किशोरी बलात्कारका आरोपीविरुद्ध मुद्दा

नुवाकोट, १४ वैशाख । बलात्कारको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । नुवाकोट, चौघडा–१ निवासी एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पुष्कर मिजार नाम गरेकालाई पक्राउ गरी जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ता गराएको छ ।

किशोरी गर्भवती भएको थाहा भएपछि आफन्तले सोधीखोजी गर्दा तथ्य पत्ता लागेको हो । ३५ वर्षीय मिजारले गत माघ ४ मा छिमेकीको घरमा पूजामा गएको मौका छोपी जबरजस्ती करणी गरेको अभियोगमा मिजारलाई पक्राउ गरी जिल्ला मुद्दा चलाइएको छ । बलात्कृत भएको कसैलाई बताए ज्यान मार्ने धम्की मिजारले दिएका कारण आफू चुप लागेको किशोरीको भनाइ छ । किशोरी तीन महिनाकी गर्भिणी रहेको परीक्षणबाट पत्ता लागेको प्रहरी नायब निरीक्षक लक्ष्मण गौतमले बताए । पक्राउ परेका मिजारकी श्रीमतीसहित तीन सन्तान छन् ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय, नुवाकोटले लच्याङ गाविस–२ का मसिनी भनिने सानुकान्छी तामाङलाई बोक्सीको आरोप कुटपिट गर्ने थप एक वृद्धालाई पक्राउ गरिएको छ । लच्याङकै ६० वर्षीया ठूलीमाया तामाङलाई मुलुकी ऐन २०२० अनुसार बोक्सीको आरोपमा कुटपिटअन्तर्गत मुद्दा चलाएर अनुसन्धान गरिएको छ । कान्छीमायालाई गत चैत २६ मा स्थानीय मंगलादेवी आमा समूह तथा गाउँलेहरूले घरको थाममा बाँधेर याताना दिएको उजुरीको आधारमा नुवाकोट प्रहरीले घटनामा संलग्न भएको आरोपमा ८ लाई यसअघि नै पक्राउ गरिसकेको छ ।
कुटपिटपछि गाउँ फर्किन नसकेकी पीडित कान्छीमाया यसैसाता गाउँ फर्किएकी छिन् । प्रहरी र विभिन्न संघसंस्थाको सहयोगमा उनलाई गाउँमा पुन:स्थापना गराइएको हो ।
त्यसैगरी, बेच्न लैजाँदै गरेकी शिखरवेसी गाविसकी दुई किशोरीलाई स्थानीयबासीको सहयोगमा प्रहरीले उद्धार गरेको छ । शिखरबेँसी–५ र ६ का १६ वर्षीया दुई किशोरीलाई गणेशस्थान गाविसको फेदीबेँसीबाट उद्धार गरिएको हो । घ्याङफेदीका दुई दलालले किशोरीहरूलाई ललाईफकाई पैदल मार्गबाट ल्याइरहेको बेला उनीहरूको उद्धार गरिएको हो । फेदीबेँसीवासीले शंका लागेपछि प्रहरी र बेचबिखनविरुद्ध क्रियाशील संघसंस्थालाई खबर गरेपछि उद्धार गर्न सकिएको कोसेली नेपालकी अध्यक्ष अस्मिता थापाले जानकारी दिइन् । स्थानीयले प्रहरीलाई खबर गरेको थाहा पाएपछि दलालहरू भागेका थिए । दुवै युवतीलाई प्रहरीले अभिभावकको जिम्मा लगाएर पठाएको छ ।

प्रतिक्रिया