गाविस सचिवको काम प्राविधिकबाट

रौतहट : सुगम ठाउँमा पनि गाविस सचिव नबस्दा सर्वसाधारणलाई सास्ती भएको छ । गंगा पिप्रा गाविसको कार्यालय नखुलेको झन्डै चार वर्ष भएको स्थानीयवासी बताउँछन् । गाविस सचिव झगरु मन्सुरी र प्राविधिक सहायक राजु झा दुवैजना कार्यालयमा नआएपछि केही स्थानीयवासीले यसलाई व्यक्तिगत काममा प्रयोग गर्न थालेका छन् ।
जिल्ला सदरमुकाम गौरबाट १० किलोमिटरको दूरीमा रहेको उक्त गाविसका बासिन्दाले सचिवको अनुहारसमेत देख्न पाएका छैनन् । सचिव मन्सुरीले कामको जिम्मा प्राविधिक सहायक झालाई दिएपछि उनले गाविसका सबै काम सदरमुकाममै गर्दै आएका छन् । गाउँमा सचिव र प्राविधिक सहायक नबस्दा जन्मदर्ता, नागरिकता, मृत्युदर्ता, विभिन्न सिफारिस, नाता प्रमाणितलगायत काम गराउन जनता सदरमुकाममा सचिव खोज्दै भौतारिन बाध्य बनेका छन् ।
सम्बन्धित निकायले बारम्बार गाउँमै बसेर काम गर्न निर्देशन दिए पनि सचिवले टेरपुछर लगाएका छैनन् । रौतहटका अधिकांश गाविस सचिव सदरमुकाममै बसेर काम गरिरहेका छन् । जिल्ला विकास समितिको चउरमा बसेर उनीहरूले गाविसको काम गर्दै आएका छन् । (सौस)

प्रतिक्रिया