विशेष सुरक्षा योजना लागु

रत्ननगर : सवारी दुर्घटना न्यूनीकरण तथा चोरीतस्करी नियन्त्रणका लागि आजदेखि जिल्ला प्रहरी कार्यालय चितवनले ‘विशेष सुरक्षा अभियान’ सुरु गरेको छ ।  चितवनको भरतपुर नगरपालिका क्षेत्रका विभिन्न स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरी शंकास्पद व्यक्ति, सवारीसाधन, स्थानको तलासी, पक्राउ, गैरकानुनी क्रियाकलाप रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्न अभियान सञ्चालन गरिएको चितवनका प्रहरी प्रमुख दीपकुमार थापाले जानकारी दिए ।
उनका अनुसार विशेष सुरक्षा अभियानमा यहाँका विभिन्न नाकामा एक सय ८५ जना प्रहरी परिचालन गरिएको छ । भरतपुरका विभिन्न २० स्थानमा अस्थायी जाँच चौकी स्थापना गरेर अभियान सुरु गरिएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा तीन क्षेत्रअन्तर्गत कनिष्ठ प्रहरी अधिकृतको नेतृत्वमा २० वटा नाका स्थापना गरी अभियान सुरु गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । मुख्यगरी सवारी दुर्घटनामा नियन्त्रण, मादकपदार्थ सेवनमा नियन्त्रण, रातको समयमा हुनसक्ने चोरी, डकैती, झै–झगडालगायत अपराध नियन्त्रण, सामाजिक अपराध एवं गुण्डागर्दी नियन्त्रणका लागि अभियान थालिएको प्रहरीले आज विज्ञप्ति जारी गरी जनाएको छ ।
यस्तै स्थगित भएको स्ववियुको चुनावको बहानामा हुनसक्ने गैरकानुनी कार्य एवं गुण्डागर्दी रोक्ने र समाज एवं सर्वसाधारणमा भरपर्दो शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन अभियान सुरु गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । पहिलो चरणको एक हप्तासम्मको कार्यक्रमको मूल्यांकन गरी पुन: अर्काे चरणको अभियान थाल्ने योजना रहेको प्रहरीले जानकारी दिएको छ । (सौस)

प्रतिक्रिया