काठमाडौँ । यस वर्षको वसन्त यामको सगरमाथा आरोहण शुक्रबार सुरु भएको छ । एटके एक्सपिडिसन कम्पनीबाट खटिएका ७ जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा डोरी टाँगेसँगै आरोहण सुरु भएको हो ।
सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्न र खुम्बू आइसफल क्षेत्रमा ठुला रक र कालापत्थरका कारण भ¥याङ राख्न पनि कठिन भएको लाक्पा शेर्पाले बताए । सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । सगरमाथा आरोही संघका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणको सकारात्मक सन्देशले नेपालको साहसिक पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने बताए । आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बद्ध निकाय र एक्सपिडिसन कम्पनीले प्रभावकारी व्यवस्थापन गरेको उनले जनाए ।
अशोक लामाको नेतृत्वमा ७ जना शेर्पा टोली सगरमाथाको चुचुरामो पुग्न सफल भएको हो । उक्त टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा छन् । यो पटक सगरमाथाको रोप फिक्सिङमा १६ जना शेर्पा खटिएकामा ७ जना मात्रै चुचुरोमा पुग्न सफल भएका हुन् ।
एटके एक्सपिडिसनका प्रबन्ध निर्देशकसमेत रहेका आरोही लाक्पा शेर्पाले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ सम्म सबैभन्दा बढी आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको बताए । उनले भने, ‘अहिले धेरै संख्यामा आरोहीहरू सगरमाथाको तेस्रो शिविरबाट चुचुरोतर्फ लागिसकेका छन् ।’
जलवायु परिवर्तनको प्रभावले आरोहण क्षेत्रमा बढी रक भेटिएकाले बाटो बनाउन कठिन भएको शेर्पाले जनाएका छन् । खराब मौसमका कारण सगरमाथाको दोस्रो शिविरदेखि चौथो शिविरसम्म बाटो बनाउन १४ दिन लागेको कम्पनीले जनाएको छ । चौथो शिविरबाट भने २ दिनमा शेर्पा टोली चुचुरोमा पुगेको थियो । ‘बाटो राम्रो छ, मौसम सफा छ । सयौँ आरोही आरोहणका लागि प्रतीक्षारत छन्,’ शेर्पाले भने, ‘मे ११ देखि १५ सम्म धेरै समिट हुने सम्भावना छ । अर्को विन्डो मे १९ देखि २४ सम्म छ ।’
पर्यटन विभागका अनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । अझै १–२ टिम थपिने विभागको अनुमान छ । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए । सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रुपैयाँ रोयल्टी संकलन भएको छ भने सबै हिमालबाट गरेर ७८ करोड रुपैयाँ संकलन भएको छ ।
सगरमाथाको तेस्रो शिविर र चौथो शिविरमा अक्सिजनलगायत सामग्री व्यवस्थानमा शेर्पा कामदार खटिएका छन् भने ‘वेटिङ’मा रहेका आरोही आधार शिविरदेखि तेस्रो शिविरसम्म आवतजावत गर्दै अभ्यासमा व्यस्त छन् । ‘समिट विन्डो’ मे १२ देखि १५ सम्म धेरै आरोहण हुने अनुमान छ । मे १६ र १७ मा हिमपात हुने अनुमान रहेकाले त्यसअघि आरोहीको चुचुरो पुग्ने योजना अनुरूप आरोहणमा जाम हुन सक्ने जनाइएको छ ।
यो याममा विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा ३१औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोड्ने तर्खरमा छन् । टासी ग्याल्जेन शेर्पा २० दिनमा ४ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने योजनामा छन् । अर्का कीर्तिमानी आरोही सानु शेर्पा यो सिजनमा अति विशिष्ट पाहुना लिएर आरोहणमा गएका छन् । समुद्री सतहदेखि ५ हजार ३६४ मिटरको उचाइको आधार शिविरमा अत्यधिक चिसो रहेको शेर्पाले बताए । माइनस २० डिग्री चिसोको पर्वाह नगरी आरोही अभ्यासमा तल्लीन छन् । शिविरमा चहलपहल छ । शेर्पा ‘हाई क्याप्स सेट’ (तेस्रो र चौथो शिविर व्यवस्थापन) मा छन् भने आरोही लुक्ला नाम्चे, बेस क्याम्पमा छन् । आधाजसो आरोही तेस्रो शिविरतिर पुगेका छन् ।
खुम्बु आइसफलमा बढी रक देखिएकाले सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले मे २९ मै बाटोका भ¥याङ उठाउने जनाएको छ । पर्यटन विभागबाट ७५ दिनको आरोहण अनुमति लिएर आरोही सगरमाथा गएका छन् । सगरमाथा आरोहण ४० दिनको हुन्छ । आरोही सगरमाथाको चुचुरोमा पुगेपछि २ दिनभित्र आधार शिविर झर्छन् । उनीहरूले १० देखि १५ दिन तेस्रो शिविरसम्म अभ्यास गर्छन् ।
प्रतिक्रिया