले हवाई क्षेत्र खुलाइएको बताएको छ । भारत पाकिस्तान द्वन्द्व बढेसँगै आन्तरिक र बाह्य उडान प्रभावित बनेको थियो भने हवाई क्षेत्र आशिंक रूपमा बन्द गरिएको थियो ।

०००

सिन्धु जलसन्धि र भिसा प्रतिबन्ध कायमै

दुवै देशबीच युद्धविराम भए पनि पहलगम हमलापछि भारतले स्थगित गरेको सिन्धु जलसन्धिबारे भने कुनै निर्णय भएको छैन । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुवै देशका विदेशमन्त्रीको वार्तापछि मात्र सो जलसन्धिबारे निर्णय हुनेछ । पाकिस्तानी विदेशमन्त्री इशाक डारले योसहित अन्य व्यापक मुद्दामा छलफल हुने बताए । यस्तै, हिन्दुस्तान टाइम्सका अनुसार भारतले पाकिस्तानी नागरिकलाई लगाएको भिसा प्रतिबन्ध पनि तत्काल नहट्ने भएको छ ।

००

द्वन्द्व सुरु भएसँगै मध्यस्थता प्रयासमा थियो अमेरिका

यसअघि शनिबार अपराह्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत् भारत र पाकिस्तान तत्काल र पूर्ण युद्धविरामका लागि तयार भएको पहिलो जानकारी दिएका थिए । ट्रम्पले दुवै देशलाई बधाई दिँदै युद्धविराम बुद्धिमत्तापूर्ण कदम भएको बताएका छन् । लगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानले युद्धविरामको निर्णयसँगै दुवै देशका विदेशमन्त्रीबीच तटस्थ स्थानमा विस्तृत वार्ता गर्न सहमति जनाएको बताएका थिए ।

अमेरिकी विदेशमन्त्री रुबियोले आफू र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले विगत ४८ घन्टा (द्वन्द्व सुरु भएको भोलिपल्टैदेखि) भारतीय र पाकिस्तानी शीर्ष नेतृत्वसँग निरन्तर छलफल गरेको समेत जानकारी दिएका छन् । शनिबार बिहानै अमेरिकी विदेशमन्त्री रुबियोले पाकिस्तानी सेनाका प्रमुख अमिर मुनिर र भारतका विदेशमन्त्री डा. एस जयशंकरसँग वार्ता गरेको जानकारी दिए । उनले दुवै देश द्वन्द्व समाधानका लागि आतुर भएको बताएका थिए ।

युद्धविरामका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग वार्ता गरेका थिए । सामाजिक सञ्जाल एक्समार्फत् रुबियोले लेखेका छन्, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शान्तिपूर्ण बाटो रोजेका छन्, यो दूरदर्शिताको प्रमाण हो ।’

पाकिस्तानका सहायक विदेशमन्त्री इशाक डारले पनि दुवै देशले अमेरिकी प्रस्ताव स्वीकार गरेको बताए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा विदेशमन्त्री जयशंकर केही दिनदेखि अमेरिकी समकक्षीसँग वार्तामै थिए ।

प्रतिक्रिया