मुल्तानपुर नामी मानिसहरूको गाउँ हो । तर, ती सब नामी मानिस अहिले मुल्तानपुरमा छैनन् । कोही काठमाडौंमा छन् । कोही विराटनगरमा छन् । कोही नेपालगन्जमा छन् । कोही अरब मुलुकमा छन् । तर, मुल्तानपुरमा कोही छैनन् । अहिले मुल्तानपुरमा तिनका सिर्फ पुराना घर, जग्गा, नातागोता र पाडापाडीहरू छन् । मुल्तानपुरमा ती मुस्किलले कुनैकुनै साल इदको बेला आउँछन् । प्राय: उतै रहन्छन्, आउँदैनन् । तथापि, मुल्तानपुरलाई नामी मानिसहरूको गाउँ नै भनिन्छ । किनभने मुल्तानपुरमा जन्मिएर यहाँको मदरसा र अन्य सरकारी स्कुलमा पढेर ती देश–विदेशका विश्व–विद्यालय र क्याम्पसमा पढ्न योग्य भए र नामी मानिस बने । किनभने ती अहिले कोही मन्त्री छन् । कोही सांसद् छन् । कोही डाक्टर छन् । कोही इन्जिनियर छन् । कोही वैज्ञानिक छन् । कुनै प्राध्यापक छन् । कुनै सचिव छन् । कुनै सह–सचिव छन् । कुनै सरकारी नेता छन् । कुनै विपक्षी नेता छन् । कुनै उद्योगपति छन् । कुनै व्यापारी छन् । कुनै ‘ए’ क्लासका ठेकेदार छन् । तर, गाउँमा कोही छैनन् । त्यसकारण मुल्तानपुर नामी मानिस जन्माउने गाउँ मात्र हो, तिनलाई बसाउने गाउँ होइन । तैपनि मुल्तानपुरलाई नामी मानिसहरूको गाउँ भनिन्छ ।
शिलाकत खाँ पनि मुल्तानपुरकै हो र त्यो गाउँको उसको घर पनि नामी मानिसहरूको नै घर हो । किनभने शिलाकत खाँ आपैँm नामी मानिस हो । ऊ जिल्लाको नै युवा नेता हो । उसको बाउ पनि सातसाले नेता थियो । उसको एउटा दाजु सांसद् नै छ । ऊ स्वयं पनि उत्तरप्रदेश भारतको बहराइच जिल्लाको एक क्षेत्रको प्रतिनिधित्व गर्ने एक एमएलएको ज्वाइँ हो । त्यसकारण उसको घरलाई पनि नामी मानिसको घर भनिन्छ । तर, उसको घरका नामी मानिसहरू पनि अहिले उसको घरमा छैनन् । सब काठमाडौंमा छन् । मुल्तानपुरमा त उसको आºनो परिवार र केही आइमाई मात्र छन् । त्यसकारण मुल्तानपुरको एक मात्र नामी मानिसमा अहिले ऊ मात्र बचेको छ । यो कुरो मलाई अहिले उसको गाउँ पुगेपछि मात्र थाहा भयो ।
गाउँमा उसलाई सबले नेता नै भन्दा रहेछन् । त्यहीअनुरूप उसलाई मान्दा पनि रहेछन् र प्रेम पनि गर्दा रहेछन् । ऊसँग गाउँ डुल्दा कत्तिले उसलाई र उसले कत्तिलाई ‘सलामालेकुम’ र ‘बालेकुमसलाम’ भनेको सुनियो । सबले ऊसँग प्रेमपूर्वक र आदरपूर्वक बोलेको देखियो । त्यस्तै, ऊसँगै हिँडेको म उसको साथी भन्ने थाहा पाएपछि मैले झन् प्रत्येकबाट ऊभन्दा चर्को आदर पाएँ र प्रत्येकले मसँग हात पनि मिलाए । हात मिलाइसकेपछि ती आºनो हात छातीमा टाँसेर मात्र स्वाभाविक स्थितिमा राख्दारहेछन् । दस–आठजना मान्छेसँग हात मिलाइसकेपछिका मान्छेसँग हात मिलाउन थालेपछि मैले पनि तीसँग हात मिलाएपछि तिनले झैँ छातीमा हात टाँस्न थालेँ । यो तरिका मलाई निक्कै आत्मीय लाग्यो ।
यहाँ मुल्तानपुरमा छ–सात ठूला–ठूला तलाउ
(पोखरी) रहेछन् । ती सब प्राकृतिक रूपले चित्ताकर्षक छन् । कुनै पोखरी कुनैसँग कम छैनन् । सब एकसेएक मोहक र सौन्दर्यबाहक छन् । सबसँग आºनो इतिहास, पौराणिकता, लोकोक्ति र सामाजिक महत्त्व छ । त्यहीअनुरूप सबसँग आ–आºनो नाम पनि छ । एउटाको बाबा अमिनको तलाउ, एउटाको नुरमोहम्मद तलाउ, एउटाको जैनुल बि तलाउ, एउटाको काजी अली तलाउ नाम राखिएको रहेछ भने कुनै तलाउ चौकीदार तलाउ र मुल्तान तलाउको नामले पनि चिनिन्छन् । त्यस्तै एउटा तलाउको नाम छगडी(बाख्रा)मार तलाउ छ । किनभने कुनै समय त्यस तलाउको पानी खाएर गाउँभरका बाख्राबाख्री मरेका थिए भन्ने लोकोक्ति त्यहाँ छ । त्यसैले अहिले पनि सकभर गोठालाहरू आफ्नो पशुहरूलाई त्यस तलाउको पानी पिउन दिँदैनन् । तिनका पशुले त्यहाँ मुख जोते कि ती धपाउन पुगिहाल्छन् । त्यसकारण गोठालाहरू त्यस तलाउको डिल–डिलमा पनि आफ्नो पशुहरूलाई चर्न दिँदैनन् । यसले गर्दा त्यस पोखरीको डिलमा बाह्रैमास हरिया झार देखिन्छन् र डिलमुन्तिर तलाउको पानी पनि सधैँ कञ्चन रहन्छ । यही पोखरीको डिलैडिल करिब आधा घन्टा डुलेपछि हामी फर्कन थाल्यौँ ।
दिनको उज्यालो साठी प्रतिशत निख्रिसकेको छ र धानखेतका लुकुवा कीराहरू कराउन थालिसकेका छन् । चारैतिर पाहाहरूको टर्र… टर्र… पनि सुरु भइसकेको छ ।
हिँड्दाहिँड्दै एकाएक ऊ टक्क अडियो र दाहिनेतिर फर्कियो । ऊ फर्किएकोपट्टि थुप्रै बयरका झ्याङ छन् । त्यस झ्याङमा पर्नेगरी ऊ बेस्कन थुक्न लाग्यो । उसको यो कर्म देखेर म एकदम आश्चर्यमा परेँ । त्यसरी आश्चर्य ओकलिरहेको मेरो अनुहार हेरेर उसले भन्यो : ‘तँ पनि थुक् यार…यहाँ थुक्नुपर्छ …।’
‘किन ?’ मैले सोधेँ ।
‘भनुँला, तँ अहिले थुक्न ….।’ उसले भन्यो । र, मैले उसले भनेको मानेँ । उसलेझैँ त्यस बयरको झ्याङमा खूब थुकेँ ।
बयरको झ्याङबाट अगाडि बढिसकेपछि पनि उसले थु … थु… गरिरह्यो । मैले फेरि सोधेँ :
‘किन थुकेको यार त्यहाँ ?’
‘भनुँला यार…’ मात्र उसले भन्यो । तर, भनेन । चुपचाप हिँडिरह्यो ।
पुन: हामी गाउँभित्र पस्यौँ । त्यसैले फेरि ‘वालेकुमसलाम’ र ‘सलामालेकुम’ चल्न थाल्यो ।
वास्तवमा उसको घर–गाउँ सम्पन्न नै रहेछ । किनभने यहाँ एक–एक हजार मानिसले एकसाथ नमाज पढ्नसक्ने बडेबडे तीन मस्जिद रहेछन् । एक प्राइमरी स्कुल, एक हाइस्कुल र उर्दू र अरबी पढाइ हुने दुई सम्पन्न मदरसा पनि रहेछन् । हुन त यहाँ धेरैजसो फुस र खपडाका घर छन् तर ढलान गरिएका पक्की घर पनि थुप्रै देखिए ।
उसको घरको कम्पाउन्डको फाटक नै दस फुट अग्लो र आठ फुट चौडाइको रहेछ । त्यस फाटकबाट भित्र छिर्नेबित्तिकै आँगनमै डोरीले बुनेका थुप्रै खटिया पसारिएको देखियो । एउटा खटियामा तन्ना कसेको बिछ्यौना रहेछ । त्यसैमा मलाई बसाइयो । त्यस्तै, केही खटियामा अरू बसेका छन् । र, केही खटिया खाली नै छन् ।
यसबीच एउटा दाह्रीवालाले बलेको मयन्टोल लेरायो । र, नजिकैको काठको मुढोमाथि राख्यो ।
मयन्टोलले फिँजिएको उज्यालोमा आँगनमै अहिलेसम्म बाँधिएका चार भैँसी एउटा केटोले क्रमश: लगातार दुह्यो । ती चार भैँसीबाट करिब बीस लिटर दूध उसले घरभित्र हुल्यो ।
आँगनको वरिपरि धान राखेका दसवटा ठुल्ठूला डेहरी छन् । भैँसीकै हारतिर बाँधिएका तीन जोडी बयल (गोरु) छन् । एक छेउमा दुईवटा टायरगाडा बिसाइएका छन् । एउटा क्रिलोस्कर ट्याक्टर छ । आँगनको चारैतिर उसको सम्पन्नता भव्य देखिन्छ ।
अहिले आँगनमा आदरणीय हामी दुई मात्र छौँ । अरू सब नोकर छन् । ती सब आँगनको भुइँमा टक्र्याकटुक्रुक बसेका छन् । तीमध्ये एउटा खैनी मल्दै छ । दुईजना बिँडीको सर्को तान्दै छन् । एउटा नाक कोट्याउँदै छ । एउटा अलि पर बयलको ढाड घुस्नोको लुँडोले रगड्दै छ ।
एउटा अर्को नोकरले टि–टेबुल मेरो खटियाअगाडि ल्याएर राखिदियो । बिँडी तानिरहेको नोकरमध्ये एउटा ठुटो बिँडी फालेर उठ्यो । एउटा ठूलो जगमा टन्न पानी लिएर आयो र यही टेबुलमा बिसायो र गयो ।
‘ए ऽऽ साहबलाई हात–गोडा धुला…’ एउटा नोकरलाई इसारा गर्दै उसले भन्यो ।
इसारा पाएको त्यो नोकर जुरुक्क उठ्यो ।
‘ल यार हातखुट्टा धुऔँ †’ –उसले मलाई पनि भन्यो र म उसको त्यस नोकरसँग अगाडि बढेँ । त्यसले मलाई ट्युबेलसम्म पुर्यायो र भन्यो :
‘हजुर † हातखुट्टा धुनूस् हजुर † म कल (ट्युबेल) चलाइदिन्छु ।’
ऊ मज्जाले ट्युबेल चलाउन थाल्यो । म माडीमाडी हातखुट्टा धुन थालेँ ।
हातखुट्टा धोएर म फर्कंदा टेबुलमा परिकारहरू राखिसकिएको रहेछ । किनभने टेबुलमा बिरयानीले भरिएको दुई थाल वरिपरि आठ–दस ठूलाठूला परिकारले भरिएका कचौरा छन् । त्यसैले म खटियामा बस्नासाथ उसले भन्यो :
‘ल यार, जे–जस्तो छ खाऊँ ।’
मपट्टिको बिरयानीको थालअगाडि एउटा कचौरामा कुखुराका दुई फिला राखिएको छ । एउटा कचौरामा अडहरको बाक्लो दाल राखिएको छ । एउटा कचौरामा दूध, एउटा कचौरामा दही छ । बाँकी कचौरामा तरकारीका परिकारहरू छन् ।
मैले खान अझ सुरु गरेको छैन । त्यसैले उसले आफ्नु कचौराको कुखुराको फिलो उचाल्दै भन्यो :
‘ल खाऊँ यार ’
‘ल त…’ भन्दै मैले पनि बिरयानीको गाँस मुखमा हुलेँ । बिरयानी चपाउँदै मैले अगिनको घना बयरको झ्याङ सम्झेँ, जसमा उसले खुब थुकेको थियो । त्यसकारण मैले भनेँ :
‘अगिनै तैँले बयरको झ्याङमा थुक्नुको कारण भन्छु भनेको हैन ? भन् त यार †’
‘ए ऽऽ ठीक छ, खाना खाइसकौँ अनि भनौँला ।’
‘खाँदै भन् न ऽऽ मजा आउँछ ।’ मैले झर्किएर भनेँ । र, उसले भन्यो :
‘त्यो धेरै पुरानो बयरको झ्याङ हो, यस गाउँका जो पनि त्यस झ्याङमा पुगेपछि त्यहाँ थुक्छन् । जसलाई त्यस झ्याङको बारेमा थाहा छ, त्यसले त्यहाँ थुक्छ नै, किनभने त्यस झ्याङमुनि सैतानको चिहान छ । त्यो सैतान हाम्रो गाउँको एक परिवारको कामकुरो छिनिसकेकी एक केटी भगाएर लाँदालाँदै बीच बाटोमै समातियो । त्यसपछि गाउँलेले त्यसलाई चुटीचुटी मारे । अनि त्यही बयरको झ्याङ भएको ठाउँमा खाडल खनेर त्यसलाई गाडेछन् । त्यसपछि त्यो ठाउँमा पुगेपिच्छे त्यहाँ थुक्ने चलन चल्न थाल्यो, त्यसलाई सैतानको चिहान पनि भन्न थालियो । अहिले त्यहाँ तिनै बयरको झ्याङ छन् र त्यो झ्याङमा थुक्नु हाम्रो कर्तव्य हो …।’
‘के अहिले पनि कसैले तिम्रो गाउँमा त्यसो गर्यो भने तिमीहरू त्यसैगरी त्यसलाई मार्छौ ?’
‘तर त्यसपछि अहिलेसम्म यो गाउँमा कसैले त्यस्तो गर्ने आँट गरेको छैन र गर्ने पनि छैन ।’ उसले भन्यो । र, मैले सोधेँ :
‘किन ?’
‘किनभने सबलाई यो बयरको झ्याङले तर्साउँछ ।’, उसले अझ विश्वासका साथ भन्यो ।
र, मलाई लाग्यो– अगिन मलाई उसले त्यो बयरको झ्याङमा लगेको तर्साउन नै रहेछ कि क्या हो ? तर, म उसको यो कुराले तर्सिएको छैन । किनभने भोलि सखारै लियाकत खाँ (उसको काका)की छोरी टिपेर मुल्तानपुर छोड्ने मेरो निर्णय त्यस बयरको झ्याङको कथाले बदल्न सकेको छैन । किनभने यसपटक म मुल्तानपुर त्यसैको लागि आएको हुँ । बरु मलाई अगिन शिलाकतको कुरो सुनेर बेकार त्यो बयरको झ्याङमा थुकेँ भन्ने पछुतो पो लागिरहेछ । र, ती थुक आफ्नै अनुहारभरि परेको भास भइरहेछ ।
(सांग्रिला बुक्सद्वारा प्रकाशोन्मुख कथासंग्रहबाट)
प्रतिक्रिया