जितपुरसिमराले जटिल रोगका बिरामीलाई मासिक ५ हजार दिँदै

बारा । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाले जटिल रोगका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । मिर्गाैला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचारका लागि जितपुरसिमरा उपमहानगरपालिकाले मासिक ५ हजार रुपैयाँ सहयोग गर्दै आइरहेको छ ।

नेपाल सरकारले यी ४ रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय तहमा पठाउने गर्दछ र त्यहीअनुसार जितपुरसिमरा उपमहानगरपालिकाले मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाप्रमुख रबि भाष्करले जानकारी दिए ।

मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारवापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ अनुसार जितपुरसिमरा उपमहानगरपालिकाले माघदेखि चैतसम्म १२१ जना बिरामीलाई ३ महिनाको एकमुष्ठ १५ हजारका दरले सम्बन्धित बिरामीको खातामा रकम जम्मा गरिदिएको जितपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले बताए । जितपुरसिमरा उपमहानगरपालिकाले आफ्नो स्वीकृत कार्यविधिअनुसार मुटुरोग, अल्जाइमर, हेड इन्जुरी, सिकलसेल लगायतका बिरामीहरूलाई पनि उपचारका लागि एकपटकका लागि १० हजार रुपैयाँ सम्मको सहयोग गर्ने गरेको छ ।

प्रतिक्रिया