प्रधानमन्त्रीको राजीनामा माग्दै ‘मतदान’

विराटनगर, १ भदौं । सरकारविरुद्ध आन्दोलनरत विपक्षी राजनीतिक दलका युवा विद्यार्थी संगठनले बिहीबार सरकारको वैधताबारे विराटनगरमा नमुना मतदान गरेका छन् ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा माग गर्दै आन्दोलनमा रहेका युवा विद्यार्थीले नमुना मतदान गरेपछि मतदान गर्नेको भिड लागेको थियो । युवा संघ मोरङका उपाध्यक्ष एवं मतदान अधिकृत मुकेश बुढाथोकीका अनुसार प्रधानमन्त्रीलाई पदमुक्त गर्न जनमत जुटाउन आयोजना गरिएको मतदान कार्यक्रममा पाँच हजार मतदाताले मतदान गरेका थिए । बुढाथोकीका अनुसार युवा, विद्यार्थी, राजनीतिकर्मी, मानवअधिकारकर्मी, सञ्चारकर्मी, कानुन व्यवसायी, शिक्षक बुद्धिजीवी, नागरिक समाजका अगुवालगायतले मतदान गरेका थिए । मतदानका लागि दुईबुँदे मतपत्रसमेत तयार पारेर एउटा बुँदालाई छनोट गर्नुपर्ने नियम बनाइएको उपाध्यक्ष बुढाथोकीले बताए ।
प्रधानमन्त्रीको राजीनामा माग गर्दै नेपाली कांग्रेसका भ्रातृसंगठन तरुण दल, नेपाल विद्यार्थी संघ र एमाले भ्रातृसंगठन युवा संघ र अनेरास्ववियुले संयुक्त रूपमा आन्दोलन गरेका छन् । संयुक्त आन्दोलन संयोजन समिति मोरङका संयोजक रविन थापाले मतदानको अवस्था र परिणामबारे पत्रकार सम्मेलन आयोजना गरेर दुई दिनपछि सार्वजनिक गरिने जानकारी दिए । उनका अनुसार बिहीबार बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यक्रम दिउँसो ४ बजे सकिएको थियो ।
थापाका अनुसार मतपत्रमा रहेकामध्ये राष्ट्रघाती बाबुराम भट्टराईको निरन्तरता वा राष्ट्रिय सहमतिको सरकारको आवश्यकता भन्ने दुई प्रश्नमध्ये कुन पक्षमा कति मत खसेको छ भन्नेबारे पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिने भएको हो । विराटनगरको ट्राफिक चोक र महेन्द्र मोरङ क्याम्पसमा मतदान केन्द्र राखेर मतदान कार्यक्रम आयोजना गरिएको तरुण दल मोरङका उपसभापति बाबुराजा कोइरालाले जानकारी दिए । युवा संघका केन्द्रीय सदस्य पर्शुराम बस्नेत, तरुण दलका केन्द्रीय सदस्य उद्धव कोइरालासमेतका नेता तथा कार्यकर्ताले संयुक्त रूपमा मतदान कार्यक्रम उद्घाटन गरेका थिए ।
यस्तै, प्रधानमन्त्री डा. भट्टराईलाई चितवनमा कालोझन्डा देखाउने क्रममा युवा संघका कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको विरोधमा पूर्वाञ्चलका विभिन्न स्थानमा बिहीबार चक्काजाम गरिएको थियो । विराटनगर, इटहरीलगायत पूर्वका विभिन्न स्थानमा दिउँसो ४ बजेदेखि चक्काजाम गरिएको युवा संघका केन्द्रीय सदस्य पर्शुराम बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया