मैदानमा ओर्लिबक्स्योस् महाराज

‘मलाई त जनताले एकचोटि नारायणहिटी छाडेर हामीमाझ आऊ र अरूले चलाएको हेर न भन्याजस्तो पो लाग्या छ’ पूर्वराजा ज्ञानेन्द्र शाहले हालै दिएको एक चर्चित अन्तर्वार्ताको घतलाग्दो पंक्ति । उपरोक्त भनाइको आसयलाई यसरी सामान्यीकरण गर्न सकिन्छ: ‘मैले केही समयका लागि मात्र गद्दी छाडेको हुँ । जनताले दलहरूलाई एकचोटि जाँची हेर भनेकाले मौका दिएको मात्र हुँ । म कुनै पनि समय फर्किन सक्छु ।’ चार वर्षदेखि दलहरूको परीक्षा लिइरहेको र यसमा उनीहरू अनुत्तीर्ण भएकाले आफू फर्किनुपर्ने अवस्था आएको शाहको अभिव्यक्तिबाट झल्किन्छ । अलिकति ‘लचिलो’ भएर उनले अबको पाली आफू सक्रिय नभएर अभिभावकीय राजाका रूपमा फर्किने भन्दै संवैधानिक राजतन्त्रको इच्छा अन्तर्वार्तामा व्यक्त गरेका छन् । के, यो पूर्वराजाको आत्मरति मात्रै हो ? अथवा भविष्यमा मुलुक यस दिशामा अघि बढ्ने सम्भावना पनि छ ?
नेपालमा दुई सय ४२ वर्ष लामो शाहवंशीय राजतन्त्रको अन्त्य लगभग आकस्मिक तबरले भएको थियो, चार वर्षअघि । राजतन्त्रको पतनमा सबैभन्दा जिम्मेवार तत्कालीन राजा ज्ञानेन्द्रलाई नै मान्नुपर्छ । उनले प्रत्यक्ष शासनको महत्त्वाकांक्षा नदेखाएको भए कम्तीमा सेरेमोनियल राजा भएर देशलाई अभिभावकत्व दिइरहेका हुन्थे आजसम्म । ‘लोभले लाभ लाभले विलाप’ झैँ भयो । भलै, उनले सकारात्मक सोच राखेर नै प्रत्यक्ष शासनमा होमिएका थिए होलान् । राजनीतिक दलहरूले देशलाई जुन दलदलमा जाकेका थिए, त्यसबाट बाहिर निकाल्न सक्छु भन्ने मनसाय थियो होला । तर, उनी विफल भए । कम्तीमा एउटा गुन लगाए देशलाई, ठूलो रक्तपात नहुँदै आत्मसमर्पण गरेर । बलपूर्वक गद्दीमा टाँस्सिइरहन खोजेनन् । उनले चाहेको भए, भीषण दमन गरेर आन्दोलन नियन्त्रण गर्ने निर्णायक प्रयास गर्न सक्थे, अथवा विदेशी शक्ति रिझाएर सत्तामा टिकिरहने पर्याप्त चलखेल गर्न सक्थे । त्यतिबेला देशलाई अकल्पनीय क्षति हुन सक्थ्यो । तर, उनले धेरै ढिला नहुँदै मैदान छाडे । राजगद्दीमै बसेर देश गणतन्त्रमा गएको घोषणा सुने । गणतन्त्र घोषणापछि चुपचाप नारायणहिटी दरबार त्यागे । उनको यस्तो ‘सदासयता’को प्रतिफलस्वरूप देशले उनलाई पूर्वराजाको रूपमा सीमित भए पनि सम्मान र सुविधा दिएको छ ।
०६२–६३ को आन्दोलनमार्फत नारायणहिटीबाट बढारिएर नागार्जुनमा ‘डिपोजिट भएका पूर्वराजा ज्ञानेन्द्र चार वर्षपछि धुलो टकटक्याएर उठ्न खोज्दैछन् । राजतन्त्र बहिर्गमनपछि बेला–बेला नेपथ्यबाट मसिनो स्वर निकाले पनि चार वर्षसम्म उनी अपेक्षाकृत शान्त नै थिए । सायद उचित समयको पखाईमा । दलहरू पूर्णरूपमा असफल सावित भएको दिन कुरिरहेका थिए । संविधानसभा विघटनपछिको शून्यता र दलहरूप्रति जनताको वितृष्णा उत्कर्षमा पुगेको अवस्थाले अन्तत: शाहलाई अनुकूल वातावरण बनाइदियो र उनले अन्तत: मुख खोले । ठीक समयमा उनले सोझ्याएको निशाना ठीक ठाउँमा परेको देखिन्छ । उनको अभिव्यक्तिप्रति आमजनताको तीव्र चासो र प्रतिक्रिया तथा नेताहरूको तर्साइले त्यही देखाउँछ । कम्तीमा पूर्वराजसंस्था अझै पनि एउटा शक्ति हो भन्ने यसबाट पुष्टि भएको छ । प्रधानमन्त्री र दलका नेताहरू अत्तालिँदै पूर्वराजालाई दिँदै आएको सुविधा खारेज गर्ने धम्की दिइरहेका छन् । तर, यस्तो धम्की उनीहरूको कमजोर मानसिकताको उपज मात्रै हो, किनकि एउटा नागरिकका रूपमा मनको कुरा अभिव्यक्त गर्ने प्रजातान्त्रिक अधिकार शाहलाई पनि छ र जनताले पनि यहीरूपमा बुझेका छन् ।
धार्मिक भ्रमणका नाममा पूर्वराजा जिल्ला भ्रमणमा जानुको खास उद्देश्य राजनीतिक थियो । भ्रमणका क्रममा आºनो पक्षमा माहोल बन्दै गएको देखेर शाह स्वाभाविक रूपमा उत्साहित भए । भ्रमणका क्रममा ‘राजा आऊ देश बचाऊ’ को नारा जनस्तरबाटै गुञ्जेको देखेर उनी निकै हौसिए । जोसै जोसमा उनले भनिदिए, ‘म फेरि देशको अभिभावक बन्न चाहन्छु । फेरि राजाको रूपमा फर्किनेछु । जनताले राजसंस्थाको भूमिका खोजेका छन् ।’ पूर्वराजाले तत्कालै वा चाँडै राजतन्त्र फर्किने आशा पक्कै राखेका थिएनन् । उनी जाँच्न चाहन्थे, देशको मनस्थिति । सके शक्तिप्रदर्शन नसके शक्तिपरीक्षण उनको अभीष्ट थियो । र, यस भ्रमणबाट उनी आºनो उचाइ नाप्न सफल भए । बगेको खोला फेरि फर्किन सक्छ भन्नेमा उनी विश्वस्त हुन थालेका छन् । तथापि, इतिहास बनिसकेको राजतन्त्र फर्किने कुरा शाहले खोजेजति सजिलो छैन । न दलहरूले उनलाई श्रीपेच किस्तिमा राखेर टक्रयाउनेछन् न जनताले राजतन्त्र फर्काउनका लागि निकट भविष्यमा कुनै निर्णायक लडाइँ लड्नेछन् । अलोकप्रियताका सबै कीर्तिमान भंग गरे पनि, जनताले जति छि:छि: दुरदुर गरे पनि यी दल र यी नेताहरूले देशको लगाम आºनो हातबाट फुत्किन दिने सम्भावनै छैन । यिनीहरू न सच्चिनेछन् न मैदान छाडेर हिँड्नेछन् ।
राजतन्त्र फर्काउने उपायको खोजीमा रहेका शाहले एउटा कागजको चिर्कटोलाई प्रयोग गर्न खोजेका छन् । उनको दाबी छ कि राजतन्त्र राख्ने विषयमा उनको तत्कालीन सात दलसित लिखित समझदारी भएको थियो । उनले आवश्यक परे त्यसलाई सार्वजनिक गर्न सक्ने संकेत पनि गरेका छन् । यता दलहरूले उनको दाबीलाई झूटो भन्दै सहमतिको कागज देखाउन चुनौती पनि दिइसकेका छन् । तर, शाहसित त्यस्तो कागज भए पनि वा नभए पनि, उनले देखाउन सके पनि वा नसके पनि त्यसैलाई राजतन्त्र फर्काउने अस्त्र बनाउन उनले सक्ने अवस्था छैन । हुन सक्छ, त्यस्तो सहमति भएको थियो । तर, अहिले त्यसको कुनै वैधानिक मान्यता देखिँदैन । न त्यो कागज लिएर अख्तियारमा उजुरी गर्न सक्छन्, न अदालतमा मुद्दा लड्न सक्छन् । दिनैपिच्छे नयाँ नयाँ सहमति गर्ने र भोलिपल्टैदेखि त्यसमा असहमति राख्ने काममा अभ्यस्त दलहरूलाई त्यस्तो कागजले कुनै नैतिक दबाब देला भनिठान्नु पनि बेकार छ । त्यो इतिहासको एउटा दस्ताबेज मात्रै बन्न सक्छ ।
कुनैबेला शासनसत्ताको रवाफिलो सुखभोग गरेका पूर्वराजा ज्ञानेन्द्र यतिबेला दु:खैदु:खले घेरिएका छन् । एकातिर खाइपाई आएको सत्ता र धन खोसिएको छ अर्कातिर पारिवारिक तनाबले उनको नीदहराम गरेको छ । एक मात्र छोरा पारस सिंगापुरमा एक युवतीसित बरालिएका छन्, बुहारी हिमानी यता रोएर बसेकी छन् । अर्कातिर छोरी–ज्वाइँको उस्तै किचलो छ । छोरी प्रेरणालाई बेवास्ता गरेर बाहिर नानाथरी युवतीसित लठारिने गरेका ज्वाइँ राजबहादुरले दोस्री पत्नी भित्र्याउने सुर कसेका छन् । दरबार हत्याकाण्डमा गोली लागेकी पत्नी कोमल राम्रोसित कान सुन्दिनन् । गणतान्त्रिक सरकारले ‘कृपा गरेर’ उपलब्ध गराएको आवास र सीमित सुरक्षा कुनै पनि बेला खोसिन सक्ने आशंका छ । चौतर्फी तनाबका बीच पूर्वराजाले पूरानो स्वर्ग फर्किने सपना देख्न थालेका छन्, जुन साकार हुने सम्भावना क्षीण छ ।
दलीय व्यवस्था असफल भए पनि परम्परागत राजसंस्था नेपालमा फर्किन सक्दैन । यो युग सुहाउँदो व्यवस्था होइन । जनताले ज्ञानेन्द्रलाई राजाका रूपमा स्विकार्लान् । तर, उनको छोरा पारसलाई भावी राजाका रूपमा स्विकार्न सक्दैनन् । तसर्थ, परम्परागत राजतन्त्रको सपना देख्न छाड्नु राम्रो । पूर्वराजालाई एउटा नि:शुल्क सुझाब– चुनावी मैदानमा उत्रिने । मतपत्रमा परीक्षण हुने । यदि पुन: शक्तिमा आउन चाहन्छन् भने यही एक मात्र बाटो हो । राजाका रूपमा होइन, राष्ट्रपतिका रूपमा उनले देशको अभिभावकत्व गर्न सक्छन् । अहिलेका अलोकप्रिय नेताहरूले जनताको विश्वास गुमाइसकेको अवस्थालाई सदुपयोग गरेर उनले चुनावी अभियान सुरु गरिहाल्दा हुन्छ । ढिलो चाँडो राष्ट्रपतिको चुनाव हुने नै छ । त्यतिबेला जनताले उनलाई मौका दिन सक्छन् । हिङ नभए पनि हिङ बाँधेको टालो त छ नि भनेजसरी घमण्ड गर्नुको तुक छैन । राजाभन्दा तल झर्दिनँ भन्नु फगत आत्मरतिमा रमाउनु हो ।
अज)उबगमभ२िथबजयय।अयm

प्रतिक्रिया