संगठन विस्तारमा आक्रामक, अन्य दलका असन्तुष्ट पक्षको साथ लिने प्रयास

राजावादीको फेरिएको नीति

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि भन्दै गत १५ चैतमा हिंसात्मक आन्दोलन गरेका राजावादीहरूले आफ्नो एजेन्डा स्थापित गराउन लागि ‘नरम’ र ‘फेरिएको’ नीति अख्तियार गरेका छन् । त्यसका लागि संगठन विस्तार र अन्य दलका असन्तुष्ट समूहको साथ लिने गरी नयाँ नीति अघि सारेका हुन् ।

राजसंस्था पुनस्र्थापनाको एजेन्डालाई टाउकोमा राखेर अन्य समसामयिक राजनीतिक विषयलाई पनि एजेन्डामा समेटेका छन् भने वर्तमान व्यवस्था र सरकार विरोधीहरूलाई पनि आन्दोलनमा आउने बाटो खुला गरेका छन् । राजा फर्काउनुपर्छ भन्नेहरूलाई मात्रै नभई हिन्दु राष्ट्रको पक्षमा रहेकाहरूको सहानुभूति बटुल्नेतर्फ उनीहरूको नजर छ । खासगरी विगतमा संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रकै पक्षमा रहेको नेपालको ठुलो दल नेपाली कांग्रेसलगायत विभिन्न पार्टीभित्र सुषुप्त रूपमा रहेको राजसंस्था र हिन्दु राष्ट्र पक्षधर समूहलाई सँगै लिएर जाने रणनीति बनाइएको हो ।

गत वैशाख २५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना, सनातन हिन्दु राष्ट्र, स्थानीय तहलाई अझ बलियो बनाउँदै केन्द्र र स्थानीय तहको मात्रै सरकारलाई आफ्नो प्रतिबद्धता भनेर सार्वजनिक ग¥यो । आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने समितिले घोषणा गरेको छ । विगतमा समिति घोषणा गर्दा समितिमा बस्न इन्कार गरेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर विष्टलगायत पनि अहिले समितिमा जोडिएका छन् ।

त्यसका अतिरिक्त नेपाली कांग्रेस (बिपी), शिव सेना नेपाल, नेपाल प्राज्ञिक मञ्चलगायत विभिन्न समूह पनि समितिको साथमा रहेको जनाइएको छ । यसरी हेर्दा आन्दोलनलाई सशक्त बनाउन संगठित भएर अघि बढ्न खोजेको देखिएको छ । २०४७ सालयता उच्च सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन, संकटग्रस्त सहकारीको राष्ट्रियकरण गरी बचतकर्ताको रकम फिर्तालगायत जनसरोकारका मुद्दालाई पनि समेट्दै आन्दोलनमा सबै असन्तुष्टको सहानुभूति जोड्ने प्रयत्न राजावादीहरूको छ ।

सबै पक्षलाई संगठित गर्ने प्रयास

राजसंस्था पुनस्र्थापनाको आन्दोलनलाई अझ सशक्त बनाउन सबै पक्षलाई संगठित गर्ने प्रयास थालिएको छ । बलियो संगठन नभई राजनीतिक मुद्दाको समेत मान्यता नपाउने भयले राजावादीहरूले संगठन निर्माणमा जोड दिएका हुन् । सौर्य दैनिकसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टीको एजेन्डा स्थापित गर्न आफूहरू निरन्तर आन्दोलनमै रहेको भन्दै समितिले गर्ने आन्दोलनले पनि बल पु¥याउने बताए । उनले सहमत हुने अन्य पार्टी र संघसंस्थाहरू पनि आन्दोलनमा जोडिँदै जाने उल्लेख गरे ।

तामाङले राप्रपा स्वयंलाई पनि संगठनमा बलियो बनाउँदै राजावादीहरूको साझा फोरमलाई पनि बलियो बनाउन भूमिका खेल्ने बताए । ‘हाम्रो पहिलो दायित्व पार्टीको संगठन बलियो बनाउने हुन्छ । पार्टीमा आबद्ध गराउने दायित्व हो,’ उनले भने, ‘आन्दोलन अर्को पाटो हो । समितिको आन्दोलनलाई बलियो बनाउन पनि हामी कोसिस गर्छौं । आन्दोलनमा राप्रपाको भूमिका सशक्त हुन्छ ।’

विषय उठान सही छ : शंकर भण्डारी, कांग्रेस नेता

शंकर भण्डारी, कांग्रेस नेता

नेपाली कांग्रेसका नेता तथा सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक शंकर भण्डारीले हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि एकताबद्ध गराउने प्रयास सही भएको बताए । ‘छलफल गर्न कोही आएका छैनन्, राजनीतिक तवरबाट निरुपण गर्ने विषय भएकाले यो विषयको नेतृत्व नेपाली कांग्रेसले नै लिनुपर्छ भन्ने हाम्रो अडान हो,’ उनले भने । नेता भण्डारीले सबै शक्तिसँग यस विषयमा कांग्रेसले नेतृत्व गर्ने गरी संवाद अगाडि बढाउनुपर्ने धारणा राखे । ‘कांग्रेसले आधिकारिक रूपमा यो विषय उठान गर्न जति ढिलो हुन्छ, त्यति कांग्रेसको जिम्मेवारीभन्दा बाहिर जान सक्छ,’ उनको भनाइ छ, ‘अरू कसैले यो विषय उठान गरेर अघि बढ्न सक्ने परिस्थिति आउँछ भन्ने चिन्ता छ ।’

समर्थन छ, आन्दोलनमा जाँदैनौँ : सुशीलमान शेरचन, सभापति, नेपाली कांग्रेस (बिपी)

सुशीलमान शेरचन, सभापति, नेपाली कांग्रेस (बिपी)

नेपाली कांग्रेस (बिपी) ले देशमा भ्रष्टाचार, विकृति र बेथिति बढेकाले राजावादी आन्दोलनलाई समर्थन गर्नुपरेको बताएको छ । सभापति सुशीलमान शेरचनले सुशासन कायम गर्ने विषय पनि उठान भएपछि समर्थन गरेको बताए । यद्यपि, आफ्नो पार्टी आन्दोलनमा भने सहभागि नहुने उनले स्पष्ट पारे । ‘सयौँ राजा पाल्नुभन्दा एउटा राजा पाल्नु ठिक हो,’ उनले भने, ‘दलको पहिचानलाई बहिष्कार गरेकाले हामी आन्दोलनमा सहभागी हुँदैनौँ । राष्ट्रिय झन्डामा आन्दोलन गर्दा आन्दोलन सफल हुँदैन । बरु विश्व जगतमा राष्ट्रको बदनाम मात्रै हुन्छ । आन्दोलन गर्दा आ–आफ्नो दलको झन्डामा जानुपर्छ ।’

प्रतिक्रिया