मधेसमा १ हजारभन्दा बढी आगलागीका घटना

१२ महिलासहित १९ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा आगलागीका घटनाले भयावह स्थिति सिर्जना गरेको देखिएको छ । मधेस प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार मधेसमा दैनिक भइरहेको आगलागीले करोडाँैको क्षति भएको छ । २०८० को साउनदेखि २०८१ को वैशाख २० सम्म मधेस प्रदेशको ८ जिल्लामा १ हजार २६६ आगलागीको घटना भएको छ । यो आधारमा मधेसमा औसतमा प्रतिदिन करिब ४ वटा आगलागी घटना हुने गरेको छ ।

१० महिनाको आगलागी घटनामा १२ महिलासहित १९ जनाको जलेर मृत्यु भएको छ । आगलागीमा परेर १५ जना बालबालिकासहित १३९ जना घाइते भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवाचन्द्र बोहराले बताए । जलेर सबैभन्दा बढी धनुषामा ६ जना, सिरहामा ५ जना, रौतहटमा ३ जना, बारामा २, पर्सा, महोत्तरी र सर्लाहीमा १–१ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा छ ।

प्रवक्ता एसपी बोहराका अनुसार आगलागीमा गत साउनदेखि वैशाख २० सम्म मधेसको ८ वटै जिल्लामा १ हजार १० घरगोठ जलेर नष्ट भएको छ । जसमा कच्ची ६६९, पक्की ८८ र गोठ २५३ छन् । यो आगलागी घटनामा २९६ वटा पशुचौपाया जलेर मरेका छन् भने ११४ वटा चौपाया घाइते भएको तथ्यांकमा उल्लेख छ ।
तथ्यांकअनुसार सबैभन्दा बढी आगलागी घटना सिरहामा २२९ वटा भएको छ भने कम सर्लाहीमा १११ वटा भएको छ । घर जलेको आधारमा सबैभन्दा सप्तरीमा १९४ घरगोठ जलेको छ । क्रमशः महोत्तरीमा १९२, सर्लाहीमा १७७, सिरहामा १३०, बारामा १२९, रौतहटमा ८८, पर्सामा ७५ र धनुषामा २५ घरगोठ जलेर नष्ट भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुुसार आगलागीमा ९९ करोड ६० लाख ३७ हजार ८६४ रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवाचन्द्र बोहरा पछिल्लो समय भएको केही आगलागी घटनामा घनावस्ती, फुसको घर, त्यस बेला चल्ने हावाले वस्तीहरू चपेटामा परेको बताए । ‘गर्मी मौसम छ । घनावस्ती, फुसको घर, त्यस बेला चल्ने हावाले ठूलो आगलागीको घटना भएको छ’ प्रवक्ता बोहरा भन्छन्, ‘बढी क्षति र आगलागी समयमा नियन्त्रणमा आउन नसक्नुमा स्थानीय तहमा दमकलहरूको अभाव छ । छिमेकी पालिका र जिल्लाहरूबाट दमकल मगाउनुपर्ने कारण तत्कालै नियन्त्रणमा कठिनाइ हुन्छ । प्राविधिक कुराहरूको अभाव हुन्छ ।’ आगलागी घटना नियन्त्रण जनचेतना र सतर्कता नै विकल्प भएको प्रवक्ता बोहराको तर्क छ ।

प्रतिक्रिया