असन्तुष्टले छाड्न थालेपछि कांग्रेसमा खैलाबैला

काठमाडौं, १८ असोज । जातीय पहिचानसहितको संघीयता पक्षधर कांग्रेसका पूर्वसभासद्सहितको एक समूहले पार्टी त्यागेको घोषणा गरेको छ । उत्पीडनमा परेका जाति तथा समुदायलाई संविधानसभामार्फत अधिकार दिलाउन कांग्रेस नेतृत्व असफल भएको भन्दै पूर्वसभासद् कुमार राई नेतृत्वको समूहले पार्टी त्यागेको घोषणा गरेको हो ।
बौद्धमा बुधबार दिउँसो एक कार्यक्रम गरी पूर्वसभासद् राईसहित तीन दर्जन नेता तथा कार्यकर्ताले कांग्रेस छाडेको घोषणा गरे । कांग्रेसकै कारण पनि संविधानसभा विघटन भएको उनीहरूले बताए । ‘संविधानका विवादित विषयमा मतदानका लागि नेपाली कांग्रेसले अग्रसरता लिनुपथ्र्यो,’ पूर्वसभासद् राईले सौर्यसँग भने, ‘समाजवाद र लोकतन्त्रमा विश्वास गर्ने पार्टी भन्ने तर विवादित विषयमा मतदानमा जान डराएर आºनो सैद्धान्तिक आधार नै गुमाएपछि हामी कांग्रेस भनेर बसिरहन सकेनौँ ।’
राई भोजपुरबाट समानुपातिकबाट सभासद् बनेका थिए । गणतन्त्र ल्याउन तथा राजनीतिक परिवर्तनमा नेतृत्व गरे पनि उत्पीडितको हक सुनिश्चित गर्न प्रभावकारी भूमिका निर्वाह गर्न कांग्रेस असमर्थ रहेकाले पार्टी त्याग्नुपरेको उनको भनाइ छ । उनले कांग्रेसले आºनो राजनीतिक धरातल गुमाइसकेको भन्दै सबै प्रकारका विभेद अन्त्यको पक्षमा रहेका कांग्रेस नेता तथा कार्यकर्तालाई पनि पार्टी त्याग्न आग्रह गरे ।
उनले अब विभेदमा परेकाहरूको आवाज उठाउनेसँग मोर्चाबन्दी गरेर अगाडि बढ्ने पनि बताए । बलियो शक्ति निर्माणमा कुरा मिले अशोक राई नेतृत्वको एमालेको अग्रगामी विचार समूहसित मोर्चाबन्दी गर्न सकिने पनि उनको भनाइ छ । एमालेमा असन्तुष्ट रहेका राई नेतृत्वको समूहले बिहीबार पार्टी त्यागको कार्यक्रम राखेका छन् ।
‘केन्द्रीकृत सामन्तवादी सत्ताबाट उत्पीडनमा पारिएका आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, कर्णाली क्षेत्रवासी, सीमान्तकृत अल्पसंख्यक तथा पिछडावर्गले भोगेको २५० वर्षको पीडालाई संविधानसभाबाट संविधान निर्माण गरी सम्बोधन गरिएन,’ उनीहरूको त्यागपत्रमा भनिएको छ । दुई वर्षको जनादेश पाएको संविधानसभाको आयु चार वर्ष पुर्‍याउँदा पनि संविधान नबन्नुमा एमाओवादी, कांग्रेस, एमाले नेतृत्व मुख्य दोषी रहेको पूर्वसभासद् राईको आरोप थियो । ‘राज्य पुन:संरचनासम्बन्धी उच्चस्तरीय सुझाव आयोगको १० प्रदेशको प्रस्तावलाई नमान्दै संविधानसभा विघटनसम्म पुग्नुमा कांग्रेससमेत दोषी छ,’ उनले भने ।
कांग्रेस त्याग्नेमा नेताहरूमा पूर्वसभासद् राई, कांग्रेस संखुवासभाका पूर्वसांसद दुर्गामणि देवान, ओखलढुंगाका जुद्धबहादुर राई, सिन्धुलीका उपसभापति बुद्धराज राई, नवलपरासीका राजकुमार महतोलगायत छन् । संघीयताबारे पार्टी नेतृत्वसँग असन्तुष्ट इन्द्रबहादुर गुरुङ, जिपछिरिङ लामालगायत भने पार्टीले पहिचान स्वीकार गर्ने आसमा तत्काल पार्टीमै संघर्ष गर्नुपर्ने पक्षमा छन् ।
‘जनजातिका माग जायज’
काठमाडौं : जातीय पहिचानसहितको संघीयता पक्षधर नेताले पार्टी छाड्न थालेपछि कांग्रेसले उनीहरूको माग सम्बोधनका लागि पहल थालेको छ । संघीयता, समावेशिता तथा जातीय पहिचानका विषयमा पार्टी नेतृत्व प्रस्ट हुन नसकेको भन्दै पूर्वसभासद् कुमार राई नेतृत्वको समूहले बुधबार पार्टी त्यागको घोषणा गर्ने भएपछि कांग्रेसले माग सम्बोधनका लागि छलफल थालेको हो ।
पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बुधबार बिहान बसेको पदाधिकारी तथा नेताहरूको बैठकमा आदिवासी जनजातिलगायत असन्तुष्ट पक्षका माग सम्बोधन गर्ने विषयमा छलफल भएको थियो । बैठकले असन्तुष्ट पक्षका माग जायज भएकाले लोकतान्त्रिक विधिबाटै माग सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
पार्टी केन्द्रीय सदस्य भीमबहादुर तामाङ संयोजकत्वको समितिले असन्तुष्टका मागका विषयमा सुझावसहित बुझाएको प्रतिवेदनमा शीर्ष नेतृत्व र समितिका सदस्यहरूबीच छलफल सुरु भएको हो । संघीयताबारे असन्तुष्ट नेताहरूले पार्टी नेतृत्वको धारणा माग गर्दै ११ बुँदे माग राखेपछि कांग्रेसले सुझाव दिन तामाङको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले डेढ महिनाअघि नै प्रतिवेदन पार्टीसमक्ष बुझाएको थियो ।
वरिष्ठ नेता शेरबहादुर देउवाले आदिवासी जनजातिका मुद्दा र माग जायज भएकाले सम्बोधन गरिने बताए । ‘आदिवासीका माग र मुद्दाप्रति नेपाली कांग्रेस गम्भीर छ,’ नेता देउवाले भने, ‘पार्टीमा छलफल गरेर जनजातिका जायज माग सम्बोधन गरिनेछ ।’
समितिका सदस्य एवं पार्टी केन्द्रीय सदस्य महेश आचार्यले जनजातिका माग सम्बोधन गर्ने गरी प्रतिवेदन बनेको दाबी गरे । जनजातिका मागबारे छलफल सुरु भएको जानकारी दिँदै नेता आचार्यले शीर्ष छलफलपछि बस्ने केन्द्रीय समिति बैठकले आधिकारिक धारणा तय गर्ने बताए । प्रतिवेदनका विषयमा बिहीबार पनि छलफल हुने भएको छ । (सौस)

प्रतिक्रिया