एकैपटक सबैको सर्वनाश

anil_yogiदेशलाई अनिर्णयको बन्दी बनाएर राजनीतिक दलका नेताले आफूले राजनीति गरिहेका छौँ भन्ने ठानिरहेका छन् भने आगामी दिनमा कल्पना नगरेको मूल्य चुकाउनु पर्नेछ । राजनीतिमा शिष्ट, सभ्य, देशलाई बुझेका र जनताको जीवनशैली नजिकबाट जानेका मानिस लागेका छैनन् भन्न सकिँदैन । तर, राष्ट्र र जनताको यो हाल बनाउँदासम्म विवेकको प्रयोग किन गरिँदैन, स्वाभाविक रूपमा प्रश्न उठिरहेको छ ।
नेपालको राजनीतिमा लागेका नेता लोकतन्त्रप्रति प्रतिबद्ध थिए भने हामी जस्ता सकारात्मक कोणबाट आलोचना गर्ने व्यक्तिहरूका विचारलाई समेटेर समाज कसरी चलाउने, विदेशीको हस्तक्षेप कसरी कम गर्ने भन्ने विषयमा आवश्यक छलफल गरी समाधान निकाल्ने प्रयत्न गर्ने थिए । राजनीतिक दलका नेताका प्रवृत्ति आफू बाह्यशक्तिको प्रभावमा पर्ने र आफ्ना ढोकामा लाम लाग्नेहरूलाई मात्र देशभक्त र राजनीतिकर्मी ठान्ने जुन प्रवृत्ति छ, त्यही प्रवृत्तिले उनीहरूको राजनीतिक जीवन र समाजले गर्ने मर्यादा दिन प्रतिदिन कम्जोर हुँदै छ ।
दलीय राजनीतिमा दलका नेताहरूको राजनीतिक धरातल कम्जोर हुनु भनेको कुनै पनि प्रकारको निंकुशता हाबी हुनु हो भन्ने कुरा दलका नेताहरूले जानेका छैनन् भन्न सकिँदैन । जुन काम गर्दा देश कम्जोर हुन्छ र आफू पनि कम्जोर हुँदै जानुपर्ने हुन्छ त्यो काम दलका नेता के अन्जानमा गरिरहेका छन् त ? त्यो हुनै सक्दैन । नेताहरू आफ्नै कम्जोरीले विदेशीसँग आफ्नो राष्ट्रको पक्षमा आफ्ना राजनीतिक अडान राख्न सक्ने अवस्थामा नरहेका हुँनाले उनीहरू पटकपटक देश र जनतालाई मर्माहत पार्ने अनगिन्ती गल्ती गर्दै छन् । उनीहरूले गरेका गल्ती र कम्जोरीका कारण देश पूर्ण रूपमा पराधीन हुँदै गएको छ ।
अन्जानवश गरिने गल्तीलाई जनताले क्षमा गर्न सक्छन् तर जानीजानी गरिने कम्जोरीलाई जनताले क्षमा गर्न सक्दैनन् । राष्ट्रका लागि एकथान संविधान निर्माण गर्नका लागि दलका नेताले जुन प्रकारको रबैया अपनाए यसले पनि के प्रस्ट भएको छ भने नेताहरू आफ्ना विवेकले स्वतन्त्र भएर राष्ट्रका पक्षमा काम गर्न सकिरहेका छैनन् । यिनलाई बाह्य तागतले पूर्ण रूपमा घेरामा पारेको छ, दलका नेता बाह्यशक्तिको घेराबाट अलग रहन सकेको भए राष्ट्र र जनताको पक्षमा काम गर्न उनीहरूलाई कसैले रोक्न सक्ने थिएनन् ।
राष्ट्रको सर्वस्व हरण हुने अवस्था सिर्जना हुँदासम्म नेताहरूले राजनीतिमा भइरहेको बाह्य चलखेलबाट आफू मक्त हुन नसक्नु र जनतालाई यो विषयमा सुसूचित नगराउनु भनेको गम्भीर प्रकारको राष्ट्र घात र जनघात नै हो । नेपाली जनताको तागत र राष्ट्रप्रतिको बफादारितालाई जानेर पनि दलका नेताले आफूलाई राष्ट्रका पक्षमा उभ्याउन नसक्नु भनेको उनीहरूको राजनीतिक जीवनको एक प्रकारले अन्त्य नै हो भन्दा हुन्छ ।
देश बाँच्ने आधारहरू कम्जोर हुँदै गएका अवस्थामा देशभित्रका राजनीतिक शक्तिहरूबीच जुन प्रकारको एकता र मेलमिलाप हुनपर्ने थियो त्यो भइरहेको छैन । देखिएका राजनीतिक शक्तिहरू हुन वा नदेखिएका सबैलाई निकम्मा सावित गराउँदै यो राष्ट्र कुन अराष्ट्रिय तत्त्वले पर्दा पछाडिबाट चलाइरहेको छ आम जनचासोको विषय भएको छ । विदेशीको पैसा ल्याएर खाने तथाकथित नागरिक अगुवा भन्नेहरूका हरकत अवैधानिक मात्र होइन असन्तुलित देखिँदै छन् । उनीहरूले राष्ट्र भनेका हामी मात्र हौँ भन्ने ठानेका छन् । यिनको राजनीतिक र सामाजिक योग्यता राष्ट्र र जनताले निर्धारण गरेको छैन तापनि यिनले आफूलाई कुनै राजनीतिक दलको जिम्मेवार शक्तिभन्दा आफूलाई कम्जोर ठानिरहेका छैनन् । निरीह नागरिकका नाममा राजनीति गर्ने दलका नेता र आ–आफ्नो राजनीतिक स्वार्थ साध्नका लागि नागरिक अगुवा भन्दै गम्कने मुठ्ठीभर मानिसलाई सञ्चारमाध्यमहरूले के कति कारणले बोकी रहेका छन्, बुझ्न सकिएको छैन ।
विगतका दिनमा राज्यका महत्त्वपूर्ण निकायमा निकम्मा मानिसलाई थुपार्नु हुँदैन भन्ने गरिन्थ्यो अब त कुन कर्मचारी कता राख्ने भन्ने विषय पनि बाह्यशक्तिको निर्णयमा हुने अवस्था सिर्जना गरियो भनिँदै छ । यदि यो सत्य हो र दलका नेताले पनि त्यही कुरा स्वीकार गरेका हुन् भने यो राष्ट्रिय बेइज्जत हो । अबको हाम्रो राजनीतिक यात्रा सजिलो पक्कै पनि हुने छैन । नेपाल देशको अस्मिता र महत्त्व जोगाउन नसक्ने हो भने त्यो फगत राजनीतिक सक्रियता कसैले नदेखाए हुन्छ । दलका नेता र कथित नागरिक अगुवाहरूले जनतालाई भ्रममा पारेर आफ्नो दुनो मात्र सोझ्याउने काम गरेका हुन भने पनि अब त अति भयो ।
यो राष्ट्र राजनीतिक चिन्तनका गरिबहरूको मागिखाने भाँडो भयो, राष्ट्रको जीवनमा घात गर्ने काम सबैपक्ष, तह र तप्काका मानिसबाट निर्वाद रूपमा किन हुँदै छ ? कम्जोर राज्यसँग आफ्ना अधिकार मात्र खोज्ने तत्त्व र व्यक्तिहरू कहाँबाट आइपुगे ? ती तत्त्वहरूको भोक कसले जगाइदियो ? देशका लागि कसैले योगदान दिन पर्दैन ? पैसा कसैले अगाडि राखिदियो भने राष्ट्रलाई बेचिदिने हुनकि भन्ने जनताले खतरा महसुस गर्न थालेका छन् ।
यो ध्रुवसत्य आजको यथार्थलाई केवल भावना मात्र हो भन्ने ठानियो भने सबैको दुर्दशा एकैपटक आउन सक्छ । पर्दापछाडिबाट दलका नेतालाई राजनीतिक रूपमा कम्जोर बनाउने काम कसले गर्दै छ ? यो विषयमा दलका नेता जानकार छैनन् ? समस्याका चाङ मात्र लगाउने समाधान नखोज्ने प्रवृत्तिलाई लोकतान्त्रिक राजनीतिक प्रणाली हो भनेर स्वीकार गर्न सजिलो छैन । फेरि पनि आजको धरातलीय यथार्थ के हो भने देशभित्रका सबै राजनीतिक शक्तिहरूको आपसी एकता अपरिहार्य भएको छ ।
राजनीतिक विचार जसको जे भए पनि देशको अस्तित्व धरापमा परेको बेलामा र सिदेशीहरू गलत उद्देश्यका साथ यो राष्ट्रमा भित्री रूपमा चलखेल गरिरहेका अवस्थामा नेपालभित्रका राजनीतिक शक्तिहरूबीच एक प्रकारको एकता हुनु जरुरी छ भन्ने जानकारहरूको भनाइ गलत छैन । जनतालाई आपसमै जुधाएर सहिदका चाङ लगाउने अधर्मी काम दलका नेतालाई सचेत नागरिकले अब गर्न दिनु हुँदैन ।
विगतको बर्बादीपूर्ण युद्धलाई सामना नगरेकाहरू फेरि पनि युद्ध गराएर रमाइलो गर्ने विचारमा हुन सक्छन् । जसले त्यो बर्बतापूर्ण युद्ध भोगेका थिए र नजिकबाट देखेका थिए तिनीहरूले अब नेपाली जनताबीचको अर्को युद्धको कल्पना पनि गर्न सक्दैनन् । परिवर्तनको नाममा, क्रान्तिको नाममा केवल मुठ्ठीभर ठालुहरू उत्पादन गर्ने काममा निमुखा जनताको बलिदानी अब आवश्यक छैन । यो सत्य उजागर गर्न सकिएन भने एकैपटक सबैको सर्वनाश हुने खतरालाई नकार्न मिल्दैन । सबैलाई चेतना भया ।
[email protected]

प्रतिक्रिया