भूमिकास्थानमा अर्थपूर्ण परामर्श कार्यक्रम

अर्घाखाँची । सामुदायिक वन उपभोक्ता महासंघ अर्घाखाँचीको आयोजननमा सामुदायिक वन अधिकार सुनिश्चिता परियोजनाअन्तर्गत अर्थपूर्ण परामर्श कार्यक्रम भूमिकास्थान नगरपालिकामा सम्पन्न भएको महासंघ अर्घाखाँचीका अध्यक्ष मधुकुमार श्रेष्ठले बताए ।

सामुदायिक वन उपभोक्ताहरूको साझा संस्थाहरूको रूपमा रहेको महासंघले भूमिकास्थान नगरपालिकाका वनउपभोक्ता, जनप्रतिनिधि र अन्य सरोकारवालासँग विद्यमान ऐन, कानुन, अवसर र चुनौतीका साथै उपभोक्ताका अधिकार र कर्तव्यको सवालमा कार्यक्रममा प्रभावकारी रूपमा छलफल गरिएको महासंघका जिल्ला कोषाध्यक्ष लक्ष्मण पराजुलीले बताए ।

वैज्ञानिक वन व्यवस्थापनका नाममा फेकोफनलाई गलत अरोप लगाइएको सामुदायिक वनउपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले बताए । कार्यक्रमका प्रमुख अथितिसमेत रहेका भण्डारीले भने, ‘कर्मचारीलाई गाली गरेर मात्र नेतृत्व उम्कन्न पाइँदैन, कर्मचारीले बनेको कानुन कार्यन्वयन गर्ने हो, जनतालाई झुक्काउने काम पटकपटक लोकतान्त्रिक नेतृत्वबाट भइरहेको छ, हामीहरू नेतृत्व र सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं ।’

कार्यक्रममा उनले भने, ‘नेपालमा वनसम्बन्धी कानुन जनताको पक्षमा नहुनाले किसानका खेतीपातीमा नोक्सानी गरे पनि नियन्त्रण गर्न सकिएको छैन्, आज वनमा काठ कुहिएको छ, जो उमेर पुगेका छन्, ढलापडा, सुखर खडा रुख काट्न पाउनुपर्छ, हाम्रो आज पनि जोडदार माग छ ।’

यति धेरै नेपालमै काठ हुँदाहँुदै पनि बाहिरबाट ल्याउने गरेको हामी सबैलाई जानकारी भएको भन्दै भण्डारीले संघीय तहका जिम्मेवार व्यक्तिहरूको बीचमा डलरको कारोबार हुने भएका कारण उपभोक्ता मैत्री कानुन निर्माण हुन नसकेको अध्यक्ष भण्डारीले बताए । अध्यक्ष भण्डारीले अगाडि भने, ‘काठ आगो लागेर कुहेर सक्दा पनि काठ प्रयोग हुन सकेको छैन । सरकार र राजनीतिक नेतृत्व यसप्रति जिम्मेवार छैन ।’

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले वन ऐन कार्यविधी र प्रचलित कानुनको परिधिभित्र रही काम गर्दा केही असहजता भएको भन्दै संघीय सरकारले त्यसउपर छलफल गरी कानुनी जटिलताको सामाधान गर्नुपर्ने बताए ।

सामुदायिक वन उपभोक्ता महासंघले गर्ने काम कर्तव्य अधिकारको बारेमा वन उपभोक्ता महासंघका वन अधिकृत सुजन खनालले सहजीकरण गरेका थिए । कार्यक्रममा नगरउपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्य, वन डिबिजन कार्यालय अर्घाखाँचीका प्रमुख ईश्वरी आचार्य, नगरपालिका योजना शाखा प्रमुख हरिशचन्द्र भुसाल, महासंघका पूर्वकेन्द्रीय सदस्य ईश्वरा प्रोख्रेल, पूर्व जिल्ला अध्यक्ष रामचन्द्र पोख्रेलले किसानको कृषि उत्पादन नष्ट गर्ने वन्यजन्तु नियन्त्रणका र वनको उपभोक्ताले सहज उपयोगका लागि ऐनकानुनमार्फत सहज बनाउनुपर्ने बताए ।

कार्यक्रम महासंघका जिल्ला अध्यक्ष मधुकुमार श्रेष्ठको अध्यक्षता, कोषाध्यक्ष लक्ष्मण पराजुलीको सञ्चालनमा स्थानीय सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया