यातायातका प्रमुखविरुद्ध मुद्दा

नेपालगन्ज, ७ जेठ । किर्ते कागज बनाएर सवारीचालक अनुमति पत्र (लाइसेन्स) बनाउन साथ दिएको अभियोगमा प्रहरीले यातायात कार्यालय भेरीका प्रमुखसहित तीनविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ ।

यातायात कार्यालयका प्रमुख गोपालप्रसाद शर्मा, नायब सुब्बा हुताराम पौडेल र लालबहादुर योगीविरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी उदय तामाङले जानकारी दिए ।
उनीहरू किर्ते कागजात बनाउन संग्लन पाइएको तामाङले बताए । ‘सरकारी हस्ताक्षर तथा किर्ते गरेको कसुरमा अदालतमा पेस गरेका छौँ,’ तामाङले भने । ९ वैशाखमा नेपालगन्जको बसपार्कस्थित होटलबाट अवैध तरिकाले लाइसेन्स बनाउने तीन ड्राइभिङ सेन्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेपछि उनीहरूको बयानका आधारमा यातायात कर्मचारीविरुद्ध मुद्दा दर्ता गरिएको हो । नक्कली लाइसेन्स किन्न रूपन्देही, नवलपरासी, चितवनबाट आएका उनीहरू बसपार्कको क्यापिटल र जलजला होटलबाट पक्राउ परेका थिए ।
नायब सुब्बा पौडेल र योगी प्रहरी हिरासतमा छन् भने शर्मालाई २१ वैशाखमा भ्रष्टाचार ऐनअन्तर्गत कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पेस गरिएको तामाङले बताए ।
प्रहरीले होटलबाट नक्कली लाइसेन्स बनाउन ठीक पारिएका कागजात फेला पारेको उनले बताए । उनले यातायात कार्यालयमा मात्र प्रयोग हुने कागजात (ढड्डा) समेत फेला परेकाले नक्कली लाइसेन्स बनाउने काममा कर्मचारीको मिलेमतो पुष्टि भएको बताए ।

प्रतिक्रिया