तरुण दलको महाधिवेशन माघमा

काठमाडौं, १९ असोज । आन्तरिक विवादका कारण समयमा हुन नसकेको कांग्रेस भ्रातृसंगठन तरुण दलको महाधिवेशन माघमा हुने भएको छ । तरुण दलले बिहीबार राजधानीमा १४ असोजदेखि दुई दिन बसेको बैठकको निर्णय सार्वजनिक गर्दै २० माघमा चौथो महाधिवेशन गर्ने जानकारी दिएको हो ।
दलका अध्यक्ष उदयशमशेर राणाले २० पुससम्ममा गाउँ, नगर र जिल्ला अधिवेशन सकी २० माघमा केन्द्रीय महाधिवेशन गरिने जानकारी दिए । संक्रमणकालीन अवस्थालाई निकासको मार्गमा उन्मुख गराउनु दलको मुख्य उद्देश्य रहेको अध्यक्ष राणाले बताए । भने, ‘महँगी र सर्वसत्तावाद लाद्ने सरकारको कदमलाई गम्भीर रूपमा लिएका छौँ ।’
‘युवा जोश र सोचले बन्छ देश अवश्य, टोल–टोलमा बनौँ तरुण दलको सदस्य’ भन्ने नाराका साथ अधिवेशन गर्ने पनि दलले जनाएको छ । ०६८ माघमा राणाको अध्यक्षतामा तरुण दलको तदर्थ समिति बने पनि आफूहरू बहुमतमा नरहेको भन्दै वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले असन्तुष्टि जनाएको थियो । विवाद मिलाउन अध्यक्षको सामान्य बहुमत पुग्ने गरी ६ सदस्य थपिएपछि विवाद मिलेको थियो । (सौस)

प्रतिक्रिया