राष्ट्रियतामाथि बहस

नेपाली जनताबीच अहिले राष्ट्रियताको मुद्दाले विशेष चर्चा पाइरहेको छ । यो चर्चाको केन्द्रबिन्दुमा रहेका छन् प्रधानमन्त्री डा. बाबुराम भट्टराई । केही वर्ष अघिसम्म छिमेकी मुलुक भारतविरुद्ध सुरुङ युद्ध गर्ने नीति बनाएको पार्टी माओवादीका उपाध्यक्षसमेत रहेका भट्टराई भारतसँगै विवादमा तानिएका छन् । भनिँदै छ– रािष्ट्रयताका सवालमा यति कमजोर सरकार नेपालमा अहिलेसम्म बनेको थिएन । राष्ट्रियताप्रति सचेत र बाबुरामविरोधी खेमाले भारतसँग डा. भट्टराईको विशेष सम्बन्ध रहेकाले उनीबाट नेपालभन्दा भारतको बढी हित हुने आशंका गरेका छन् । बिप्पा, विमानस्थल काण्ड र भारतीय प्राध्यापक एसडी मुनीद्वारा उद्घाटित वास्तविकताले बाबुराममाथि शंका गर्ने ठाउँ पनि प्रशस्त दिएका छन् । यसबाहेक उनकै पार्टीका आधिकारिक व्यक्तिले प्रधानमन्त्रीको भारतको ‘रअ’सँग घनिष्ट सम्बन्ध भएकाले यिनीसँग सशंकित हुनु स्वाभाविक भएको स्पष्ट पारेका छन् । यो वस्तुस्थितिको मूल्यांकन गर्दा नेपाली जनताबीच चलेको राष्ट्रियताको चर्चा स्वाभाविक देखिन्छ । किनभने व्यक्तिगत रूपमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतप्रति अति नतमस्तक र अनुगृहित रहेको कुराको पोल स्वयं भारतीयले खोलिदिएका छन् । यो नेपाली जनता र मुलुकका लागि सह्य हुन सक्तैन ।
राष्ट्रियता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाधीनता भनेको सुरक्षित भूगोलको मात्र होइन, राजनीति, धर्म, संस्कृति, भाषा र स्वतन्त्रता पनि हो । यसबाहेक सबैभन्दा ठूलो पक्ष भनेको भावना हो, सोच हो र नागरिकको आत्मा हो । त्यसमा पनि उच्च ओहोदामा रहेका व्यक्ति उल्लिखित सवालमा संवेदनशील र गम्भीर बन्नै पर्छ । अहिले राष्ट्रियताप्रति गैरजिम्मेवार भएको आरोप प्रधानमन्त्रीले खेपिरहेका छन् । व्यक्तिगत रूपमा भन्नुपर्दा माओवादी पार्टी भूमिगत रहेकै अवस्थामा पनि बाबुराममाथि ‘भारतीय दलाल’ भन्ने आरोप लागेको थियो । अहिले एसडी मुनीलगायत व्यक्तिले उक्त आरोप डा. बाबुरामका हकमा सत्य भएको पुष्टि गरिदिएका छन् । तर, के चाहिँ नकार्न सकिँदैन भने छिमेकी मुलुक भारतसँग सुमधुर सम्बन्ध राखेकै भरमा कोही पनि अराष्ट्रिय हुन सक्दैन । त्यसमा पनि भौगोलिक रूपले सुगम र नजिकको छिमेकी मित्र राष्ट्रसँग जनस्तरमै भरपर्दो सम्बन्ध स्थापित गर्नुपर्छ । भारत हाम्रो असल छिमेकी मित्र राष्ट्र हो र सधैँ असल रहनुपर्छ । यसमा विवाद छैन । तर, यसो भन्दाभन्दै पनि व्यक्तिगत र क्षुद्र स्वार्थपूर्तिका लागि राष्ट्रहित विपरीतका कुनै पनि कार्य गरिनु हुँदैन ।
‘आफ्नो थैलीको मुख कस्नु, साथीलाई चोर दोष नलगाउनु’ भन्ने नेपाली उखान सबैका लागि मननयोग्य छ । यसले भारतमाथि दोषारोपण गर्नुभन्दा ‘आफ्ना’हरूप्रति सचेत रहन नेपाली जनतालाई सन्देश दिएको छ । डा. भट्टराईले राष्ट्रियता र सार्वभौमिकता जस्ता गम्भीर हुनुपर्ने संवेदनशील विषयलाई निकै हलका ढंगले लिने गरेको पाइन्छ । केही समयअघिसम्म सुरुङ युद्धको तयारी गर्न र राष्ट्रियताको रक्षाका लागि दक्षिणी सिमानामा गोलबद्ध हुन नेपाली जनतलाई आह्वान गर्ने वर्तमान प्रधानमन्त्री अहिले ती प्रसंगहरू किन उठाउन चाहँदैनन् ? यतिबेला एसडी मुनिले जुन सवाल ल्याएका छन् यो दुनियाँका अगाडि, त्यसको खण्डन पनि त उनले गर्न सक्नुपथ्र्याे किन गरेका छैनन् ? जंगल पस्नुअगाडि तत्कालीन सरकारसमक्ष प्रस्तुत गरेका ४० बुँदे मागपत्रमा समावेश भएका राष्ट्रियताका महत्त्वपूर्ण विषयमाथि पनि प्रधानमन्त्री बोल्न चाहेका छैनन् । यसले उनीप्रति झन् शंका थपेको छ । १९५० को सन्धिदेखि हालसम्म भारतसँग उठेका प्रश्नको जवाफ खोज्ने डा. भट्टराई अहिले आफैँ प्रधानमन्त्री हुँदा त्यसबारे किन बोल्दैनन् ? यसले पनि उनलाई शंकाको घेरामा तानेको छ । राष्ट्रियताका सवालमा बौद्धिक क्षेत्र र सञ्चारमाध्यमले हल्का ढंगमा लिएको आरोप लगाउने प्रधानमन्त्रीले चाबी अन्तै रहेछ भन्दै पन्छन मिल्दैन । उनले जनतालाई यसबारे स्पष्ट जवाफ दिनुपर्छ । किनभने प्रधानमन्त्रीमाथि थुप्रै यस्ता आरोप छन् । ती सबै आरोप मिथ्या होइनन् । यसर्थ राष्ट्रियताप्रति सचेत र संवेदनशील बन्दै डा. भट्टराईले परराष्ट्र नीति स्पष्ट पार्नुपर्छ । राष्ट्र हितविपरीत लुकेर कसैसँग सहमति र सहकार्य गरे त्यो नेपाली जनताले स्वीकार गर्ने छैनन् । तसर्थ यस मामिलामा वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री गम्भीर र संवेदनशील हुनैपर्छ ।

प्रतिक्रिया