जलमाफियाको चलखेल

जलसम्पदाका दृष्टिकोणले विश्वमै धनी राष्ट्रको सूचीमा परे पनि यो नेपाली मुलुकका जनता दैनिक १४/१५ घन्टासम्म लोडसेडिङ भोग्न विवश छन् । योग्य र कुशल राजनीतिक नेतृत्वको अभाव र राजनीतिक अदूरदर्शिताका कारण आज मुलुकले लोडसेडिङको यो चरम संकटको सामना गर्नु परिरहेको हो । साथै स्वदेशी तथा विदेशी जलमाफिया दलाल र राजनीतिक नेतृत्वबीचको अदृश्य सम्बन्धका कारण अनेकौँ सम्भावना बोकेका जलविद्युत् आयोजनाहरूसमेत निर्माण हुन सकिरहेका छैनन् । यसले नेपालको अपार जलसम्पदाको सक्दो उपयोग गर्नुभन्दा पनि लाइसेन्स मात्रै लिएर विदेशी कम्पनीलाई बिक्री गर्ने व्यापार फस्टाएको छ । त्यस्तै सत्ताबाहिर हुँदा निकै राष्ट्रवादी भाषण गर्ने र सत्तामा पुग्नेबित्तिकै तिनै दलालहरूको छत्रछायामा रमाउने राजनीतिक नेतृत्वको कार्यशैली र संस्कृतिका कारण आज नेपाल लोडसेडिङको यो भयाभह अवस्थाबाट गुज्रन बाध्य छ । आगामी दिनमा मुलुकको हितमा हुने जलविद्युत् आयोजनाहरू निर्माण गर्न योग्य र विश्वासिला निर्माण कम्पनीलाई मात्रै लाइसेन्स दिइनुपर्छ । सँगै ती भ्रष्ट दलालको चंगुलबाट राजनीतिक नेतृत्व उम्कन सक्नुपर्छ । महँगोमा लाइसेन्स बेचेर नाफा कमाउन खोज्ने कमिसनखोर दलालहरू यस्ता आयोजना निर्माण हुन नदिने मुलुकका शत्रु हुन् । उनीहरूको एउटै ध्याउन्न छ कि जसरी पनि राजनीतिक नेतृत्वलाई रिझाइराखेर लाइसेन्स लिइराख्ने र आयोजना निर्माण नगरी तिनै लाइसेन्स विदेशीलाई बेच्ने । जसले गर्दा आज नेपालका सयौँ नदीनालाबाट बगिरहेको अपार पानी त्यत्तिकै खेर गइरहेको छ । तर, हामी नेपाली जनता तिनै नदीनालाको पानी हेर्दै रातिको अन्धकारमा मैनबत्ती र टुकी बालेर रात गुजार्न बाध्य छौँ ।

प्रतिक्रिया