साफ फुटबलको नयाँ विजेता

अफगानिस्तानले दशरथ रंगशालामा बुधबार नयाँ इतिहास रच्यो । दक्षिण एसियाली मुलुकहरूको संगठनमा कान्छो सदस्य बन्न आइपुगेको अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन भारतलाई २–० ले पराजित गर्दै आठौँ साफ फुटबल च्याम्पियनसिपको उपाधि मात्र जितेन, आफूलाई यस क्षेत्रको नयाँ फुटबल शक्तिका रूपमा पनि प्रमाणित गर्‍यो । प्रतियोगिताका आठ संस्करणमध्ये सातपटक फाइनलमा पुगेर पाँचपटक विजेता बनेको भारतका लागि यो पराजय उसको खस्कँदो स्तरको द्योतक होइन, बरु अफगानिस्तानले फुटबल क्षेत्रमा मारेको अविश्वसनीय फड्कोको संकेत हो । खेलभावना के हो भने भारत मात्र नभएर अन्य सबै दक्षिण एसियालाी देशभन्दा बेहतर खेल पस्कन सकेको नयाँ टोलीका रूपमा उसलाई सर्वत्र स्वागत गरिनु पर्छ ।
भारतको प्रसंग बेग्लै हो । उसित समग्र खेलकुदको लामो इतिहास छ यद्यपि उसले आफूलाई क्रिकेटमा बढी केन्द्रित गरेको छ र फुटबलमा राम्रो प्रतिष्ठा बनाउन सकेको छैन । दक्षिण एसियामा हालसम्म श्रेष्ठ प्रदर्शन गरिहेको भए पनि भारतको स्थान स्वयं एसियामै पनि धेरै तल छ । अपार दर्शक, लिग र प्रायोजक पाउने भएर पनि अपेक्षित विकास गर्न नसक्नु भारतीय फुटबलको आफ्नै दु:खद कहानी छ । अर्कोतिर अफगानिस्तान पछिल्लो लामो समयसम्म युद्ध, गृहयुद्ध, अतिक्रमण, हिंसा र अस्थिरताका आला घाउहरूबाट गुज्रेर आएको तथ्य सर्वविदितै छ । खासगरी सन् १९९६ देखि २००१ सम्म त्यहाँ सत्ता सञ्चालन गरेको तालिबान शासनले अफगानिस्तानको खेलकुदलाई मटियामेट पारिदिएको थियो । यो बीचको अवधिमा अफगानिस्तानले सन् १९८४ देखि २००२ सम्म आफूलाई अन्तर्राष्ट्रिय खेलकुदबाट पूर्णत: पृथक् राखेको थियो । अर्को वर्ष अर्थात् ००३ देखि मात्र उसले क्षेत्रीय स्तरका प्रतियोगितामा सहभागिता देखाउने क्रममा पाकिस्तानको कराँचीमा भएको चौथो साफ च्याम्पियनसिपमा समूह चरणका सबै खेल हारेर साफ यात्रा सुरु गरेको थियो । सन् १९२२ मा स्थापना भएको अफगान फुटबल संघले आफ्नो अन्तर्राष्ट्रिय खेलको श्रीगणेश १९४१ मा काबुलको गाजी स्टेडियममा इरानविरुद्ध गोलरहित बराबरी खेलेर गरेको थियो । त्यसको सात वर्षपछि सन् १९४८ मा फिफा र १९५४ मा एएफसीको पूर्ण सदस्यता प्राप्त गरेको अफगानिस्तानले दशरथ रंगशालामा उचालेको साफ च्याम्पियनसिप ट्रफी उसको फुटबल इतिहासकै सबैभन्दा ठूलो उपाधि हो । साफको सातौँ संस्करण नयाँदिल्लीमा हुँदा नेपाललाई हराएर फाइनल पुगेको भए पनि अफगानिस्तान उपाधि भिडन्तमा भने आयोजक भारतद्वारा पराजित भएको थियो ।
त्यसो त अफगान टोलीमा रहेका खेलाडी शुद्ध घरेलु उत्पादन मात्र थिएनन् । त्यो टोलीबाट खेल्ने अनेक खेलाडी युरोप र अमेरिकाका क्लब फुटबलमा क्षमता देखाइसकेका युवाहरू थिए । साथै, अफगान खेलाडीलाई अर्को फाइदा के पनि रह्यो भने उनीहरू लगभग सबैजना शारीरिक तबरले सुगठित, टफ र राम्रो उचाइ भएका थिए । उनीहरू जित हासिल गर्ने उच्च आकांक्षा र आत्मविश्वास बोकेर सोहीअनुसारको खेलकौशल आत्मसात् गरेर आएका थिए । दसौँ हजार घरेलु दर्शकको अपार समर्थनबीच समेत आयोजक नेपाललाई १–० ले पराजित गरेको अफगान टोलीलाई भारतविरुद्ध फाइनलमा हौसला प्रदान गर्न काबुलबाट पाँचजना सांसदसहित करिब दुई सय अफगान नागरिक विमान चार्टर गरेर फाइनलभन्दा एक दिनपहिले काठमाडौं उत्रिएका थिए । अनेक कबिला र जनजातिमा विभाजित अफगान समाज यो जितले कम्तीमा केही समयका लागि भए पनि विजयोत्सवमा एकाकार भएको छ । विजेता टोलीका खेलाडीलाई अफगान सरकार र निजी स्तरबाटसमेत अपार्टमेन्ट र हजारौँ अमेरिकी डलर पुरस्कार दिइने घोषणा भएको छ । खेलकुदले कति दूरगामी प्रभाव पार्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो यो । फुटबल वा कुनै पनि खेलकुद अब केवल मनोरञ्जनमा मात्र सीमित छैन । यो एकातिर ठूलो व्यवसाय बनिसकेको छ भने अर्कोतिर यो देश–देशलाई र समाज–समाजलाई जोड्ने भावनात्मक सेतु पनि बनिसकेको छ । त्यसैले जब नेपाली टोली सेमिफाइनलमा हार्छ, हजारौँ घरेलु दर्शक आँसु थाम्न सक्दैनन् । रंगशालामा हुने प्रत्येक प्रहार र गोलले मुलुकको राष्ट्रियता तरंगित पारिरहेको हुन्छ । यस्तोमा घरेलु दर्शक केवल आफ्नो टोलीका लागि मात्र उत्साहित नभई प्रतियोगितामा सहभागी अन्य टिमको हौसला बढाउनेतर्फ पनि उत्तिकै उदार हुनुपर्दछ । नेपाल नखेलेको एउटा सेमिफाइनल र फाइनलमा पनि दर्शकको अभाव उल्लेखनीय थियो । खेलमा जित र हार सामान्य एवं साश्वत कुरा हो । यसलाई त्यसैअनुरूप खेलभावनाको रूपमा स्वीकार गर्नु पर्दछ ।
भारत, बंगलादेश र माल्दिभ्सपछि साफ फुटबलको नयाँ विजेता बन्न सफल अफगानिस्तानलाई बधाई’

प्रतिक्रिया