फिल्महल बन्दको असर

नेकपा–माओवादीले छेँडेको भारतविरोधी अभियानले विस्तारै गति लिन थालेको छ । अभियानको प्रभावस्वरूप काठमाडौं उपत्यकामा हिन्दी चलचित्रको प्रदर्शन सोमबारदेखि ठप्प रहयो । हिन्दी चलचित्र प्रदर्शन गर्न नपाउँदा कतिपय हल बन्द नै भएका छन् भने कतिपयले हिन्दीको साटो नेपाली चलचित्र लगाएका छन् । हिन्दी चलचित्र चलाउन नपाएकोमा हलवालाहरू सन्तुष्ट छैनन् । उनीहरूले आफ्नो व्यापार डामाडोल भएको बताएका छन् । विशेषगरी हिन्दी र अंग्रेजी चलचित्र मात्रै लगाउन चाहने महंगा मल्टिप्लेक्सहरूलाई नेकपा–माओवादीको आन्दोलनले आहत तुल्याएको छ ।
के नेपालमा हिन्दी चलचित्रलाई पूर्णरूपमा वर्जित गरिनुपर्छ ? नेकपा–माओवादीको आन्दोलनले एउटा जटिल प्रश्न खडा गरेको छ । नेपालमा हिन्दी चलचित्रको दबदवा अनियन्त्रितरूपमा बढिरहेको सत्य हो । हिन्दी चलचित्रको मारमा परेर नेपाली चलचित्र माथि उठ्न नसकेको पनि सत्य हो । तर, नेकपा–माओवादीले सञ्चालन गरेको दबाबमूलक आन्दोलनले यसको समाधान दिँदैन । २–४ दिन हिन्दी चलचित्रलाई बन्देज लगाएर नेपाली चलचित्र उद्योगलाई फाइदा पुग्ने होइन । नेपालमा हिन्दी चलचित्रको प्रभुत्त्व नियन्त्रण गर्न सरकारी स्तरबाट नै दीर्घकालीन नीति बनाउनुपर्छ । महंगा हिन्दी फिल्मसित ठाडो प्रतिस्पर्धा गरेर नेपाली चलचित्र बजारमा टिक्न सक्दैनन् । यसबाट नेपाली चलचित्र उद्योगलाई त्राण दिनको निम्ति हिन्दी चलचित्रलाई कुनै न कुनै तवरबाट त्राण दिनैपर्छ ।
त्यसो त नेपाली चलचित्र उद्योग माथि उठ्न नसक्नुमा भारतीय चलचित्रको खुला हस्तक्षेप मात्रै कारण होइन । आफ्नै कारणले पनि नेपाली चलचित्रको बजार विस्तार हुन सकिरहेको छैन । गुणात्मकरूपमा स्तरोन्नति गर्न नसक्नु नेपाली चलचित्रको मुख्य कमजोरी हो । केवल हिन्दी चलचित्रको ठाडो नक्कल गर्ने परम्परा नेपाली चलचित्र उद्योगमा छ । प्रतिस्पर्धामा टिक्नका लागि नेपाली चलचित्रले त्यो मौलिक खुराक दिनुपर्छ जुन दर्शकले हिन्दी चलचित्रबाट पाउँदैनन् । धेरै बजेट खर्च गरेर मात्र राम्रो चलचित्र बन्न सक्दैन वा कम बजेटका चलचित्र सबै नराम्रा हुँदैनन् भन्ने उदाहरण थुप्रै छन् । फरक विषयवस्तुकै कारण लुट र चपलिहाइट जस्ता चलचित्रले पछिल्लो समय निकै व्यापार गरेका थिए । हिन्दी चलचित्रसित जुधेर नै उनीहरूले सफलता पाएका हुन् भन्ने बिर्सनुहँुदैन । हिन्दी चलचित्रलाई उच्च कर लगाएर वा रिलिज भएको निश्चित अवधिपछि चलाउन दिने नीति बनाएर केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । एकैचोटि पूर्णबन्देज लगाउँदा देशभर रहेका हजारौँ चलचित्र हलहरू बन्द गर्ने अवस्था आउन सक्नेछ र त्यसले अन्तत: नेपाली अर्थतन्त्रलाई नै प्रभावित पार्नेछ ।
नेकपा–माओवादीको आन्दोलन राष्ट्रियतासित सम्बन्धित छ तर उसको आशय भने राजनीतिक देखिन्छ । नेपाली जनताको भारतविरोधी मनोविज्ञानलाई प्रयोग गरेर आफ्नो राजनीतिक उद्देश्य पूर्ति गर्न खोजेको आरोप लाग्दै आएको छ । हुन पनि नेपालमा सत्तामा नरहेका राजनीतिक दल विशेषगरी कम्युनिस्टले भारतको विरोधलाई जनसमर्थन हासिल गर्ने मूल अस्त्र बनाउँदै आएका छन् । तिनै दल सत्तामा पुग्नासाथै बोली बदल्ने मात्रै होइन, भारतको गुलामी नै गर्ने गरेको पाइन्छ । यसअघि एनेकपा (माओवादी) ले पनि सत्तामा नरहेका बेला राष्ट्रिय स्वाधीनताको आन्दोलनका नाममा भारतविरोधी आन्दोलन सञ्चालन गरेकै हो । तर, त्यो आन्दोलन अन्तत: कुनै उपलब्धिविना टुंगियो । नेकपा–माओवादीले पनि क्षणिक आवेगमा आएर प्रपोगन्डा सिर्जना गर्न खोजेको हो भने त्यसले अन्तत: उसैलाई घाटा तुल्याउँछ । देखावटीरूपमा भारतको विरोध गरेर जनतालाई मूर्ख बनाउने अनि भित्रभित्रै भरतीय नेताहरूकै गुलामी गर्ने नेताहरूको शैलीसित नेपाली जनता राम्रैसित परिचित भइसकेका छन् । भारतको ठाडो विरोध गरेर नेपालले केही हासिल गर्न सक्दैन किनकि नेपालको अर्थतन्त्र अभिन्नरूपले भारतसित गाँसिएको छ । त्यसैले भारतसितको सम्बन्धलाई कसरी समानतामा आधारित बनाउने भनेर कूटनीतिक तवरबाट प्रयास गर्नुपर्छ ।

प्रतिक्रिया