पार्टी फेर्दा चरित्रको कुरा किन ?

urmila-aryalपछिल्लो पोलिटब्युरो बैठकपछि एमालेमा एकछिन पनि बस्न मन लागेन मलाई । जहाँ आफ्ना कुरा सुनुवाइ हुँदैनन्, त्यहाँ बसिरहनुको के अर्थ ? एक हप्ताअघि एमाओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेँ– ‘कमरेड, मैले एमाले छोडेँ, अब तपाईंको पार्टीमा आउनुपर्ला जस्तो छ । बसेर कुरा गरौँ ।’ उहाँ उत्साहित हुनुभयो– ‘हुन्छ, बसेर कुरा गरौँ न ।’ कुराकानीका क्रममा उहाँले सोध्नुभयो– ‘हाम्रो पार्टीमा आउँदा तपाईंका अपेक्षा के रहनेछन् ?’ मैले भनेँ– ‘मेरो कुनै अपेक्षा छैन । मसँगै आउने साथीहरूको उचित मूल्यांकन होस्, उनीहरूले चित्त दुखाउने ठाउँ नरहोस्, त्यत्ति भए पुग्छ ।’
एक्लै निर्णय गरेँ । कि एमाले छाडेर त्यसै बस्नुपर्‍यो कि त अर्को पार्टी खोल्नुपर्‍यो । त्यो तागत मसँग छैन । आफूसँग न धन छ न त डन छन्, पार्टी चलाउन । फेरि, यो उमेरमा कता पार्टी खोल्दै हिँड्नु । तुलना गरेँ, नेपालका अरू कम्युनिस्ट पार्टीभन्दा एमाओवादी ठीक लाग्यो । त्यसैले त्यतै गएँ । कतिपय विकृति एमाओवादीमा पनि नरहेको होइन तर अरूमा जतिचाहिँ छैनन् । एमाओवादीले हेटौंडा महाधिवेशनपछि जनयुद्धको नीति छोडेर शान्तिपूर्ण तबरले पार्टी चलाउने निर्णय गर्‍यो । सिर्जनात्मक काममा अघि बढ्ने सोच बनायो । यी कुराहरूले मलाई आकर्षित पारिराखेकै थिए ।
एमाले छोड्नुका कारणहरूको लामो सिलसिला छ । पहिलो कुरा त पार्टीमा सैद्धान्तिक प्रस्टता हराउँदै गयो । आज एउटा निर्णय गर्ने, विस्तारै आफैँ त्यसको विरुद्धमा जाने । कटुवाल प्रकरण, लोकमानसिंह कार्कीको सबालमा होस् वा संघीयताको, एमालेमा ढुलमुले प्रवृत्ति देखियो । जातीयताको सबालमा पनि कहिले के बोलेको छ कहिले के † त्यति बेला म पनि भएर गरेको निर्णय हुनाले मैले त्यसको भागीदार हुनुपर्छ ।
तर, यति बेलाचाहिँ मेरो सोचाइ र माओवादीको विचार मिल्छ । ऊ कार्यकर्तालाई उत्पादनसँग जोड्न चाहन्छ, म पनि । आफ्नो सीप, क्षमता र अनुभवलाई काम लाग्ने ठाउँ खोजेर एमाओवादीमा गएकी हुँ । पार्टीमा यो स्थान दिनु भनेर मागेकी छुइनँ । ‘मेरो योजना कार्यान्वयन गर्न केही गाउँ दिनु, त्यहाँ गएर आफ्ना योजना लागू गर्छु, कार्यकर्तालाई उत्पादनमा सहभागी भएर बाँच्न सिकाउँछु’ भनेकी छु ।
०५६ सालको निर्वाचनमा एमाले सकिन्छ, ध्वस्त हुन्छ भन्नेहरू धेरै थिए । तर, नौमहिने सरकारको ब्याजले एमालेलाई त्यतिबेला बचायो । स्थानीय स्तरमा भएका रचनात्मक कामकै कारण एमाले बच्यो । जनताको चाहना बुझेर भावनात्मक रूपमा काम गर्दा पार्टी स्थापित हुने थियो, तर त्यो गर्न सकेन । त्यसैले ओह्रालो लाग्दै छ । एमाले विस्थापित हुँदै गएको पछिल्ला दिनमा देखिँदै छ । जनताका बीचमा जाने, उनीहरूका कुरा सुन्ने, कार्यकर्ताको भावना बुझ्ने सबालमा एमाले पछि पर्दै गयो । कार्यकर्ताको मूल्यांकन र जिम्मेवारीमा नेतृत्व चुक्दै छ ।
पार्टी फेरेपछि मलाई अवसरवादी भन्नेहरू धेरै देखेँ । युवा उमेरमा ठीक भनिएको मेरो चरित्रमाथि आज ५७ वर्षको उमेरमा औँला ठड्याइँदै छन् । एमालेमा रहुन्जेल नैतिकवान्, चरित्रवान् उर्मिला थिएँ । पार्टी फेरेपछि सबै कुरा खराब भए । यस्तो कसरी हुन्छ ? कुनै पनि पार्टीमा मान्छे राजनीतिक आदर्शका आधारमा रहने हो । एमालेले आफ्ना आदर्श, नैतिकता गुमाउँदै गयो, त्यसैले छाडेँ । सामान्य किसानकी छोरी, दुईपटक मन्त्री भएँ । कुनै बेला देशकै सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य भएँ । योभन्दा बढी केही पाउँला भन्ने छैन । त्यसैले कुनै महत्त्वाकांक्षाले गर्दा एमाओवादी भएकी हुइनँ । जे पाएँ सोचेभन्दा बढी पाएँ, अब केही चाहिएको पनि छैन ।
मसालबाट एमाले पनि सजिलै भएकी थिइनँ । वाचस्पति देवकोटाले भन्नुभयो, ‘नेपालको प्रजातान्त्रिक आन्दोलन सबैको सहकार्यमा मात्र सम्भव छ । ०४६ को परिवर्तन फेरि भँड्खालोमा जाने भयो, पञ्चायतको पुनरागमन होलाजस्तो छ । कम्युनिस्ट र कांग्रेस मिलेर जानुपर्छ ।’ हो जस्तो लाग्यो, त्यसैले एमाले भएँ । तेह्र वर्ष एमालेको राजनीति गरेँ । सधैँ पद र प्रतिष्ठा पाइएन, दु:ख पनि त पाइयो । आवश्यक सबै काम गरियो । पर्साको गाउँमा जे गरेँ, त्यो मेरो निजी काम थिएन, एमालेकै लागि गरियो । बन्दा एमाले बन्यो, म होइन ।
म एमाले हुँदा उक्त पार्टी ठूलो थियो । आज एमाओवादी सबैभन्दा ठूलो छ । यही आधारमा कतिलाई म अवसरवादी लाग्न सक्ला । तर, यो गलत हो । एमाले सुध्रिन नचाहेकाले नै म बाध्य भएकी हुँ । ऊ आफँै दिनदिनै कमजोर बन्दै छ । संविधानसभा निर्वाचनको परिणाम र पार्टीको अवस्थाबारे समीक्षा गरेन । यसबारे कयौँपटक पार्टीमा कुरो उठाएँ । सदस्यता वितरण ठेकेदारी प्रथामा चलेको छ, विचार र आस्थाको आधारमा हैन । जब अधिवेशन आउँछन्, एउटाले सबैको पैसा तिरिदिने र सदस्य बनाउने । अधिवेशन सकिनासाथ सदस्य हराउने प्रथा हाबी हुन थाल्यो । नाचगान गरेर झन्डा हल्लाएको भरमा पार्टी चल्दैन । पटकपटक सचेत गराएँ– ‘आन्तरिक संरचना कमजोर हुँदै छ ।’ तर, नेतृत्व कानमा तेल हालेर बस्यो ।
मसाल छोड्ने निर्णय गर्दा एमाले सैद्धान्तिक र वैचारिक बाटोमा दृढ होला, विचलन नहोला भन्ने लागेको थियो । तर, त्यसो भएन । मनमोहन अधिकारीको निधनसँगै एमालेमा पलायनवादी चिन्तन हाबी भयो । सुधारका लागि पटकपटक सुझाव दिएँ । तर, पार्टी नीतिभन्दा गुटमा रमाउन थाल्यो । अहिलेको एमाओवादी बनाउने एमाले नै हो । गत संविधानसभा निर्वाचनमा जितेका एमाओवादीका ६९ जना सभासद् एमालेका पूर्वनेता–कार्यकर्ता थिए । एमालेले सधैँभरि यो फलानो पार्टीबाट आएको भन्ने दृष्टिले हेरिरह्यो । अहिले पनि एमालेका थोरै नेतृमध्ये थिएँ । प्राय: सबै समकालीन छौँ । अझ कत्ति जुनियरलाई माथि लाने काम भएको छ । गुटका लागि सिनियरलाई पाखा लगाएर जुनियरलाई काखी च्याप्ने काम हुँदै छ । त्यसले गर्दा पार्टी दुब्लाउँदै छ ।
एमालेमा एकातिर वैचारिक धार बोधो हुँदै छ, अर्कातिर कार्यकर्ताको मूल्यांकनपद्धति । व्यक्तिगत स्वार्थका लागि बहुकेन्द्र हाबी हुँदै दक्षिणपन्थतिर ओह्रालो लाग्दै छ । अध्यक्ष केन्द्रीय कमिटीमा कुनै निर्णय गराउन सक्ने अवस्थामा छैनन् । केन्द्रीय कमिटीले गर्नुपर्ने निर्णय पोलिटब्युरो, स्थायी समिति हुँदै सचिवालयले गर्न थालेको छ । पार्टी केन्द्रीय कमिटीले हैन, सचिवालयले चलाउन थालेको छ । पोलिटब्युरो नाम मात्रको हुने अवस्था आएको छ । म परिभाषित जिम्मेवारी नपाएको भूमिकाविहीन पोलिटब्युरो सदस्य भएकी थिएँ । पार्टीको आन्तरिक संगठन विधानअनुरुप चल्न सकेन । कम्युनिस्ट पार्टीहरू आफ्नो निर्णयमा अटल हुनुपर्ने हो, त्यो भएन । वैचारिक र वर्गीय दृष्टिकोण छैन । वर्ग विश्लेषण गर्ने सवालमा आफूअनुकूल हेर्छ, त्यो माक्र्सवादी चिन्तन होइन ।
एमालेमा मानवीय संवेदनासमेत हराएको छ । कुनै बिरामी नेतालाई भेट्न जाँदा गुटको कुरा उछाल्छन् । जसलाई भेट्यो, उसैको गुटको भन्ने । मलाई पनि त्यसै गरी हेरियो । नेताहरू कार्यकर्ताको मूल्यांकन योग्यता र क्षमताको हैन, आफ्ना नजिकका मान्छेको कुरा सुनेका आधारमा गर्न थाले । कसले कसलाई गाह्रोसाह्रो पर्दा सहयोग गर्‍यो, त्यसैका आधारमा गुट विभाजन गर्ने गलत संस्कार छ । त्यही बहानामा नेता–कार्यकर्तालाई खुइल्याउने प्रवृत्ति बढेको छ ।
पछिल्लो समय अखिल नेपाल महिला संघको राष्ट्रिय सम्मेलनको सन्दर्भलाई लिएर ममाथि धेरै आरोप लगाइए । एमालेको एउटा कार्यकर्ताले अनेमसघंमा नेतृत्व गर्छु भन्नु अपराध हो र ? त्यो संगठनलाई कसैको पेवा बनाउन नहुने मान्यता मेरो थियो । त्यसैले हार्छु भन्ने जानेर पनि चुनाव लडेँ । महिला संघभित्रको एकाधिकार र हैकमवादलाई तोड्न खोजेकी मात्र थिएँ । आफँैलाई लाज लाग्नुपर्ने हो, एउटा जनसंगठनको अध्यक्ष पार्टीको उपाध्यक्ष भएर बस्न । एमालेमा धेरै महिला विद्या भण्डारीभन्दा सिनियर छन् । खोइ उनीहरूको मूल्यांकन ? धेरै महिलाको चाहना थियो– कसैले यो एकाधिकार तोडोस्, दादागिरीको भरमा संगठन चलाउन खोज्ने अनि महिलाको नेतृत्व गर्नुपर्नेमा आफ्नै महिला, कार्यकर्तालाई हेप्ने प्रवृत्ति अन्त्य होस् । आज पनि एमालेमा ठूलो संख्यामा हिजोका नेतृहरू जिम्मेवारीविहीन छन् । कार्यकर्तालाई जिम्मेवारी दिने र व्यवस्थापन गर्ने सवालमा धेरै कुरा उठाएँ, कसैले सुनेनन् । राजनीतिक ब्याकग्राउन्डबाट आएको मान्छेले राजनीतिक स्पेस खोज्नु स्वाभाविक हो । सधैँ लत्रिएर एमाले हुनुपर्छ भन्ने हैन । एमालेको भजन गाएर बसे ठीक, सक्रिय राजनीति गर्ने ठाउँ खोजेर अन्त गए बेठीक भन्न मिल्दैन ।
एमाओवादीमा कार्यकर्ता व्यवस्थापनको पद्धति छ भन्ने लाग्छ । व्यक्तिगत रूपमा प्रचण्डमा त्यो खुबी देखेकी छु । उहाँ आन्तरिक अन्तर्विरोधलाई व्यवस्थापन गर्न सक्नुहुन्छ । एमालेमा फुटाउ र राज गरको नीति हाबी भएको छ । जहाँ कमजोर छ, त्यहीँ फुटाउने । त्यो काम माओवादीमा नहोस् भनेर सचेत गराएकी छु । विश्वास पनि छ । कार्यकर्ता खुइल्याउने काम एमाओवादीमा नहोला । एमालेबाट फुटेर मालेमा जाँदा एमालेले वामदेव गौतमलाई सबैभन्दा ठूलो भ्रष्टाचारी भन्यो । आज पार्टी छोडेर जाने वैद्यलाई एमाओवादीले त्यस्तो निकृष्ट गाली गरेको छैन । यी सबै देख्दा पनि एमाओवादीमा तल्लो स्तरको क्षुुद्रता नहोलाजस्तो लाग्छ ।
कार्यकर्तालाई आत्मनिर्भर बनाउन, उत्पादनसँग जोडेर लैजान कयौँपटक योजना बनाएर पेस गरेँ एमालेमा । सहकारीको मोडेल बनाए । तर, आत्मनिर्भरताको कुरा गर्दा एनजीओपरक भई भन्ने आरोप लगाए । त्यही पर्सामा सहाकारीको योजना बनाएपछि पहिले र पछिको पार्टीको अवस्थामा कत्रो परिवर्तन आयो, तर मूल्यांकन भएन । कार्यकर्तालाई मागेर खाने वा भोकै बस्ने अवस्थामा पुर्‍याउनु हुँदैन भन्ने मान्यता हो मेरो । आज मलाई एमालेका कयौँ नेता ‘पहेँलोपात’ भन्दै छन् । म सफल भए हरियो पात हुँला असफल भए पहेँलो । समयले कसलाई कस्तो बनाउँछ, देखिइहालिन्छ नि †
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया